लामखुट्टे मार्ने धूवाँ

मिसाइल छाडेजस्तै मेसिनबाट निस्कने धूवाँ कुनाकाप्चा र घर वरपर पुग्दा लामखुट्टे भटाभट मर्छन्
मनोज पौडेल

कपिलवस्तु — सदरमुकामवासीले गुनासो गरेपछि कपिलवस्तु नगरपालिकाले लामखुट्टे मार्ने अभियान नै चलाएको छ । वर्षात्मा पानीको निकास नहुँदा बजारमा लामखुट्टेको बिगबिगी छ ।

लामखुट्टे मार्ने धूवाँ

नगरप्रमुख किरण सिंहले जनताको गुनासोलाई गम्भीर रूपमा लिँदै लामखुट्टे न्यूनीकरणको सोधखोज गरी उपाय निकालेका हुन् ।

सीमावर्ती भारतको सिद्धार्थनगर जिल्ला बढनी पञ्चायत अध्यक्ष निसार बागीको सल्लाह सिंहलाई चित्त बुझ्यो । बागीले नगरवासीको गुनासो सुन्दासुन्दा थाकेपछि लामखुट्टे मार्ने औषधि छर्ने मेसिन खरिद गरेका रहेछन् । भारतमा भर्खर निस्किएको लामखुट्टे मार्ने मेसिन यहाँका प्रमुखले पनि ल्याएर औषधि छर्किन सुरु गरे । नगरपालिकाले लामखुट्टे मार्न १२ लाख मूल्य पर्ने फगिङ मेसिन भारतबाट ल्याएका हुन् । गाडीमा मेसिन राखेर मुख्य र सहायक बाटोमा औषधि छर्किने गरिएको छ । हावामा औषधियुक्त धूवाँ मिसिएर पुग्ने ठाउँका लामखुट्टे मर्ने गर्छन् । बजार क्षेत्रमा दुई दिन बिराएर औषधि छर्किन थालेपछि लामखुट्टेको बिगबिगी घटेको छ । ‘यो प्रविधिबाट लामखुट्टे न्यूनीकरण अभियान नेपालमै पहिलोपटक कपिलवस्तु नगरपालिकाले गरेको हो,’ नगरप्रमुख सिंहले भने, ‘यसको प्रभाव राम्रो छ । दुई सातादेखि लामखुट्टेले सताएको गुनासो आएको छैन ।’ १२ मध्ये १ र ४ वडाका पूरै बस्ती सहरी क्षेत्रभित्र पर्छन् । तीन नम्बर वडाको आधी बस्ती बजार हो । गाडी पुगेसम्म कुनासम्म मेसिन लगेर औषधि छर्किने गरिएको नगरपालिकाले जनाएको छ । ‘दुई घण्टाको आठ हजार रुपैयाँ खर्च लाग्छ,’ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्यले भने, ‘लामखुट्टे न्यूनीकरण हुने प्रभाव भने राम्रो परेको छ ।’ अत्यधिक लामखुट्टे लागेर साँझ परेपछि घरभित्र र बाहिर बस्नै नहुने अवस्था हुन्थ्यो । ‘तर, औषधि छर्किन थालेपछि निकै सजिलो भएको छ,’ कपिलवस्तु–५ तिलौरीकी सुरक्षा गिरीले भनिन्, ‘यसले घरायसी काम र चुलोचौको पनि सहज भएको छ ।’

यसका लागि दुई हजार रुपैयाँ लिटर पर्ने लामखुट्टे मार्ने रासायनिक औषधि आवश्यक पर्छ । मेसिनमा रहेको ट्यांकीमा ५० लिटर डिजेल, १० लिटर पेट्रोल, ५० लिटर पानी र दुई सय मिलिलिटर रासायनिक पदार्थ घोलेर औषधि बनाइन्छ । यो औषधि कम्तीमा पनि लगातार दुई घण्टासम्म छर्किन सकिन्छ । ‘मिसाइल छाडेजस्तै मेसिनबाट धूवाँ निस्कन्छ । त्यही धूवाँ जमिनका कुनाकाप्चा र घरवरपर पुग्दा लामखुट्टे भटाभट मर्ने गरेका छन्,’ स्थानीय भोजराज अर्यालले भने, ‘दुई सातादेखिको अभियानपछि लामखुट्टे कम भएका छन् । आनन्दले सुत्न पाइएको छ ।’ लामखुट्टे मार्न छर्किने औषधिले मानव स्वास्थ्यलाई कुनै असर नगर्ने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले बताए । ‘ढुक्क भए हुन्छ,’ उनले भने, ‘मान्छेको स्वास्थ्यलाई यसले कुनै हानिनोक्सानी गर्दैन ।’

प्रकाशित : श्रावण २८, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?