१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

भुइँकटहरबाट मनग्ये आम्दानी

माधव अर्याल

पाल्पा — जिल्लाको दक्षिणी भेगका बासिन्दाले भुइँकटहर बिक्री गरेर मनग्ये आम्दानी गर्छन् । कोलडाँडा, गोठादी, झुम्सा, मस्याम, ठिमुरे, कचललगायत गाउँवासीले यसको बिक्रीबाट वार्षिक ३ लाख रुपैयाँसम्म कमाउँछन् ।

भुइँकटहरबाट मनग्ये आम्दानी

कतिपय गाउँमा बिक्रीका लागि बजार अभाव छ । तराईसँग जोडिएको दक्षिण भेगका बासिन्दाले भने शनिबार र बुधबार हुने बुटवलको हाटबजारमा बिक्री गर्न लैजाने भएकाले बजारको समस्या छैन ।

सिद्धार्थ राजमार्गको डुम्रे, गौडेपुल, चर्चरे, केराबारी, झुम्सा, दोभानलगायत स्थानमा समेत राम्रो बिक्री हुन्छ । अधिकांशले तानसेन बजारमा समेत ल्याउने गर्छन् । बसपार्कका छेउछाउमा बिक्री गर्नेले पनि राम्रो आम्दानी गरेका छन् । ‘भुइँकटहर हामीले व्यावसायिक रूपमा लगाएको होइन,’ तिनाउ ५ कोलडाँडाकी प्रेमीसरा गाहाले भनिन्, ‘बारीका कान्लामा फलेका हुन् ।’ उनका अनुसार बिक्रीका लागि समस्या छैन । ‘एउटा सानो भुइँकटहर ५० देखि ९० रुपैयाँसम्ममा बिक्री हुन्छ,’ उनले भनिन्, ‘घरमा रहेका तीन सयभन्दा बढी भुइँकटहरका बोटबाट राम्रै आम्दानी गरेकी छु ।’

तानसेन बसपार्क छेउमा ढाकरमा भुइँकटहर बिक्रीका लागि बसेकी धनीसरा सारूले डुम्रे, तानसेन र बुटवलमा लगेर बिक्री गर्ने गरेको बताइन् । जेठको अन्तिम सातादेखि असोजसम्म बिक्री राम्रो हुन्छ । ‘आम्दानीका हिसाबले निकै सजिलो छ,’ उनले भनिन्, ‘एकपटक सामान्य गोडमेल गरेपछि हुने भएकाले पनि काम गर्न दु:ख हुन्न ।’ भुइँकटहर भीर, पाखोबारी, ढुंग्यान, बारीको कान्ला र खरबारीमा जता लगाए पनि हुन्छ । उनका अनुसार वार्षिक ५० हजारजति आम्दानी हुन्छ । बारीमा लगाउन, यसलाई गोडमेल गर्न र बजारसम्म बिक्रीका लागि समस्या छैन ।

खान मीठो र पौष्टिक तत्त्व पाइन्छ भन्दै किन्न आउने गरेको गौडेपुल पुगेकी मस्यामकी लक्ष्मी थापाले बताइन् ।व्यावसायिक खेती नगरे पनि तिनाउ गाउँपालिका १, ३, ४, ५ र ६ का ३ सयभन्दा बढी किसानले भुइँकटहर उत्पादन गर्दै आएका छन् । उनीहरूको मुख्य बजार बुटवल हो । यस्तै माथागढीको ५ र ६ मा पनि यसको खेती गर्छन् । कालीगण्डकी बेँसीमा लगाउनेले भने बजार नपाएको गुनासो गरेका छन् । परम्परागत खेती गर्दै आए पनि कुनै निकायले पनि उनीहरूलाई व्यावसायिक बनाउन सकेको छैन । ‘यसको खेती गरी राम्रो आर्थिक लाभ लिन सकिन्छ भन्ने सबैले बुझेका छन्,’ तिनाउ ५ का दलबहादुर दर्लामीले भने, ‘त्यसैले परम्परागत लगाएको भुइँकटहर बिक्री गर्न लैजाने गरेका छन् ।’ गाउँमा भुइँकटहरको खेती गरी राम्रो आम्दानी लिन सकिने उनले बताए । यसको उत्पादन राम्रो हुने क्षेत्रलाई पकेट क्षेत्रका रूपमा स्थानीय तहले विकास गर्न सके किसानले व्यावसायिक खेती गर्न सक्ने तानसेनमा भुइँकटहर खरिदकर्ता लक्ष्मण रेग्मीको सुझाव छ । ‘गाउँमा गरिने यसको खेतीबाट मनग्य आम्दानी गर्ने धेरै छन्,’ उनले भने, ‘यसमा स्थानीय तहले ध्यान दिन सक्नुपर्छ ।’ जिल्ला कृषि विकास कार्यालयले समेत यसमा ध्यान दिन सकेन । धेरै मिहिनेत गर्न नपर्ने र आम्दानी सजिलै लिन सकिने खेती भएर पनि यसमा ध्यान दिन नसकेको हो ।

गर्मी मौसममा स्वास्थ्यवद्र्धक र अति पोषकतत्त्व रहेको भुइँकटहर प्रतिवर्ष कति उत्पादन हुन्छ भन्नेसमेत तथ्यांक कसैसँग छैन । तर, शनिबार र बुधबारका प्रत्येक हाटबजारमा ७० बोराभन्दा बढी निकासी हुने कोलडाँडाका गोपालसिंह चिदीले बताए । तानसेन, गौडेपुल, चर्चरे, केराबारीमा पनि बिक्री हुन्छ । बसमा यात्रा गर्नेले खरिद गरेर लैजाने गर्छन् । ‘धेरै उत्पादन हुन्छ,’ उनले भने, ‘ठ्याक्कै उत्पादन कति हुन्छ, थाहा छैन । जसले जति छ, उति नै बिक्री गर्छन् ।’ उनका अनुसार खेर गएको जग्गा, पाखोभीर, आलीमा तथा थोरै पानीमा यसको खेती सजिलै गर्न सकिन्छ । सरकारले पकेट प्याकेज कार्यक्रम लागू गरी आवश्यक ज्ञान र सीप उपलब्ध गराउन सकेमा यसको खेतीबाट अझ बढी आर्थिक लाभ लिन सक्ने रम्भा १ का किसान बाबुराम न्यौपानेले बताए । उनका अनुसार कालीगण्डकी बेंसीमा यसको उत्पादन अत्यधिक छ । तर, बजारमा लैजान भने कमैले मात्र सकेका छन् । ‘कतिपयको बारीमा कुहिएर गएको छ,’ उनले भने, ‘यसको बजार व्यवस्थापन गर्न सके किसानले व्यावसायिक रूपमा बिक्री गर्ने थिए ।’

प्रकाशित : श्रावण २८, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?