१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नियमित गर्भ जाँच गरे अण्डा

गर्भवतीले ४, ६, ८ र ९ औं महिनामा स्वास्थ्य संस्थामा जाँच गराए एक क्यारेट अण्डा सित्तैमा
माधव अर्याल

पूर्वखोला (पाल्पा) — पूर्वखोला गाउँपालिका ५ वीरकोटकी संगीता सारूले एक क्यारेट अण्डा सित्तैमा पाइन् । उनले यसरी अण्डा पाइएला भन्ने कल्पना गरेकी थिइनन् ।

नियमित गर्भ जाँच गरे अण्डा

चारपटक नियमित गर्भ जाँच गरेकी उनले अन्तिम साता अण्डा पाएकी हुन् । पूर्वखोला गाउँपालिकाको अभियानअन्तर्गत सहभागी उनीसमेत तीन जनाले पहिलोपटक एक–एक क्यारेट अण्डा पाएका थिए ।

नियमित गर्भ जाँच गराउन नआउने र घरमै सुत्केरी हुने बढेपछि गाउँपालिकाले अभियान चलाएको हो । अभियानअन्तर्गत गर्भवतीले ४, ६, ८ र ९ महिनामा चारपटक स्वास्थ्य संस्थामा जाँच गराउन आउनुपर्छ । यसअघि गाउँपालिकाले सबै वडामा बर्थिङ सेन्टर सुरु गरेको छ ।

‘यसरी सित्तैमा अण्डा पाउने कुरा मलाई थाहा थिएन,’ उनले भनिन्, ‘यसले अरू गर्भवती महिलालाई पनि हौसला मिल्नेछ ।’ चारपटक गर्भ जाँच गराएर अन्तिम साताका सुसिता रुचाल र विनाकुमारी आलेले पनि अण्डा पाए । ‘सुत्केरी हुने समय आउन लागेको छ,’ वीरकोटकै रुचालले भनिन्, ‘यही बेलामा पोषिलो खानेकुरा पाइएको छ ।’ उनका अनुसार अरू गर्भवतीलाई पनि यो कुरा जानकारी गराउनुपर्छ ।

गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले सिंगो गाउँपालिकाका गर्भवती महिलालाई ‘शून्य घर सुत्केरी’ बनाउन आकर्षित गर्न पनि अण्डा दिने अभियान थालेको बताए । गाउँपालिकाको अभियान वीरकोटबाट सुरु भएको हो । ‘घरमै सुत्केरी हुनेलाई स्वास्थ्य संस्थासम्म ल्याउन यसले मद्दत गर्छ भन्ने लागेको छ,’ उनले भने, ‘त्यसैले अण्डा दिन थालिएको हो ।’ गाउँपालिकामा ६ वडा छन् ।

त्यसरी आउनेलाई अन्तिम सातामा एक क्यारेट अण्डा दिएर पठाउने अभियान चलाएको हो । गर्भवती भएका महिलालाई पोषिलो खानेकुरा खानका लागि यसले सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पौडेलले बताए । अझै पनि घरमै सुत्केरी हुने र स्वास्थ्य संस्थासम्म नआउने प्रचलन गाउँपालिकाका प्राय: सबै वडामा छ । ‘त्यसैले पनि हाम्रो अभियानले केही भए पनि सहयोग पुग्लाजस्तो लाग्छ,’ उनले भने, ‘सबै वडामा अभियान सुरु भइसकेको छ ।’

गर्भावस्थामा स्वास्थ्य परीक्षणको महत्त्व बढी हुन्छ । अभियानले लक्षित समुदायलाई उत्साही गराउने गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले बताए । ‘नियमित गर्भजाँचले महिला र बच्चा दुवैको स्वास्थ्यका लागि सहयोग पुग्नेछ,’ उनले भने, ‘त्यसैले गाउँपालिकाको अभियानले सार्थकता पाउने विश्वास लिएका छौं ।’ उनका अनुसार गाउँपालिकाले चालु आर्थिक वर्षमा एक लाख बजेट अण्डा वितरणका लागि छुट्याएको छ ।

वीरकोट हुँदै हेक्लाङ, सिलुवा, देवीनगर, जल्पा, रिङनेरहमा पनि अण्डा वितरण हुनेछ । पूर्वखोला ५ वीरकोटका वडाध्यक्ष धनबहादुर सिंजालीले अझै पनि गाउँमै बस्ने र स्वास्थ्य जाँच नगराउने बानी रहेको बताए । ‘त्यही बानी हटाउन विभिन्न अभियान थालेका छौं,’ उनले भने, ‘घरमै सुत्केरी हुँदा आमा र बच्चा दुवैलाई जोखिम छ भन्ने चेतना फैलाउन थालिएकाले आगामी दिनमा घरमा सुत्केरी हुँदैनन् भन्ने लागेको छ ।’

वीरकोट स्वास्थचौकी प्रमुख नर्भुफुर्वा दोर्जेले भौगोलिक विकटताका कारण पनि अझैसम्म घरमै सुत्केरी हुनेको संख्या आधा नै रहेको बताए । ‘यस वर्षबाट धेरै कमी हुने आशा लिइएको छ,’ उनले भने, ‘सबै टोल र बस्तीमा पुगेर सचेतना चलाइएको छ ।’

गाउँपालिकाको अभियान सफल पार्न कर्मचारीसमेत घरघरमै पुगेर सुत्केरी खोजी गर्ने र उनीहरूलाई स्वास्थ्य संस्थामा गएर सुत्केरी हुन आग्रह गर्ने गरेका छन् । दोर्जेका अनुसार अघिल्लो आर्थिक वर्षमा ३८ जना घरमै सुत्केरी भएका छन् । ३० जना स्वास्थ्यचौकीमा आएर सुत्केरी भएका थिए । ‘भौगोलिक विकटताका कारण समस्या भएको छ,’ उनले भने, ‘बाटोमै सुत्केरी हुने समस्या पनि बढी छ ।’ घरबाट तीन/चार घण्टा हिँडेर स्वास्थ्य संस्थामा पुग्नुपर्ने बाध्यता छ ।

सिलुवामा बर्थिङ सेन्टर सुरु भएको पाँच वर्ष भइसक्यो । तर, अझै पनि घरमा सुत्केरी हुनेको संख्या अधिक छ । चालु आर्थिक वर्षमा २३ जना घरमै सुत्केरी भएका छन् । दुई वर्षअघि सुत्केरी हुन नसकेर सिलुवामा आमा र बच्चाको मृत्यु भएको थियो । ‘घरमै सुत्केरी हुने प्रथालाई अन्त्य गर्नुपर्छ भन्ने मान्यता राखेर काम गरेका छौं,’ जल्पाका वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता नीरबहादुर सारूले भने, ‘स्वास्थ्यचौकीमा जाँदा हुने फाइदाका बारेमा जनचेतना अभियान चालेका छौं ।’

स्वास्थ्यचौकीमा सुत्केरी हुँदा थप १ हजार यातायात खर्च पाउँछन् । चौथो, छैटौं, आठांै र नवौं महिनामा स्वास्थ्य जाँच गरेको चार सय पाउने व्यवस्था छ । यस्तै न्यानो झोला र गाउँपालिकाले थप ६ सय रुपैयाँ दिने गरेको छ ।

प्रकाशित : भाद्र २, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?