१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

कुलतबाट जोगाउनै मुस्किल

अभिभावक, शिक्षक, व्यवसायी र प्रहरी प्रशासन चारै पक्षको प्रयासबाट न्यूनीकरण सम्भव
अमृता अनमोल

बुटवल — इलाका प्रहरीले शनिबार तीनवटा क्याफेमा छापा मार्‍यो । तीमध्ये दुई क्याफेभित्र १८ वर्षमुनिका किशोरकिशोरी मदिरा, हुक्का र चुरोटमा झुमिरहेका थिए । श्रवणपथस्थित विटफुड क्याफेबाट बिदाको दिन रमाइलो गर्ने भन्दै भेला भएका २ सय ७ जनालाई प्रहरीले नियन्त्रणमा लियो । मिलनचोकको ग्यालेक्सी बारबाट ६६ किशोरकिशोरी समातिए । दुवै बारका सञ्चालकलाई पनि प्रहरीले नियन्त्रणमा लियो ।

कुलतबाट जोगाउनै मुस्किल

ती क्याफे सञ्चालन गरिएका क्षेत्र आसपासका बासिन्दाको गुनासोपछि प्रहरीले छापा मारेको हो । ‘अनुगमन गर्दा स्थानीयले बताएभन्दा बिजोग अवस्थामा किशोरकिशोरी भेटिए,’ प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले भने, ‘पढ्ने बालबालिका त्यसरी कुलतमा लागेको देख्दा मनै कटक्क भयो ।’ नियन्त्रणमा लिएका किशोरकिशोरी केहीबेर इलाका प्रहरी बुटवलमा राखिएका थिए । त्यसपछि अभिभावकको जिम्मामा घर पठाइयो । बार सञ्चालकलाई पनि अबदेखि बालबालिकालाई कुलतमा लगाउने गतिविधि नगर्ने सर्तमा छाडियो ।


प्रहरीका अनुसार हुक्का, चुरोट र मदिरा किशोरकिशोरी कुलतमा लाग्ने पहिलो चरण हो । रमाइलोका नाममा गरिने यो क्रम बढदै गएमा उनीहरू लागूपदार्थ प्रयोगकै दलदलमा फस्न सक्छन् । ‘तर, कुलतमा लागेका बालबालिकालाई पक्राउ गरेर वा दण्ड सजाय दिएर मात्रै समस्या समाधान हुँदैन,’ डीएसपी मल्लले भने, ‘यसैले बालबालिका, अभिभावक र व्यवसायी तीनै पक्षलाई सचेत गराएर पठायौं ।’


होटल तथा रेस्टुराँमा गलत क्रियाकलाप गर्दा किशोरकिशोरी पक्राउ परेको यो पहिलो घटना होइन । असार महिनामा मात्रै प्रहरीले बुटवल र आसपासका होटलमा गलत क्रियाकलाप गरिरहेको अवस्थामा २७ किशोरकिशोरीलाई नियन्त्रणमा लिएको थियो । उनीहरू विद्यालय पोसाकमै बारमा मदिरा र चुरोट पिउँदै अनैतिक गतिविधिमा संलग्न थिए ।

किशोरकिशोरीलाई नियन्त्रणमा लिएर अब त्यस्तो नगर्ने सर्तमा अभिभावकको जिम्मा लगाइएको थियो । प्रहरीले होटल व्यवसायीलाई यस्ता गतिविधि भइरहे कारबाही गर्ने चेतावनी पनि दिएको थियो ।


यसपछि होटल तथा रेस्टुराँ व्यवसायी संघ रूपन्देही केही सतर्क बन्यो । संघले आचारसंहिता नै बनाएर १६ वर्षमुनिका बालबालिकालाई धूमपान तथा मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लगायो । कलेज तथा स्कुल पोसाकमा आएका जोडी विद्यार्थीलाई होटलका कोठा उपलब्ध नगराउने जनायो ।

