कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

अभिभावकबिना बालबालिकालाई भारत जान नदिइने

ठाकुरसिंह थारू

नेपालगन्ज — खेतीपाती सकिएपछि देखासिकीमै भारत जाने बालबालिकाको संख्या बढ्न थालेको छ । बीचमै पढाइ छोडेका र आमाबुबा भारतमा रहेका बालबालिका कामको खोजीमा भारत पस्ने गरेका हुन् । 

अभिभावकबिना बालबालिकालाई भारत जान नदिइने

सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहाले त्यस्ता बालबालिकालाई सीमामा रोक्ने गरेको छ । अभिभावकलाई मोबाइल सम्पर्क गर्दा उनीहरूले आफ्ना छोरोछोरीलाई काम गर्न जान दिन अनुरोध गर्ने गरेको प्रहरीको दाबी छ ।


‘हामीले अभिभावकबिना बालबालिकालाई एक्लै भारत जान दिंदैनौं । सीमामा रोकेर अभिभावकको जिम्मा लगाउँछौं,’ सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी नायब निरीक्षक शिव वलीले भने, ‘भारतमा रहेका अभिभावकले फोन गरेर किन आउन नदिएको भन्दै उल्टै विवाद गर्छन् ।’ नेपालगन्ज नाकाबाट दैनिकजसो बालबालिका भारत जाने गरेका छन् ।


अभिभावकको आग्रहमा नेपाल प्रहरीले उनीहरूलाई जान दियो भने पनि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले रोकेर फिर्ता पठाउने गरेको छ । भारतबाट मजदुरी गरेर गाउँ फर्केका युवाको मोबाइल, लबाइ–खवाइ देखेर बालबालिका त्यसकै प्रलोभनमा पर्ने गर्छन् र भारत पस्ने गरेका हुन् । भारतमा मजदुरी गरेर राम्रो कमाइ हुने भ्रम गाउँमा छ । बढीजसो कर्णाली प्रदेशका बालबालिका काम खोज्दै भारत पुग्छन् । कतिपय बालबालिका विद्यालयबाटै भागेर भारत पुग्छन् ।


सीमास्थित माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाका अनुसार नेपालगन्ज नाकाबाट भागेरै भारत जाने बालबालिकाको संख्या बढदै गएको छ । गएको आर्थिक वर्षमा जोखिमपूर्ण यात्रामा रहेका १८ वर्षमुनिका २ सय ४५ बालिका र २३ बालक एवं १८ वर्षभन्दा माथिका २ सय ८८ गरी जम्मा ५ सय ५६ लाई सीमाबाट उद्धार गरिएको छ ।


हराएको भन्दै खोजतलासका लागि ५ सय ४२ निवेदन परेका छन् । त्यसमध्ये १८ वर्षमुनिका २ सय ८१ बालबालिका छन् । प्रलोभनमा पारेर भारत जाने बालबालिका बेचबिखनमा पर्ने सम्भावना उत्तिकै छ । त्यसरी भारत पुगिसकेका बालबालिकालाई भारतबाट उद्दार गर्न कानुनी जटिलता छ । दुई मुलुकको केन्द्रीय सरकारको पहलमा मात्रै उद्दार गर्न सक्ने भएकाले समस्या भएको हो ।

प्रकाशित : भाद्र २, २०७५ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?