२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

रोजाइमा पार्लर र बुटिक

करिश्मा चौधरी

बाँके — माया चौधरी पार्लरबाट मासिक ३० हजार रुपैयाँसम्म आम्दानी गर्छिन् । विवाह तथा चाडपर्वको सिजनमा अझै बढी हुन्छ । डेढ वर्षअघि पार्लर खोलेकी माया आफ्नो व्यवसायबाट औधी सन्तुष्ट छिन् । १ लाख ५० हजार लगानीबाट पार्लर सुरु गरेको उनले बताइन् ।

रोजाइमा पार्लर र बुटिक

मायाले आफैं पसल चलाउँछु भन्ने सोचेको पनि थिइनन् । तर, सिक्ने इच्छा भने उनमा थियो । एक वर्ष तालिम लिएपछि उनले एक पार्लरमा काम गरिन् । आफैं लगानी गर्न सक्ने भएपछि भने मायाले आफ्नै पार्लर खोल्ने सोच बनाइन् । त्यसमा उनलाई श्रीमान्को साथ रह्यो । ‘परिवारको साथ पाएपछि व्यवसायमा जुटें,’ मायाले भनिन्, ‘सुरुमा त धेरै गाह्रो भयो । अहिले सजिलै छ । व्यवसाय पहिलेभन्दा दुई गुणा राम्रो भएको छ ।’ पछिल्लो समय पार्लर र बुटिक सञ्चालनमा यहाँका महिलाको आकर्षण बढेको छ । व्यवसाय गर्न चाहने महिलामा आधाभन्दा धेरैको रोजाइ पार्लर र बुटिकमा रहेको छ । अरू व्यवसायमा महिला कम रहेको नेपालगन्ज उद्योग वाणिज्य संघकी उपमहासचिव तारा रोकाय बताउँछिन् ।

सानैदेखि फेसन डिजाइनमा इच्छा राख्ने गीता लामिछानेले केही महिनाअघि मात्रै बुटिक खोलेकी हुन् । इच्छा पहिलेदेखि नै भए पनि लगानीको वातावरण नहुँदा गीताको इच्छा पूरा हुन सकेको थिएन । अहिले परिवारको साथ पाएपछि भने गीताले ढिला नगरी बुटिक खोलेकी हुन् । उनको बुटिकमा एक कालिगढ पनि छन् । सुरुवातमै रहेकाले अहिले नै नाफाभन्दा पनि सेवा बढाउन लागेको गीताले सुनाइन् ।

उनका अनुसार महिलालाई सफल व्यवसायी बन्न परिवारको सहयोग, लगानीको वातावरण र बजार स्थिति सबै अनुकूल हुनुपर्छ । ‘व्यवसाय गर्न महिलालाई धेरै चुनौती छन् । व्यवसायसँगै घरको काममा पनि समय दिनुपर्ने हुन्छ,’ उनले भनिन्, ‘त्यसले गर्दा महिलालाई बढी चुनौती छ ।’ धेरै बुटिकका बीचमा प्रतिस्पर्धा गरी काम गर्नु गीताले अर्को चुनौती मानेकी छन् । तर, आफ्नो इच्छा भएकाले अरूभन्दा राम्रो गर्न सक्छु भन्ने विश्वास लागेको उनले सुनाइन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघमा अहिले ३ सय ५० महिला आबद्ध छन् । महिला व्यवसायीलाई अझै पनि घर र समाजले विश्वास कम गर्ने समस्या छ । घरमा पनि समय दिनुपर्ने हुँदा महिलाले व्यवसायमा पर्याप्त समय दिन सक्दैनन् । तर, अनेक समस्या भोगेर पनि यहाँका महिला व्यवसायमा भने सफल भइरहेका छन् ।

पछिल्लो समय नेपालगन्जमा महिला व्यवसायीको संख्या बढेको छ । त्यसमा पनि पार्लर र बुटिक खोल्नेमा महिलाको होड नै चलेको छ । ‘पहिले त महिला व्यवसायी खोज्नु पथ्र्यो । अहिले संख्या बढेको छ,’ नेपालगन्ज उद्योग वाणिज्य संघकी उपमहासचिव तारा रोकायले भनिन्, ‘यहाँका धेरैजसो महिलाको रोजाइ भने पार्लर र बुटिक बनेका छन् ।’

प्रकाशित : भाद्र १, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?