कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

रित्तिए बस्ती, बाँझियो जग्गा

माधव अर्याल

चिदीपानी (पाल्पा) — माथागढी गाउँपालिका १ चिदीपानीका अधिकांश बस्ती रित्तिन थालेका छन् । बस्ती पातलिँदै गएपछि जमिनसमेत बाँझै रहेको छ । तीनतले पुराना घर थोत्रिएका छन् । टिनमा खिया लागेको छ ।

रित्तिए बस्ती, बाँझियो जग्गा

बरन्डा भत्किएर झरिसके । ठाउँ–ठाउँबाट घर भत्किन थालेका छन् । केहीका जमिनमा छिमेकीले गरेर खाएका छन् । अधिकांश बाँझै छन् ।

‘जता गयो उस्तै बस्ती रित्तिने समस्या छ,’ स्थानीय सिन्धु खनालले भने, ‘सबै रोजगारका लागि बाहिर जाने गर्छन् । त्यसपछि तराई र काठमाडौंतिरै बसोबास गर्ने बढी छन् ।’ उनका अनुसार गाउँमा ज्येष्ठ नागरिक बढी छन् । जिल्लाकै सबैभन्दा धेरै बसाइँसराइ यहीं छ । बस्ती रित्तिने चिदीपानी पहिलो भएको जिससको तथ्यांकले समेत देखाएको छ ।

चिदीपानी वडा कार्यालयका अनुसार २०७० देखि अहिलेसम्म यहाँका १ सय ५१ परिवारले बसाइँसराइ प्रमाणपत्र लगे । तर, अन्यत्रबाट चिदीपानीमा आउनेको संख्या भने १९ घरपरिवार मात्र छ । यहाँबाट त्यत्तिकै घर छाडेर जानेको संख्या ६० छ । उनीहरूको जग्गामा कसैले खेती गरेको छैन । यहाँका मानिस रूपन्देही, नवलपरासी, काठमाडाैं, भक्तपुर, ललितपुर बसाइँ सरेका छन् ।

वडाध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार कतिपयले बसाइँसराइको कागज नै लगेका छैनन् । ‘रोजगारी, पेसा व्यवसायका कारण बसाइँसराइमा जोड दिएका हुन्,’ उनले भने, ‘बालबालिका विद्यालय भर्ना गर्न पनि कागजपत्र लैजाने गरेको देखिएको छ ।’ वडा कार्यालयका अनुसार चिदीपानीको १ हजार ५ सय रोपनी जग्गा बाँझिएको छ ।

चिदीपानी अर्थात् साबिकको नौ वडामा २२ बस्ती छन् । यहाँका अधिकांश बस्तीमा युवा भेटिँदैनन् । ‘युवा रोजगार वा अन्य कामले बाहिर छन्,’ कार्यालय सहायक नवराज पन्थीले भने, ‘अहिले अधिकांश घरमा ज्येष्ठ नागरिक मात्र छन् ।’ वडामा ९ सय ८३ घरधुरीमा ५ हजार ८ सय ५३ जनसंख्या छ । ४ सय ३७ बाहिरिँदा ८० जना यहाँ बसाइँ सरेर आएका छन् ।

वडा कार्यालय बैठकमा समेत बसाइँसराइ रोक्ने विषयमा छलफल हुने गरेको छ । ‘छलफलमा निस्केको कुराले पनि कतिपयलाई तर्साएको छ,’ वडाध्यक्ष घिमिरेले भने, ‘हामीले दुई वर्षभन्दा बढी समय जमिन बाँझो राख्नेको घरजग्गामा मान्छे लगेर राख्छौं भनेका थियौं, बाहिर हल्ला गएछ । त्यसपछि अहिले केही व्यक्ति एक–दुई महिना आउने र खेतबारी जोताउने गरेका छन् ।’

प्रकाशित : श्रावण ३१, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?