१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

मुलुकमा टिक्दैनन् युवा

पढाइ पूरा गर्‍यो कि विदेश
अमृता अनमोल

बुटवल — बुटवल सुख्खानगरका २८ वर्षीय कृष्ण पौडेलले नेपालीमा स्नातकोत्तर गरेका छन् । पढ्दै गर्दा केही वर्ष निजी स्कुल पढाए । त्यसबाट आउने १० हजार तलबले घरखर्च चलेन । जागिर छाडेर कोरिया जाने तयारीमा भाषा सिकिरहेका छन् ।

मुलुकमा टिक्दैनन् युवा

‘स्कुलको तलबले घरखर्च चलेन,’ दुई छोराका बाबु पौडेलले भने, ‘यसैले विदेश जाने सोच बनाएँ ।’ दुई दशक लगाएको पढाइ उपयोग नभएपछि पुन: शुल्क तिरेर भाषा सिकिरहेको उनी बताउँछन् । ‘प्रारम्भिक कोर्सकै लागि ३० हजार तिरें,’ पौडेलले भने, ‘तैपनि, नाम निस्किने हो, होइन थाहा छैन ।’

पौडेलजस्तै पढाइमा डिग्री हासिल गरे पनि बेरोजगार बनेका युवा मुलुकमा धेरै छन् । युवा शक्तिलाई उत्पादन र सीपसँग जोड्न सकेको छैन । पढाइले कृषिलाई वा परम्परागत सीपलाई सहयोग गरेको छैन । श्रमको सम्मान गर्न सिकाएको छैन । यसले गर्दा कृषि प्रधान देशकै धेरै युवा बेरोजगार भएका छन् । सट्टामा वैदेशिक रोजगारीका लागि कोही म्यानपावर कम्पनी त कोही भाषा केन्द्र धाएका छन् ।

त्यसमध्येका हुन्, बुटवल उपमहानगरपालिका सेमलारका राजु चौधरी । लेखपढ गरेकै कारण परम्परागत रूपमा कृषि पेसामा लागेको परिवारले सरह उनले काम गर्न सकेनन् । सट्टामा व्यवस्थापनमा स्नातक गरेका उनी क्यानडा जाने तयारीमा छन् । ‘करिब दुई वर्ष जागिर खोजें । बैंकहरूमा परीक्षा दिएँ । तर, पढाइअनुसारको काम पाइएन,’ चौधरीले भने, ‘यसैले विदेश जाने सोच बनाएँ ।’ विदेश जाँदा लाग्ने करिब २० लाख रुपैयाँ जुटाउन उनको घरजग्गा अहिले बैंकमा धितो राखिएको छ । पत्नी, छोरी, दुई भाइ र बाबुआमासहितको उनको परिवार राजु कहिले विदेश जाला र आर्थिक अवस्था फेरिएला भन्ने आशमा बसिरहेका छन् ।

पढाइअनुसारको काम नपाएको भन्दै पछिल्लो समयमा उच्च शिक्षा लिएकै युवा वैदेशिक रोजगारीमा जाने क्रम बढेको हो । पछिल्लो तथ्यांकअनुसार देशको कुल जनसंख्याको ७ दशमलव २५ प्रतिशत विदेशमा छ । त्यसमा अधिकांश युवा छन् । जो काम गर्ने जोस र जाँगर बोकेका वर्ग हुन् । प्रदेश ५ मा रोजगारी र शिक्षाका लागि विदेश जाने युवा १५ दशमलव २३ प्रतिशत छन् ।

त्यसमा महिला १.६ प्रतिशत छन् भने पुरुष ३३.१२ प्रतिशत छन् । वैदेशिक रोजगारीमै गए पनि धेरै कमाइ हुने ठाउँमा भने गएका छैनन् । ‘कम तलब पाउने र खतरायुक्त काममा धेरै गएका छन्,’ आप्रवासी सरोकार समूह रूपन्देहीकी अध्यक्ष जानकी घिमिरेले भनिन्, ‘यसले गर्दा वैदेशिक रोजगारीमै गएका युवाबाट पनि सोचेअनुसारको आर्थिक क्रियाकलाप हुन सकेको छैन ।’ वैदेशिक रोजगारीमै जाने युवामा पनि सीपयुक्त शिक्षा र तालिमको अभाव छ । यसले यहाँका युवाले अन्यत्रको तुलनामा कम कमाउने तर धेरै खतरा मोलेर काम गर्नु परेको उनले बताइन् ।

