२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

फोहोरकै समस्या

नगरवासीले फोहोर व्यवस्थापनबापत रकम तिरेनन्
नवीन पौडेल

परासी — पश्चिम नवलपरासी सदरमुकाम तथा मुख्य बजारमा फोहोर व्यवस्थापन जटिल बन्दै गएको छ । ल्यान्डफिल्ड साइटको व्यवस्थापन हुन नसक्नु र फोहोर उठाएबापत रकम तिर्न स्थानीयले आनाकानी गरेपछि नियमित हुन सकेको छैन । सदरमुकाम तथा सबैभन्दा पुरानो नगरपालिका रामग्रामले फोहोर व्यवस्थापनमा निजी संस्थासँग सहकार्य गरेर उठाउँदै आएको थियो ।

फोहोरकै समस्या

फोहोर व्यवस्थापनको जिम्मा पाएको नेसनल वेस्ट म्यानेजमेन्ट एन्ड रिसाइक्लिङ सेन्टर भक्तपुरले संकलन गरेबापतको पैसा उठाउन छाड्यो । रामग्राम नगरपालिकाको सहरी क्षेत्रमा प्रतिदिन ६ टन फोहर निस्कने सेन्टरका निर्देशक सुजन ढकालले बताए । रामग्राम नगरपालिकासँग सम्झौता भएको तीन वर्षसम्म सेन्टरले जम्मा ७६ हजार मात्र नगरवासीबाट उठाएको छ । ०७३ साउनमा पाँच वर्षका लागि भएको सम्झौताअनुसार फोहोर संकलनबाट उठेको रकमको १० प्रतिशत सेन्टरले नगरपालिकालाई बुझाउनुपर्ने छ ।


सेन्टरले फोहोर उठाएबापत प्रत्येक घरबाट मासिक ९० रुपैयाँ, पसलबाट १ सय ५० तथा विद्यालय र गार्मेन्टबाट २ हजार रुपैयाँ उठाउन पाउने सम्झौतामा उल्लेख भए पनि अधिकांशले नतिरेपछि फोहोर उठाउन छाडिएको हो । यसअघि नगरपालिकाले फोहोर व्यवस्थापनबापत नगरवासीबाट वार्षिक एकमुष्ट रकम लिँदा खुरुखुरु तिरेकाले निजी कम्पनीलाई मासिक रूपमा तिर्नु परेपछि दिन आनाकानी गरेका हुन् । फोहोर उत्पादन गर्ने व्यक्ति वा संस्थाले मात्र रकम दिनुपर्ने वैज्ञानिक नियम बनाउँदा पनि रकम नतिर्ने र चोक/चौराहामा ल्याएर फाल्ने गर्दा समस्या बल्झिएको रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए ।


‘हामीले फोहोर व्यवस्थापनलाई मूल चासोका रूपमा लिएका छौं,’ उनले भने, ‘अब नगरपालिका आफैंले सवारी साधन र कर्मचारी व्यवस्थापन गरेर फोहोर नियमित उठाउने व्यवस्था गर्दैछौं ।’ ल्यान्डफिल्ड साइडका रूपमा झरही खोलाको किनारको खाली जग्गा प्रयोग हुँदै आएको छ । कुहिने फोहोरको कम्पोस्ट मल र नकुहिनेको उचित व्यवस्थापनका लागि टोल सुधार समितिमार्फत जनचेतना र सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आए पनि दीर्घकालीन समस्या समाधान हुन सकेको छैन ।


जिल्लाको बर्दघाट र सुनवल नगरपालिकाका लागि पनि फोहोर व्यवस्थापन जटिल समस्या बनेको छ । ल्यान्डफिल्ड साइडका लागि कसैले पनि जग्गा दिन नमान्ने र वन तथा नदी क्षेत्रमा फोहोर फाल्न नमिल्ने भएपछि अस्थायी रूपमा व्यवस्थापन हँुदै आएको छ । गाउँपालिका क्षेत्रमा फोहोर उत्पादन कम हुने हुनाले आ–आफ्नो घरको फोहोर आफैं व्यवस्थापन गर्न जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको छ ।

प्रकाशित : श्रावण ३०, २०७५ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?