कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

मदिराले चिन्ता

काशीराम डाँगी

रोल्पा — आफ्नो सीमा क्षेत्रभित्र सामान आयात गर्दा धेरै जनप्रतिनिधिलाई ‘कर’ वृद्धि गर्ने योजना फुर्छ । आन्तरिक स्रोत वृद्धि गर्न हरेक वस्तुमा कर लगाउने प्रतिस्पर्धा नै छ ।

मदिराले चिन्ता

तर, रोल्पा नगरपालिका १०, धबाङका अध्यक्ष मानबहादुर खत्री दैनिक रूपमा वडाभित्र सामान भित्र्याउने भन्दा पनि कसरी सामान ल्याउन नदिने भन्ने चिन्तामा छन् ।

नगरपालिकाको वडा १० सदरमुकाम लिबाङसँगै जोडिएको छ । नुनदेखि सुनसम्म किन्न वडावासी लिबाङमै आउनुपर्छ । आफंैले उत्पादन गरेका कृषिजन्य सामग्री बेच्न पनि उनीहरू सदरमुकाममै पुग्नुपर्छ । दैनिक कारोबार र व्यापारका लागि गाउँलेलाई लिबाङ नगई हुँदैन । जिल्लाकै चर्चित धार्मिक पर्यटकीय स्थल जलजलाको काखैमुनि रहेको धबाङ गाउँसम्म लिबाङबाट सडक पुर्‍याउने कार्य वर्षौंदेखि जारी छ । तर, सर्वसाधारणका लागि त्यो सडक पूर्ण रूपमा उपयोगी बन्न भने सकेको छैन ।

गाउँको ठूलो समस्या दिनहुँ प्रयोग हुने मदिरा हो । त्यसैले अध्यक्ष खत्री गाउँमा मदिरा भित्र्याउनै नदिने योजनामा छन् । ‘मदिरा भित्र्याउन नदिने योजनामा छु,’ उनले भने, ‘मदिराले गाउँको विकासमै अवरोध गर्‍यो, धेरैको ज्यान नै लियो ।’ मदिरा सेवनकै कारण बर्सेनि आपराधिक घटना वृद्धि भएको उनको दाबी छ । स्थानीयले गाउँसम्मै सदरमुकाम लिबाङबाट आयातीत र लहरीखोला बजारबाट घरेलु मदिरा ओसार्छन् । गाउँमा उत्पादन गरिने घरेलु मदिराले नपुगेर सदरमुकामबाट घरेलु मदिरा गाउँ पुर्‍याइन्छ । भित्री गाउँमा बग्रेल्ती खोलिएका पसल र होटल मदिराले नै भरिएका छन् ।

वडा सदस्य एवं विद्यार्थी नेता शेरबहादुर थापाका अनुसार मदिरा सेवनकै कारण गाउँमा बर्सेनि आत्महत्या र आपराधिक गतिविधि बढदो छ । ‘धबाङमा मात्रै दैनिक ३ सय लिटरभन्दा बढी मदिरा भित्रिन्छ,’ उनले भने, ‘मदिराको अत्यधिक प्रयोगले आर्थिक क्षतिसँगै स्वास्थ्य र आपराधिक गतिविधिमा समेत असर गरेको छ ।’ यसअघि धेरैपटक मदिरा प्रयोगमा रोक लगाउने प्रयास गरे पनि सफलता नमिलेको उनले सुनाए ।

गाउँमा बनाएको मदिराले नपुगेर दैनिक सयौं लिटर भित्रिन थालेपछि चिन्ता बढेको स्थानीयको भनाइ छ । गाउँका अगुवा कृषक ऋषिराम रोका मदिरा सेवनले समस्या निम्तिएको बताउँछन् । धबाङमा सबैभन्दा बढी मगर समुदायको बसोबास छ । मुख्य गरी मगर र दलितमा चाडपर्व र पारिवारिक संस्कारका बेला मदिराको प्रयोगलाई अनिवार्य मानिन्छ ।

अहिले क्षत्रीले समेत मदिराको प्रयोग गर्छन् । धबाङका धाङ्सी, गापा, सुनबाङ, भनभने, लकमारे धारा र साउनेपानीलगायत गाउँमा मदिराको प्रयोग अत्यधिक छ । गाउँ भित्रिने मदिरा निकै कमसल छ । ‘सस्तो खोज्ने भएकाले कमसल मदिरा गाउँ पुर्‍याइन्छ,’ थापाले भने, ‘मदिरा प्रयोग रोक्नु जनप्रतिनिधिको पहिलो कार्य भएको छ ।’

पूर्वी रोल्पाको पाङमा केही समयअघि मदिरा प्रयोगमा पूर्ण बन्देज लगाइएको थियो । अहिले निरन्तरता दिने प्रयास जारी छ । मदिरा नियन्त्रण अभियान चलाएका परिवर्तन गाउँपालिका ४ का अध्यक्ष सुकबहादुर बुढाले आफ्नो गाउँ राङकोटमा प्रयास सफल हुँदै गएको बताए । प्रहरी नायब उपरीक्षक दीपक खड्काले घरेलु मदिरा नियन्त्रणबारे छलफल भइरहेको बताए ।

प्रहरीका अनुसार अत्यधिक मदिरा सेवनबाट जिल्लाभर बर्सेनि ६० भन्दा बढी आत्महत्याका घटना भइरहेका छन् । ‘गाउँका चौकीमा दैनिक हुने छलफल मदिराकै कारण हुन्छन्,’ उनले भने, ‘अपराध र घरेलु हिंसा पनि त्यस्तै बढ्दो छ ।’

प्रकाशित : भाद्र ३, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?