देशमा अहिले तीन तहका सरकार छन् । तीन तहकै सरकारले युवा स्वरोजगार र सीपका लागि बजेट विनियोजन गरेका छन् । केन्द्र सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत बेरोजगार जनशक्ति दर्ता र रोजगारीका अवसरको सूचना आदानप्रदान गर्न प्रदेशको सहकार्यमा रोजगार सूचना केन्द्र स्थापना गर्दै छ । श्रम बजारमा मागअनुरूपको सीपयुक्त जनशक्ति आपूर्ति गर्न छोटो अवधिको नि:शुल्क तालिम सञ्चालन गरिएको छ ।

उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्र धितो राखी पाँच प्रतिशत ब्याज अनुदानमा सात लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने अभ्यास स्थानीय सरकारमार्फत सुरु भएको छ । नयाँ ज्ञान, सीप र क्षमता भएका उद्यमीलाई व्यवसाय सञ्चालन गर्न प्रदेश र स्थानीय सरकारबाट बीउ पुँजी उपलब्ध हुन्छ । प्रदेश सरकार र स्थानीय सरकारले युवा रोजगारी र बीउ पुँजीका लागि छुट्टाछुट्टै रकम व्यवस्था गरेका छन् ।

यद्यपि, धेरै युवाको ध्यान सरकारी नीतिप्रति छैन । सरकारले बनाउने धेरै योजना कार्यान्वयन तहमा नजाने र गए पनि आफन्त र कार्यकर्ताको आसपासमा घुम्ने भएकाले त्यसप्रति बेवास्ता गरेको उनीहरू बताउँछन् । ‘झन्डै पाँच वर्षयता युवाको सीप विकास र रोजगारका लागि काम गरेको र बजेट छट्टिएको सुनिएको छ,’ जापान जाने तयारीमा भाषा सिकिरहेका बुटवल कालिकानगरका दीपेश ज्ञवालीले भने, ‘कहिल्यै त्यो सीप लिने र रकम पाउने ठाउँसम्म पहुँच पुगेन । त्यसैले विदेश जाने योजना बनाएँ ।’

युवाहरू स्वदेशमा काम नपाएको भन्दै खुरुखुरु वैदेशिक रोजगारमा गएका छन् । यसलाई यहाँका उद्योगी व्यवसायी भने मान्न तयार छैनन् । उद्योगमा मजदुरको चर्को अभाव छ । मजदुर अभावकै कारण पूर्ण क्षमतामा चल्न सकेका छैनन् ।

समस्या बढेपछि गत वैशाखमा बुटवलमा रोजगार मेला नै आयोजना भयो । तीनदिने मेलामा तीन सय युवाले रोजगारका लागि फारम भरे । दर्जनभन्दा बढी उद्योगीले मजदुर आवश्यक रहेको जानकारी गराए । तर, उद्योगमा मजदुरी गर्न जाने युवा भने भेटिएनन् । ‘अफिसमा काम गर्ने र पार्टटाइम काम गर्ने मात्रै आए,’ मजदुर माग गरेका उद्योगी सूर्यकुमार श्रेष्ठले भने, ‘हामीले मेलामै माग गर्दा पनि मजदुर पाएनौं ।’

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले परम्परागत सीप र पेसामा युवा आकर्षण बढाउन नसक्दा धेरै युवाले स्वदेशमा अवसर खोज्नभन्दा विदेशिने गरेको बताए । यसलाई रोक्न स्कुल तहबाटै प्राविधिक शिक्षाको सुरुवात गर्ने र युवालाई उत्पादनसित जोड्ने उनले बताए । यसका लागि प्रदेश सरकारले एक स्थानीय तह एउटा प्राविधिक विद्यालय खोल्ने योजना बनाएको छ ।

युवा स्वरोजगार कोषका लागि प्रत्यक्ष खर्च गर्ने गरी ५ करोड ४२ लाख छुट्याएको छ । युवा सीप विकास तालिममा ५० लाख र युवाका लागि छोटो समयका तालिमका लागि भन्दै ५० लाख छुट्याइएको छ । ‘सबैभन्दा ठूलो शक्ति र सम्पत्ति मानव संशाधन रहेछ । मानव संशाधनमा पनि युवा रहेछ,’ सामाजिक विकास मन्त्री बरालले भने, ‘यसैले युवालाई स्वदेशमै रोकेर सीप र रोजगारी दिन युवाहरूकै सुझावअनुसार काम गर्नेछौं ।’

प्रकाशित : श्रावण २८, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?