व्यवसायीबाट त्यस्तो असामाजिक काम गरेको प्रमाणित भएमा स्वत: संघको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने र कानुनी कारबाहीका लागि सिफारिस गर्नेसमेत आचारसंहितामा उल्लेख गर्‍यो । संघले यस्तो नियम बनाए पनि व्यवसायीले भने कार्यान्वयन गरेका छैनन् । यसले कुलतमा लाग्ने किशोरकिशोरीलाई प्रश्रय मिलेको छ । ‘होटलमा मदिरा र हुक्का राख्नै हुन्न भन्ने होइन । किशोर बालबालिकालाई दिनु हुँदैन भनेकामा त्यसमा पनि कडाइ गरेनन्,’ अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले भने, ‘यसले बालबालिकाको होटल तथा रेस्टुराँ केन्द्रित कुलत बढेको छ ।’


१३ देखि १९ वर्षसम्मको समय किशोरावस्था हो । यो उमेर समूहका बालबालिका बढी जिज्ञासु हुन्छन् । शारीरिक रूपमा प्रजनन अंगको विकास हुन्छ र मानसिक रूपमा पनि परिवर्तन हुन्छन् । साथी बनाउन र घरपरिवारभन्दा बढी साथीभाइसित रमाउन मन पराउँछन् । जानकारहरूका अनुसार बसाइँसराइ, बढी स्वतन्त्रता र सूचना प्रविधिको गलत प्रयोगले किशोरकिशोरी कुलतमा लाग्ने गरेका छन् । आधुनिकता र मनोरञ्जनका नाममा पनि अञ्जानमै किशोरकिशोरी कुलतको बाटो हिँडिरहेका छन् ।

‘धेरै त परिवारबाट संरक्षण नहुनु, निगरानी नहुनु र गलत संगतका कारण कुलतमा लागेका छन्,’ बुटवल बहुमुखी क्याम्पसका सहप्राध्यापक नारायण पन्थले भने, ‘परिवारले बढी माया गरेको नाममा मनपरी रकम दिने र धेरै समय बाहिर छाड्ने कारणले पनि उनीहरू बिग्रेका हुन्् ।’ उनका अनुसार पूर्वीय समाजको संस्कार र सभ्यता बिर्सेर पश्चिमा छाडा संस्कृति अपनाउँदा पनि किशोरकिशोरी बढी बिग्रेका छन् ।


किशोरकिशोरीमा हुने कुलत बढ्दै गए अपराधमा परिणत हुन्छ । त्यो अवस्था रूपन्देहीमा पनि देखिन थालेको छ । रूपन्देही प्रहरीकै तथ्यांकमा गत वर्ष मात्रै लागूऔषध दुरुपयोग, चोरी, डकैती, यौन दुव्र्यसनलगायत अपराधमा ८० भन्दा बढी किशोरकिशोरी पक्राउ परेका थिए । उनीहरूलाई दण्ड सजायभन्दा पनि संस्कार र शिक्षा दिएर कुलतबाट बचाउनुपर्ने हुन्छ । यही मान्यतामा रूपन्देही प्रहरीले समेत पाँच वर्षयता विद्यालयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

७ देखि १२ कक्षा लक्षित कार्यक्रममा लागूपदार्थ, मादकपदार्थ तथा धूमपानलगायतको दलदलबाट कसरी बच्ने भन्नेबारे सिकाइन्छ । कानुनी उपचारले मात्रै समस्या समाधान नभएकाले कुलतमा लाग्ने र दुव्र्यसनमा बढी पर्ने विद्यार्थीलाई लक्षित गरी रोकथाम अभियान थालेको हो । जिल्ला प्रहरीका सूचना अधिकृत डीएसपी कुमोद ढुंगेलले यो अभियान चालु आर्थिक वर्षमा पनि जारी राख्ने बताए ।

प्रकाशित : श्रावण ३०, २०७५ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?