फरक क्षमता भएकाकै सहारा

घरपरिवारमा अरुसरह माया र अवसर पाउन नसकेकाले यहाँ आएपछि सबै सुविधा पाउँछन्
अमृता अनमोल

बुटवल — स्याङ्जाका सन्दीप नेपालीको जन्मिँदै कम्मरमुनिको भाग चलेन । आमाको निरन्तर खटनमा हुर्किंदै थिए । तर, उनी चार वर्ष नपुग्दै आमाको मृत्यु भयो । छोराको स्याहार र घर चलाउन समस्या भएपछि बाबुले दोस्रो बिहे गरे ।

फरक क्षमता भएकाकै सहारा

त्यसपछि पनि सन्दीपले स्याहार पाएनन् । उल्टै बेसहारा भए । छिमेकी र आफन्तले संरक्षकको खोजी गर्न थाले । अपांगता भएकाले कुनै बालआश्रमले लिएनन् । त्यसपछि यहाँ रहेको अपांग आश्रमको सहारामा आए ।

चार वर्षअघि आश्रममा आएका सन्दीपको अहिले शारीरिक अभ्यास र उपचार भइरहेको छ । नियमित अभ्यास र उपचारका कारण उनी हिल चेयरमा गुड्ने भएका छन् । ‘हिँड्न नसक्ने भएकाले गाउँमा साह्रै हेला गर्थे । म मात्रै किन यस्तो भएको होला भनेर साह्रै दु:ख लाग्थ्यो । एक्लै रुन्थेें पनि,’ १६ वर्षीय उनले भने, ‘यहाँ आएपछि आफूजस्तै साथीहरू पाएको छु । माया पाएको छु ।’ बाँच्न सकिने रै’छ भन्ने लाग्न थालेको उनले बताए ।

मदिराले मात्तिएका बाबुले भुइँमा बजारिदिँदा पाल्पा, छहराकी सलिना नेपाली हिंडडुल गर्न नसक्ने बनिन् । बाबुको दुव्र्यवहार सहन नसकेर आमाले दोस्रो बिहे गरिन् । तिनै सलिना दुई वर्षको उमेरदेखि यही आश्रममा छन् । कम्मरमुनिको भाग नचल्ने उनको आश्रममा आएपछि उपचार भइरहेको छ । अहिले मेसिनको सहारामा उठ्न र एक–दुई पाइला सार्न सक्ने भएकी छन् । ‘आफैं उठ्न सक्ने भएकी छु, यसमै खुसी छु,’ १२ वर्षे सलिनाले भनिन्, ‘आफूजस्तै साथीसित बस्न पाउँदा रमाइलो लाग्छ ।’

अपांगता भएका बालबालिकाले घरपरिवारमा अरुसरह माया र अवसर पाउन सकेका छैनन् । त्यसमाथि बाबुआमा गुमाएका विपन्न परिवारका अपांगता भएका बालबालिकाको अवस्था बिजोगलाग्दो छ । यो देखेपछि बुटवल र आसपासका फरक क्षमता भएका व्यक्ति मिलेर ०६७ सालमा प्रगतिनगरमा ंनेपाल अपांग आश्रम’ सञ्चालन गरेका छन् । आश्रम स्थापना गर्ने सातै जना शारीरिक रूपमा अपांगता भएका व्यक्ति हुन् । उनीहरुलाई अभिभावकीय माया, ममता, सीप र शिक्षा दिएर जिउने कला सिकाउनु आश्रमको प्रमुख उद्देश्य हो ।

अपांगले आश्रम खोलेपछि केही बेसहारा बालबालिकाले बुटवलमा संरक्षित हुने मौका पाएका छन् । केही बौद्धिक रूपमा अपांगता भएका बालबालिका पनि संरक्षित छन् । ‘बाबुआमा हुनेभन्दा गुमाएका अपांग बालबालिकाले घरभित्रै पनि खानलगाउन नपाएको र आफन्तले पनि यातना दिएको देख्यौं,’ आश्रमका अध्यक्ष डोलबहादुर रामदामले भने, ‘त्यसपछि मन थाम्न नसकेर अनाथ अपांग बालबालिकाको संरक्षण थालेका हौं ।’

अहिले आश्रममा २८ बालबालिका छन् । स्थापनाताका सञ्चालकले रकम जुटाउन नसक्दा आश्रित बालबालिकाले अभावै अभाव भोग्नुपरेको थियो । स्थायी सहयोगी नभेटिँदा रुखोसुको दुई छाक खान जुटाइदिएका सञ्चालकले बालबालिकालाई क्षमताअनुसारको सीप र शिक्षा सिकाउन सकेका थिएनन् । कतिपयले बिरामी हुँदा रोगअनुसारको उपचार गर्नसमेत नसक्दा धेरै बालबालिका रोग पालेरै बसेका थिए । नियमित जाँच र औषधि सेवन गर्नुपर्ने बालबालिका पनि यो अवसरबाट वञ्चित थिए । अहिले भने अवस्था फेरिएको छ ।

स्थायी सहयोगी नभेटिए पनि सहयोगी मन भएकाको नियमित सहयोग जुटेको छ । जन्मदिन मनाउन, मृत्यु संस्कारपछि दान गर्न र चाडपर्वलगायतको खर्च कटाएर यहाँ सहयोग गर्न आउने बढेका छन् । ‘अपांगताको उपचारका लागि गैरसरकारी संस्थाले पनि सहयोग गरेका छन्,’ आश्रमकी सचिव विमला नेपालीले भनिन्, ‘नाना र खानाका लागि व्यक्तिगत सहयोगबाटै पुगेको छ ।’

बुटवल उपमहानगरपालिकाको करिब दुई कट्ठा सार्वजनिक जग्गामा टिनको छाना र ब्लक लगाएको चारकोठे अनाथ र अपांगता भएका बालबालिका बस्ने आश्रम बनाइएको छ । बुटवल ११ तल्लो देवीनगरका बासिन्दाले टोलबाट निर्णय गराएर बालबालिकालाई यहाँ बस्न ठाउँ दिएका हुन् । त्यसमा बुटवलका विभिन्न संघसंस्था र व्यक्तिले सहयोग गरेर गारो र टिन लगाइदिने काम गरेका थिए । स्थानीय तहले कहिलेकाहीं सीपका लागि सहयोग गरेको छ ।

सञ्चालकहरू धेरै पढालेखा नहुँदा कागज मिलाएर दाताबाट रकम ल्याउन नसकेको सचिव विमलाले बताइन् । आश्रममा रहेका तीन बालबालिकाले सामुदायिक विद्यालय पढ्छन् । १५ जनाले जीविकोपार्जनसम्बन्धी सीप सिक्दै छन् । तीन जनाले यहींबाट तालिम लिएर रोजगारी पाए । शारीरिक अक्षमता र रकम अभावमा चाहेअनुसार फरक–फरक तालिम र रोजगारीको अवसर दिन नसकेको अध्यक्ष रामदामले बताए ।

प्रकाशित : श्रावण ३१, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?