बढ्दो सम्बन्ध विच्छेद

छुट्टै बस्ने भन्दै अदालतमा मुद्दा दर्ता गर्नेमा महिला बढी
मनोज पौडेल

कपिलवस्तु — तीन वर्ष प्रेम गरेपछि कपिलवस्तु नगरपालिका ३ की हरिकलाले ओमसँग लगनगाँठो कसिन् । २६ वर्षे ओम र २३ वर्षीया हरिकलाले विवाह गर्न पाएको कुरालाई ठूलो सफलता ठाने । तर, उनीहरूको खुसी तीन वर्ष नपुग्दै भताभुंग भयो ।

बढ्दो सम्बन्ध विच्छेद

पतिले शारीरिक र मानसिक यातना दिएको भन्दै दिनहँु भैझगडा हुन थाल्यो । सुखद भविष्यको आशा मारेर हरिकलाले कठोर निर्णय लिइन् । अलग्गै बस्ने निर्णयलगत्तै जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरिन् ।


वाणगंगा नगरपालिका २ की पूजाले त्यहीँका रविसँग गरेको मायाप्रेम पनि धेरै दिन टिकेन । विवाह गरेको छोटो समयमै पतिले हेय र गलत नजरले हेर्न थालेपछि उनका दु:खका दिन सुरु भए । दैनिक पीडा सहनुभन्दा अलग्गै बस्न राम्रो भन्ने निर्णय गरिन् । विवाह गरेको तीन वर्षमै २३ वर्षे पूजाले २५ वर्षे रविविरुद्ध अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरिन् ।


हरिकला र पूजा (नाम परिवर्तन) प्रतिनिधि पात्र मात्र हुन् । पछिल्लो समय यहाँ सम्बन्धविच्छेदका घटना बढदै गएका छन् । अदालतको तथ्यांक हेर्ने हो भने पाँच वर्षअघि भन्दा अहिले तेब्बर बढेको छ ।


०७४/७५ मा यहाँ १ सय ९२ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्ष १ सय २७ थियो भने ०७२/७३ मा १ सय २० जनाले सम्बन्धविच्छेद गरेका थिए ।


यस तथ्यांकले देखाउँछ, घरको व्यवहार र खटपट सहन नसकेपछि नालिस गर्न आउनेको संख्या दैनिक बढ्दो छ ।


महिला आफैं वा कुनै माध्यमबाट अदालतसम्म पुग्न थालेको पनि यी तथ्यांकले प्रस्ट पार्छन् ।


अदालतमा आएका घटना विश्लेषण गर्दा १८ देखि २८ वर्षको उमेर समूहका दम्पती बढी मात्रामा छुट्टिने गरेका छन् । कलिलै उमेरमा प्रेम विवाह गर्ने तर त्यसलाई व्यवस्थापन गर्न नसक्दा सम्बन्ध प्रगाढ नहुँदै टुट्ने गरेको देखिएको छ । कपिलवस्तु अदालतका नासु हरि पन्थीका अनुसार युवावस्थामा केटाकेटी यथार्थभन्दा भावनामा बग्ने बढी हुन्छन् । ‘७५ प्रतिशतभन्दा बढी प्रेमविवाह गरेका सम्बन्धविच्छेद गर्न आउँछन्,’ उनले भने, ‘केटाले बाँड्ने ठूल्ठूला सपना पूरा नहँुदा समस्या बढिरहेको छ ।’


‘लहलहैमा विवाह गर्नेको संख्या पनि बढदो छ,’ अधिवक्ता हुमनाथ पाण्डेले भने, ‘कलिलो उमेरमा विवाह गर्‍यो, बुझ्ने भएपछि धेरै कुरामा असमझदारी हुन्छ ।’ किचलो हुन थालेपछि घरेलु हिंसा र यातना बढ्ने गरेका छन् । त्यसपछि सम्बन्धविच्छेदका लागि अदालत आउने गर्छन् ।


मादक पदार्थ सेवन गरी झैझगडा गर्ने, गरिबी र विपन्नताले बेरोजगार हुँदा पनि समस्या झन् बढेको उनी बताउँछन् । ‘अदालतले सकेसम्म पति–पत्नीबीच मेलमिलापको पहल गर्छ,’ श्रेस्तेदार डिल्लीनारायण अर्यालले भने, ‘त्यहाँबाट समस्या समाधान नभए सम्बन्धविच्छेदको फैसला गर्छ ।’


‘श्रीमान् रोजगारका लागि विदेशिन्छन्,’ श्रेस्तेदार अर्यालले भने, ‘उनीहरूले पठाएको रेमिट्यान्स जथाभावी खर्च गरेर तडकभडक देखाउँदै दुरुपयोग गरेका कारण पनि सम्बन्धविच्छेद भएका घटना छन् । आधुनिक फेसन शैली र रहनसहन पनि सम्बन्धविच्छेदको अर्को कारण हो ।’


घरपरिवारमा शारीरिक, मानसिक यातना पाएका, चरम यौन शोषण, दाइजो र नपुंशकता पनि सम्बन्धविच्छेदका कारण बनेका छन् । अन्तरजातीय विवाह पनि सम्बन्धविच्छेदको अर्को कारण बनेको छ । त्यस्तै गत आवको जेठ र असार महिनामा जग्गामा हदबन्दी लाग्ने हल्लाले समेत सम्बन्धविच्छेदका घटना केही बढेको अदालतका स्रोतले बतायो ।


‘५० देखि ६५ वर्ष उमेरका महिलासमेत सम्बन्धविच्छेदका मुद्दा लिएर आएका छन्,’ अर्यालले भने, ‘यो सबै सरकारले जग्गा हदबन्दी गर्न लागेको हल्लाकै कारण होला भन्ने अनुमान गर्‍यौं ।’


सम्बन्धविच्छेदका लागि पुरुषको तुलनामा महिला नै बढी संख्यामा अदालत धाउने गरेको तथ्यांक छ । यहाँ सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउनेमा ९८ प्रतिशत महिला छन् ।

प्रकाशित : श्रावण ३०, २०७५ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?