२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

जेब्राक्रसिङमा फलामे बार

बाटो काट्न समस्या
ठाकुरसिंह थारु

नेपालगन्ज — नेपालगन्ज–कोहलपुर चार लेन सडकमा पैदल यात्रुका लागि बाटो काट्न सेतो रंगले ‘जेब्राक्रस’ बनाइएको छ । तर, त्यहाँबाट सडक पार गर्न सहज छैन । सडक पार गरेपछि अर्को छेउको पेटीमा पुग्न झन्झट हुन्छ ।

जेब्राक्रसिङमा फलामे बार

किनारामा फलामका बार (रेलिङ) बनाएकाले यात्रुलाई समस्या परेको हो ।

उक्लेर फलामे बार पार गर्न नसकेपछि सर्वसाधारण ट्राफिक नियम उल्लंघन गर्न बाध्य छन् । उनीहरू सजिलोका लागि सडकमा हिँडेर अर्को ठाउँ खोज्छन् । सहरको फराकिलो सडकका जेब्राक्रसले पैदल यात्रुलाई सास्ती पुर्‍याएका छन् ।

नेपालगन्जको पुष्पलाल, धम्बोझी चोकलगायत क्षेत्रमा जेब्राक्रस बनाइएका स्थानमा फलामको अग्लो रेलिङ देख्न सकिन्छ । रेलिङ हटाउन स्थानीयले उपमहानगरसँग पटकपटक माग गर्दै आएका छन् । तर, उपमहानगरले रेलिङ हटाउन चासो दिएको छैन । उल्टै किनाराका डिभाइडर लगेर सडकको बीच भागमा राखिदिएको छ ।

‘एकातिरबाट जेब्राक्रसिङका लागि खोलिएको छ । पल्लोपट्टि फलामको रेलिङ ठड्याइएको छ,’ स्थानीय विष्णु शर्माले भने, ‘सर्वसाधारणले सहजै सडक पार गर्नका लागि जेब्राक्रसिङमा अवरोध पुर्‍याउने फलामे बार हटाउनुपर्छ ।’ जेब्राक्रसिङ भएको स्थानमा फलामे बार भएपछि सर्वसाधारण जथाभावी बाटो काट्न बाध्य छन् ।

यसले सडक दुर्घटना निम्त्याएको छ । जेब्राक्रसिङका रेलिङ हटाउन सर्वसाधारणले बारम्बार अनुरोध गर्दा पनि सुनुवाइ भएको छैन । नेपालगन्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले ट्राफिक प्रहरीले जेब्राक्रसिङमा भएको अवरोधबारे जानकारी नदिएको बताए । ‘ट्राफिक प्रहरीले त्यसबारे रिपोर्ट गर्‍यो भने हामीले अवरोध गर्ने रेलिङ हटाउँछांै,’ उनले भने, ‘रेलिङले सर्वसाधारणलाई दु:ख दिएको छ भने काट्न तयार छौं ।’

जिल्ला ट्राफिक प्रमुख हीरेन्द्र रोकायले नेपालगन्जको चार लेन सडकमा राखिएका जेब्राक्रसिङ पैदल यात्रुमैत्री नरहेको बताए । उनले उक्त सडकमा राखिएका जेब्राक्रसिङ ट्राफिक इन्जिनियरका हिसाबले गलत रहेको जनाए । ‘जहाँ पायो त्यहीं जेब्राक्रस राखिएको छ । सर्वसाधारण सडक वारपार गर्ने स्थानमा फलामका रेलिङ छन्,’ उनले भने, ‘ट्राफिक व्यवस्थापनबारे नगरपालिकासँग हुने बैठकमा यो मुद्दा प्राथमिकताका साथ उठाउँछु ।’

नेपालगन्ज उपमहानगरपालिकाले दुर्घटना नियन्त्रणका लागि डिभाइडरहरू सडक किनारबाट उठाएर चार लेन सडकको बीचमा राखेको छ । सर्वसाधारणलाई बाटो काट्न ठाउँठाउँमा जेब्राक्रसिङ राखिएको थियो । तर, उपमहानगरले जथाभावी बाटो काट्ने गरेका कारण दुर्घटना बढेको भन्दै सडक किनारका डिभाइडर उठाएर बीचमा राखेको हो । डिभाइडरले कतिपय विद्यालयको बाटो छेकेको छ ।

प्रकाशित : श्रावण २८, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?