२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पहिरोको डरले जाग्राम

पुँजाको वाग्लिबाङ र जाडगाउँका ३३ घर पहिरोको उच्च जोखिममा छन् । कतै जाने उपाए नभएपछि स्थानीय जोखिम ठाउमै बसिरहेका छन् ।

गौमुखी (प्यूठान) — गौमुखी गाउँपालिका–४ पुँजा बाग्लिबाङका पहिरोपीडित बिहीबार १० नबज्दै गाउँपालिका कार्यालय ठूलाबेंसी आइपुगे । मंगलबार रातिबाट अविरल वर्षासँगै आएको पहिरोले गाउँमा ठूलो क्षति पुर्‍याएपछि उनीहरू सहयोग माग्न आएका हुन् ।

पहिरोको डरले जाग्राम

विपतका बेला स्थानीय सरकारबाट सहयोग पाइने भन्दै शेरबहादुर नेपालीको नेतृत्वमा सात जना स्थानीय गाउँपालिका कार्यालय आएका छन । प्रहरीका अनुसार बस्तीको माथि र तलबाट पहिरो जान थालेपछि ३३ घर उच्च जोखिममा छन् । पहिरोको डरले स्थानीय रातभर जाग्राम बस्न बाध्य भएका छन् ।

कार्यकक्षमै रहेका गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीलाई उनीहरूले पहिरोले सबैतिरबाट गाउँ घेरेको जानकारी गराए । पानी पर्न रोकिएको छैन । कतिखेर बगाउने हो भन्ने ठेगान छैन । गाउँमाथिका ससाना खोल्साखोल्सीबाट ठूल्ठूला मूल फुटेर माटोसँगैको लेदो आउन नरोकिएपछि स्थानीय त्रस्त छन् ।

‘उठिवास लगाउन थाल्यो,’ स्थानीय बोमबहादुर सुनारले भने, ‘भएभरको जमिनमा चिरा पर्‍यो । थातथलो छाडेर कहाँ जानू ?’ उनले जताततै पहिरो गएको बताए । मकै बाली नष्ट भएको सुनाए । ‘गाउँभरि पहिरो छ, कता भागेर ज्यान जोगाउनु ?,’ स्थानीय गीतादेवी सुनारले भनिन्, ‘पानी पर्नेबित्तिकै पहिरो झर्छ । पुरिने डरले मन आत्तिन्छ ।’ मंगलबार राति आएको पहिरोले घर पुरेको बताउँदै छोराछोरी लिएर भागेकाले ज्यान जोगिएको उनले सुनाइन् । आफू र छिमेकीको घर पहिरोले पुरेपछि अहिले स्थानीय विद्यालयमा आश्रय लिएकी छन् ।

‘गाउँका धेरै घर जोखिममा छन्,’ स्थानीय तुलसा सुनारले भनिन्, ‘आँखैअगाडि छिमेकीलाई पुर्‍यो ।’ पहिरोले पुरेर स्थानीय झलबहादुर सुनारको मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ । विकासमा पछाडि परेको बस्ती भएकाले कतै जाने उपाए नभएकाले जोखिम रहेकै स्थानमा बस्न बाध्य भएको स्थानीय बताउँछन् । प्राविधिक टोली पठाएर जोखिम क्षेत्रको अवलोकन गरी सुरक्षित स्थानको पहिचान गर्नमा गाउँपालिकाको सहयोगको स्थानीयले आशा गरेका छन् । बाग्लिबाङ र जाडगाउँका स्थानीय पहिरोको जोखिमको त्रासले अधिकांशले रातको समयमा घर छाडेर विद्यालय र खुला चौरमा रात बिताइरहेको विषयलाई गाउँपालिकाले गम्भीर रूपमा लिएको अध्यक्ष गिरीले बताए ।

तत्कालका लागि पीडितलाई सुरक्षित स्थानमा कसरी बसाल्न सकिन्छ भन्ने कुरामा योजना बनाउन लागेको गिरीको भनाइ छ । ‘पहिरोले गर्दा गाउँमा आउजाउ गर्न पनि मुस्किल छ,’ उनले भने, ‘राहतसमेत गाउँमा पुर्‍याउन सक्ने अवस्था छैन ।’ उनले ठूलाबेंसीबाट जाडगाउँ तीन घण्टाको दूरीमा रहे पनि वर्षाका कारण पाँच घण्टा लाग्ने गरेको सुनाए ।

तत्कालै गाउँ कार्यपालिकाको बैठक बसेर घोरेटो बाटो निर्माण र राहतको विषयमा निर्णय लिने उनले बताए । गाउँपालिकाले पहिरोको समस्याबारे प्रदेशदेखि केन्द्र सरकारसँग राहत र पुन:स्थापनाका लागि पहल थालेको छ ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले भत्किएका घर निर्माण गर्न र जोखिममा रहेका घरको स्थानान्तरण गराउने कुरामा गृह मन्त्रालयसँग कुरा गरिरहेको बताए । मंगलबार राति परेको अविरल वर्षापछि आएको पहिरोले जाडगाउँका देवबहादुर र रेशम सुनारको घरगोठ पहिरोले बगाएको थियो । स्थानीय ३२ वर्षे झलकबहादुर सुनारको पुरिएर मृत्यु भएको छ । एक दर्जन पशु चौपाया मरेका छन् ।

प्रकाशित : भाद्र २, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?