१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

३ वर्षदेखि अधुरै बसपार्क

१५ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता
करिश्मा चौधरी

बाँके — निर्माण सुरु भएको दुई वर्षमा पनि नेपालगन्ज बसपार्कको आधा काम भएको छैन । पटक–पटक म्याद थप्दासमेत अहिलेसम्म ४० प्रतिशत मात्रै काम भएको छ । निर्माणमा ढिलाइले यात्रु, यातायात व्यवसायी, गाडी चालक, स्थानीय व्यापारीलगायत सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।

३ वर्षदेखि अधुरै बसपार्क

२०७२ चैतमा युनाइटेड बिल्डर्ससँग १५ महिनामा काम सक्ने गरी १४ करोड ९४ लाख रुपैयाँमा सम्झौता भएको थियो । तोकिएको समयमा काम नभएपछि पटक–पटक गरेर पाँच महिना म्याद थप गरिएको नेपालगन्ज उपमहानगरपालिका इन्जिनियर सुरज गुप्ताले बताए । थपिएको समयमा पनि काम पूरा भएन । त्यसपछि नगर कार्यपालिका बैठकले ०७५ फागुन अन्तिमसम्म सक्ने गरी पुन: समय थपेको छ ।

यसअघि ढिलाइ भए पनि अहिले निर्माणले गति लिएको इन्जिनियर गुप्ताले बताए । ‘वर्षात्ले निर्माणमा केही बाधा भए पनि अहिले गतिमै भइरहेको छ,’ गुप्ताले भने, ‘अहिले ठेकेदार कम्पनीले पनि बुझेको छ । उसलाई पनि काम समयमै सक्नुपर्ने बाध्यता छ । वर्षाको समय सकिएपछि कामको गति अझै बढ्छ ।’

आधुनिक सुविधासहित बनाउन थालिएको बसपार्क साढे चार बिघा क्षेत्रफलमा फैलिएको छ । बसपार्कमा टर्मिनल भवन, सपिङ बिल्डिङ, चमेनागृह, पक्की पार्किङ क्षेत्र, शौचालय निर्माण गर्न थालिएको हो । निर्माण कम्पनीले बसपार्कको मुख्य प्रवेशद्वार र पर्खाल निर्माणको पनि जिम्मा लिएको छ । बसपार्क निर्माणमा ढिलाइ हुँदा थुप्रै समस्या भोग्नु परेको यातायात व्यवसायी तेन्जी शेर्पाले बताए ।

समयमै निर्माण नसक्दा काउन्टर सञ्चालन गर्न पनि मुस्किल भएको छ । वर्षात्मा हिलो अनि हिउँदमा धूलोको मारमा परेका यात्रु टिकट काट्न पनि कम आउने गरेको शेर्पाले सुनाए । ‘हिलोको बीचमा काउन्टर राख्नुपरेको छ । को आउँछ यस्तोमा टिकट काट्न ? धेरैजसो त चोकतिरबाटै गाडी चढ्छन्,’ शेर्पाले भने, ‘एकदमै धेरै जाम पर्छ । बसपार्क रोड नै बसपार्कजस्तै बनेको छ । त्यसमाथि सडक निर्माण भइरहेको छ । गाडी राख्ने ठाउँ छैन । होटल, पसलहरूका अगाडि राख्दा गाली खानुपर्ने समस्या छ ।’

केही गाडी सडकमै राख्नुपरेको अनि केही गाडी हिलोमा राख्न बाध्य भएको शेर्पाले बताए । यसरी सेवा दिन निकै गाह्रो भएकाले छिट्टै बसपार्क निर्माणको काम सक्न सरोकारवालाले पहल गर्नुपर्ने व्यवसायी शेर्पाको आग्रह छ । बसपार्क निर्माणमा ढिलाइ हुँदा त्यस आसपासका व्यापारीले पनि सास्ती भोग्नुपरेको छ ।

बसपार्क रोडमा होटल व्यवसाय गरिरहेकी सुभद्रा क्षत्रीले बसपार्क निर्माणमा धेरै समय लगाउँदा व्यापार घटेको बताइन् । बसपार्क सञ्चालनमा आएको समयभन्दा अहिले आधाले व्यापार घटेको उनको दाबी छ । ‘बसपार्क सञ्चालन हुँदा धेरै मान्छे आउँथे र राम्रो व्यापार थियो,’ उनले भनिन्, ‘तर, अहिले त मान्छे नै कम आउँछन् ।’ गाडी चालकले होटलअगाडि गाडी राख्दा झन् गाह्रो हुने सुभद्राले बताइन् ।

‘अगाडि गाडी राख्दा व्यापारमा घाटा भएको छ,’ उनले भनिन्, ‘गाडी नराख्न भन्दा कसैले टेर्दैनन् ।’ बसपार्क नबन्दा गाडीहरू सडकमै छन् । कुन ठाउँ जाने गाडी कता छन् भन्ने थाहापत्तो नै हुँदैन । जता ठाउँ हुन्छ, त्यतै गाडी राख्ने बाध्यता गाडी चालकलाई छ । यसले यात्रुलाई गाडी र गाडीले यात्रु पाउन गाह्रो भएको छ । नेपालगन्ज–सुर्खेत खण्डमा गाडी चलाउने यामबहादुर पुलामीले समयमै बसपार्क नबन्दा गाडी पार्किङ गर्न र यात्रु चढाउन समस्या भएको बताए । ‘पार्किङ गर्ने ठाउँ छैन । सडकमा राख्दा व्यापारीले राख्न दिँदैनन्,’ उनले भने, ‘गाडी राख्ने ठाउँ फिक्स नहुँदा यात्रु पाउन पनि गाह्रो छ ।’ यसले यात्रुलाई पनि समस्या भएको उनी बताउँछन् ।

सडकमा गाडी राख्दा यहाँ आवतजावत गर्ने थुप्रै सर्वसाधारणले पनि समस्या भोग्नुपरेको छ । अचेल यो सडकमा धेरै जाम पर्छ । जाम नपरेको समयमा पनि सडकछेउमा गाडी पार्किङ गरिएका हुन्छन् । बीचमा गाडी गुडिरहेको हुन्छ ।

पैदलयात्री गाडीहरूको बीचबीचबाट ठाउँ खोज्दै हिँड्नुपर्ने हुँदा दुर्घटना पनि बढेको छ । ‘ढुक्कले हिँड्न सकिएको छैन,’ पैदलयात्री राकेश केसीले भने, ‘कहिले यो साइड हिँड्नुपर्छ, कहिले त्यो साइड पुग्नुपर्छ । कहिलेकाहीं त गाडीको बीचबाटै छिर्नुपर्ने समस्या पनि छ ।’

प्रकाशित : श्रावण ३१, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?