२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

प्यूठानमा फस्टाउँदो कुखुरापालन

कान्तिपुर संवाददाता

प्यूठान — प्यूठान नगरपालिका ४ खडडेराका लीलाध्वज पाठक पाँच वर्षअघि कुुखुरापालन व्यवसाय थाल्दा निकै द्विविधामा थिए । प्यूठानबाट अध्ययनका लागि दाङको घोराही पुगेका उनले उतै जग्गा भाडामा लिएर लेयर्स पाल्न थाले ।

प्यूठानमा फस्टाउँदो कुखुरापालन

त्यतिबेला कुखुरा पाल्ने ज्ञान, सीप नभएकाले उनलाई घाटा लाग्ला भन्ने ठूलो डर थियो । तर, उनले पशु प्राविधिकसँगको सल्लाहमा घोराहीको रतनपुरमा पालेका लेयर्स कुखुराले राम्रो आम्दानी दियो । उनी अहिले कुखुरापालनमै रमाएका छन् ।

दाङमा पाँच वर्ष कुखुरापालन व्यवसाय गरेर राम्रो आम्दानी भो,’ पाठकले भने, ‘त्यसले दाङमै घरघडेरीसमेत जोडियो ।’ दाङमा कुखुरा पाल्न पाँच वर्षका लागि लिजमा लिएको जग्गाको म्याद सकिएपछि उनी प्यूठान नगरपालिका ४ स्थित खडडेराको आफ्नै खेतमा व्यवसाय गर्न खोरलगायत भौतिक पूर्वाधार निर्माण गर्दैछन् । ‘बस्ती धेरै बाक्लो नभएको खुला स्थान कुखुरापालनका लागि उपयुक्त ठाउँ रहेछ,’ उनले भने, ‘जग्गाको भाडा तिर्न नपर्ने र प्यूठानमा अण्डाको राम्रो बजार देखेर यतै व्यवसाय गर्ने सोच बनाएको हुँ।’ चार हजार लेयर्स पाल्न सक्ने भौतिक पूर्वाधार निर्माण गरिरहेको पाठकले बताए ।

उनी मात्र नभएर जिल्लामा पछिल्लो समय धेरै युवा व्यावसायिक कुखुरापालनमा लागेका छन् । जिल्लामा गाउँदेखि सहरसम्म ब्रोइलर कुखुरा पाल्ने किसान धेरै छन् । प्यूठान नगरपालिका २ दाखाक्वाडीका किसान मुक्ति पोख्रेलले कुखुरापालन गरेर वर्षमा ३० लाखभन्दा बढी आम्दानी गर्ने गरेको सुनाए । उनले ६ वर्षदेखि ६ हजार लेयर्स पाल्दै आएका छन् । सुरुमा संयुक्त लगानीमा व्यवसाय थालेका पोख्रेलले अहिले एक्लै गर्छन् । उनको दाना मिलसमेत सञ्चालित छ । सरुमारानी गाउँपालिकाको बांगेसाल क्षेत्र कुखुरा व्यवसायको पकेट क्षेत्र नै बनेको छ ।

दशकयतादेखि ठूलो लगानीमा लेयर्स र ब्रोइलर फार्म खोल्ने किसान बढेका छन् । व्यवसाय फस्टाउँदै गएपछि पोल्ट्री व्यवसायमा लगानी गर्ने जिल्लामा बढेका छन् । जिल्लामा अहिले करोडौं लगानीमा दर्जनभन्दा बढी पोल्ट्री फार्म सञ्चालनमा छ । यसले गर्दा प्यूठान कुखुराको मासु र अण्डामा आत्मनिर्भर भइसकेको छ । जिल्ला पशुसेवाका अनुसार तीन सयभन्दा बढी कुखुरापालक किसान यहाँ छन् ।

सरुमारानी १ बांगेसालका टंक जीसीले १ करोड १० लाख रुपैयाँ लगानीमा गौरा पोल्ट्री फार्म सञ्चालन गरेका छन् । उनको फार्म १० रोपनी जग्गामा फैलिएको छ । दुईवटा खोरसहित दाना मिलसमेत चलाएका जीसीको फार्ममा झन्डै नौ हजार कुखुरा छन् । यहाँ उत्पादन भएका अण्डा प्यूठान र रोल्पाका बजारसहित अर्घाखाँची, गुल्मी, दाङ र बुटवलसम्म पुग्ने गरेको जीसीले बताए ।

बांगेसालमै ब्रोइलर कुखुरा पाल्न अर्को एकता पोल्ट्री फार्म खुलेको छ । स्थानीय चार उद्यमी मिलेर फार्ममा ५० लाख लगानी गरेका छन् । सुविधासम्पन्न भौतिक पूर्वाधार रहेको फार्मका लागि आठ रोपनी जग्गा लिजमा लिइएको छ । एकैसाथ ७ हजार ५ सय चल्ला राखेर कुखुरा उत्पादन गरिरहेको फार्मका सञ्चालक प्रकाश आचार्यले बताए ।

त्यस्तै बांगेसालमै झिमरुक पोल्ट्री फार्म सुरु गरिएको छ । वैदेशिक रोजगारबाट फर्केका चार मुस्लिम युवा मिलेर लाखौंको लगानीमा कुखुरापालन सुरु गरेका हुन् । सरुमारानी गाउँपालिकाको १ र २ नम्बर वडामा मात्रै ब्रोइलर र लेयर्सका दुई दर्जनभन्दा बढी फार्म रहेको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए । अण्डा राख्ने क्रेट उद्योगसमेत खुलेको छ ।

पश्चिम क्षेत्रका कुखुरापालक व्यवसायीलाई लक्षित गरी नौ वर्षअघि खोलिएको यो उद्योगमा दैनिक आठ हजारभन्दा बढी क्रेट उत्पादन हुन्छ । पोल्टी फार्मले उद्योगबाट क्रेट किनेर लैजाने गरेका छन् । एक करोड रुपैयाँको लागतमा उद्योग खोलिएको सञ्चालक धनबहादुर रायमाझीले बताए । यस्तै मध्य तथा सुदूरपश्चिमकै पहिलो र ठूलो राप्ती फिड एन्ड ह्याचरी प्रालि प्यूठानमै खुलेको छ । यसमा चल्ला उत्पादनका लागि १० हजार प्यारेन्ट जातका कुखुरा पालिएका छन् ।

०६७ सालमा चार जनाको साझेदारीमा उद्योग खोलिएको थियो । दैनिक ३ हजार ५ सयसम्म चल्ला उत्पादन हुने गरेको व्यवस्थापक धर्मराज भण्डारीले बताए । लेयर्स र ब्रोइलर कुखुरापालनमा किसानले ८० करोडभन्दा बढी लगानी गरिसकेको जिल्ला पशुसेवा कार्यालयको अनुमान छ ।

प्रकाशित : श्रावण ३१, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?