१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चिरिएका घरमै बास

भूकम्पले चर्केका तर लाभग्राहीको सूचीमा नपरेका घर वर्षासँगै भत्किन सुरु
माधव अर्याल

पाल्पा — अविरल वर्षाले तानसेन नगरपालिका ६ बर्तुङस्थित ढकेश्वर पोखरेलको घर भत्कियो । घर भत्किँदा सबै परिवार भित्रै थिए । ढकेश्वरकी श्रीमती लक्ष्मी र छोरा अनीललाई सामान्य चोट लागेको छ । भूकम्पले चर्केको घरमा इन्जिनियरको लापरबाहीले पहेंलो कार्ड टाँसेपछि टालटुल गरेर पोखरेल परिवार त्यहीं बस्दै आएको थियो ।

चिरिएका घरमै बास

‘इन्जिनियरले यत्तिको घरमा बस्न हुन्छ भनेपछि टालटुल गरेर बसेका हौं,’ पोखरेलले भने, ‘अहिले यस्तो विपत्ति आइपर्‍यो ।’ स्थानीयका अनुसार उनको मात्र होइन, छिमेकी कृष्ण भट्टराईको घर पनि जोखिम मुक्त छैन । अविरल वर्षासँगै जिल्लाका यस्तै अवस्थाका पाँच हजारभन्दा बढी घर जोखिममा छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, जिल्ला आयोजना कार्यान्वयन इकाइका अनुसार जिल्लाका जोखिमयुक्त घरमा बस्ने धेरै छन् । केन्द्रीय तथ्यांक विभागबाट आएका इन्जिनियरले भूकम्पबाट चर्केका र भत्केका १० हजार ४ सय ६५ घरको फोटो खिचेर लगे पनि ४ हजार ६ सय ५२ को मात्र लाभग्राही सूची आएको छ । त्यस्तामध्ये अधिकांश घरमा अहिले पनि बसोबास छ ।


तिनाउ गाउँपालिका ५ बिस्कुनडाँडा माझगाउँका पोमबहादुर सुनार पनि भूकम्पले चर्केको घरमा बस्छन् । उनको घर चिराचिरा परेको छ । ढुंगामाटोको गारो भत्किएर बाहिर उछिट्टिएको छ । हिँडदा पनि घर हल्लिन्छ । कतिबेला लड्ने हो भन्ने त्रास भएको उनले बताए । ‘घरमा बस्न मिल्दैन भनेर इन्जिनियरले भनेनन्,’ उनले भने, ‘फेरि यसबाहेक बस्ने ठाउँ अर्को छैन ।’ उनका अनुसार पहिला पहेंलो र पछि रातो कार्ड पनि पाएका छन् । इन्जिनियर आएर सबै फोटो खिचेर केन्द्रीय तथ्यांक विभागमा पठाए । तर, अहिलेसम्म लाभग्राहीको सूचीमा उनको नाम परेको छैन ।


माझगाउँकी सरस्वती कामीको घर पनि भूकम्पले भत्केको छ । भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि उनको घर सिफारिसमा परेन । घर बस्नै नमिल्ने गरी भत्किएको छ । उनी टिनको टहरा बनाएर गुजारा गर्दै आएकी छन् । घरमात्र होइन, वरपरका सबैजसो डाँडापाखा चर्किएका छन् । बाक्लो दलित र जनजातिको बस्ती रहेको गाउँका सबैजसो टहरामै बसेका छन् । ‘रातो कार्ड पनि पाइयो, इन्जिनियरले फोटो पनि लगे,’ उनले गुनासो गरिन्, ‘तर, लाभग्राहीको सूचीमा मेरो घर पर्न सकेन ।’


१० स्थानीय तहमा एक इन्जिनियर र दुई ओभरसियर प्राधिकरणले खटाएको छ । तर, उनीहरू गाउँसम्म पुगेका छैनन् । जिल्ला आयोजना कार्यान्वयन इकाइ इन्जिनियर विवेस शाहका अनुसार ३ हजार ३ सय ८४ लाभग्राहीले घर बनाउन सम्झौता गरेका छन् । २ हजार ३ सय ९ ले पहिलो किस्ता लिए । १ हजार १ सय ९ ले दोस्रो किस्ता बुझेका छन् । त्यस्तै २ सय ८८ जनाले तेस्रो किस्ता असार मसान्तसम्म लिएको इकाइ कार्यालयले जनाएको छ । प्रवलीकरण लाभग्राही ३ सय ८४ जनाको केन्द्रीय तथ्यांक विभागबाट नाम आएको छ । यसमा आठ जनाले मात्र रकम लगेर काम सुरु गरेका छन् ।


जिल्लाका पाँच सयभन्दा बढीका गुनासा संकलन भएका थिए । जिल्ला समन्वय समिति र स्थानीय तहले त्यस्ता गुनासा केन्द्रमा पठाइसकेका छन् । कतिपयले सम्झौता गर्न नै सकेका छैनन् ।


भूकम्पका बेला जिल्ला दैवीप्रकोप उद्धार समितिले जिल्लाका धेरै गाउँलाई जोखिमयुक्त मानेको थियो । घरमा पनि बस्न नमिल्ने भनेको थियो । तर, त्यस्ता घरमै अहिले गुजारा गरिरहेका छन् । कोलडाँडा र सहलकोटको सुकेकोट गाउँ चिरैचिरा परेको छ । ‘हाम्रा गाउँबस्ती सबै पहिरोको जोखिममा छन्,’ तिनाउ ५ बिस्कुनडाँडाका गंगाबहादुर गाहाले भने । सहलकोट र बिस्कुनडाँडाका अधिकांश घर भत्किएका छन् । उनीहरू अझै पनि टहरामा छन् । पीडितहरू डराइडराई चर्किएका र भत्किएका घरमा बस्छन् । केही गाउँले त्रिपालमै छन् ।


कतिपय एकतले टहरा बनाएर बसेका छन् । २५ हजार रुपैयाँ लिनलाई भत्काएको घरको जग घाँसले पुरिएको भूकम्पपीडित विनिसरा कामीले बताइन् । कतिपयले आफ्नो घर अलपत्र छोडेर अर्काको घरमा शरण लिएका छन् । कतिपय ठडिएको घर भत्काउने रकम अभावमा तीन वर्षदेखि राहत कुरिरहेका छन् ।

प्रकाशित : श्रावण ३०, २०७५ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?