१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

३ भाइको बाख्रा फर्म

नगपालिकाद्वारा फर्मसम्म पुग्ने बाटो निर्माण
गिरुप्रसाद भण्डारी

प्यूठान — पुर्खाले गर्दै आएको चोया–चित्राको व्यवसाय छाडेर यहाँका सुनार ३ भाइ व्यावसायिक बाख्रापालनमा लागेका छन् । प्यूठान नगरपालिका ३ विजयनगर डमरेली बस्तीका बीके, टुकमान र शोभाराम सुनारले गाउँको बाँझिएको पाखो जमिन खरिद गरी घाँस लगाएर बाख्रापालन थालेका हुन् । उनीहरूले केही वर्ष भारतको मद्रासमा होटलमा काम गरी कमाएको पैसा खोर निर्माण र जग्गा खरिदमा लगाएर बाख्रापालन थालेका छन् ।

३ भाइको बाख्रा फर्म

फर्म सञ्चालनका लागि ५० रोपनीभन्दा बढी जग्गा जुटाएका छन् । बाख्राले मन पराउने किम्बु, कोइरालो, अम्रिसोलगायत घाँस लगाएका छन् । खोर, जग्गा र बाख्रा खरिद गरी झन्डै ३० लाख रुपैयाँ बाख्रा फर्ममा लगानी भइसकेको सुनार दाजुभाइले बताए । ‘बाउबाजेले गर्दै आएको चोया–चित्रोका कामले गुजारा चलाउन समस्या भएपछि भारत पस्यौं,’ बीकेले भने, ‘केही वर्ष उतै काम गरियो ।’ सधैं परिवार छाडेर बस्नुभन्दा आफ्नै जन्मभूमिमा दिगो काम गर्नुपर्छ भन्ने दाजुभाइको सल्लाहले बाख्रा पालनमा लागेको उनले सुनाए ।


भारतमा तीन भाइले सात वर्ष काम गरेर कमाएको सबै रकम बाख्रापालनमा लगानी गरेको बीकेले बताए । केही वर्षअघि अलग–अलग भएका एकै घरका तीन भाइले संयुक्त लगानीमा फर्म खोलेका हुन् । उनीहरू तीनै भाइ ४० वर्षमुनिका छन् । धेरैजसो बसाइँ सरेर गएपछि सुनसान भएको गाउँमा बार्खापालन गर्ने ठूलो सोचले सुनार दाजुभाइले लगानी गरेको भन्दै प्यूठान नगरपालिकाले पनि बाख्रापालनमा सहयोग गर्न थालेको छ । यसले गर्दा उनीहरू थप हौसिएका छन् । ‘खोर निर्माणमा मात्र १० लाख रुपैयाँ लगानी गरिसकेका छौं,’ टुकमान सुनारले भने, ‘दुई वर्ष पहिले २० वटा स्थानीय बाख्रा खरिद गरेर फर्म सुरु गरेका हौं ।


अहिले पाठापाठी गरी ८० पुगेका छन् ।’ उनीहरूले स्थानीय खरी जातका बाख्रामा उन्नत बोयर बोका ब्याड लगाई बाख्रा बढाउँदै आएका छन् । माण्डवी गाउँपालिका मर्काबाङस्थित लेकाली बाख्रा फर्मबाट ४० हजार रुपैयाँमा उन्नत बोयर बोका ब्याडका लागि किनेर ल्याएको सुनारले बताए ।


गत वर्षबाट निर्माण गर्न थालेको खोर अझै पूरा भइसकेको छैन । ‘दुई सय बाख्रा अटाउने खोर निर्माणकै चरणमा छ,’ शोभाराम सुनारले भने, ‘दसैंसम्ममा निर्माण पूरा हुनेछ ।’ तीन भाइकै दम्पती बाख्राकै स्याहारसुसारमा लागेको उनले बताए ।


बाख्राको मल उनीहरूले तरकारी खेतीमा प्रयोग गरेका छन् । ‘जमिनमा सिँचाइको पनि कुनै समस्या छैन,’ शोभारामले भने, ‘लसुन खेतीमा बाख्राको मल प्रयोग गर्दा धेरै राम्रो उत्पादन हँुदोरहेछ ।’ उनले यस वर्ष एक लाख रुपैयाँको लसुन बिक्री गरेको बताए ।


‘दुई–चार लाख रुपैयाँ कमाइ गर्नेहरू गाउँ छाडदै बेंसी सर्दैछन्,’ वडाध्यक्ष प्रेम हमालले भने, ‘सुनार दाजुभाइले गाउँमै लगानी गरेर उत्पादनमा लाग्न थालेकाले उनीहरूलाई सहयोग गरेका हांै ।’ प्यूठान नगरपालिकाले खोर निर्माणका लागि दुई लाख रुपैयाँ अनुदान सहयोग गरेको हमालले बताए । यस्तै नगरपालिकाले फर्मसम्म पुग्नका लागि ५ लाख ७५ हजार रुपैयाँ खर्च गरेर मोटरबाटो निर्माण गरिदिएको हमालले बताए ।


नगरभित्रकै उत्कृष्ट किसानका रूपमा विजयनगरका किसान बीकेलाई छानेर ३० हजार नगदसहित भर्खरै सम्मान गरेको मेयर अर्जुनकुमार कक्षपतिले बताए ।

प्रकाशित : श्रावण ३०, २०७५ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?