२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

ठूलाबेंसीमा कटानको डरैडर

प्यूठान — गौमुखी गाउँपालिकाको केन्द्र ठूलाबेंसी बजार बाढीको उच्च जोखिममा परेको छ । गौमुखीे र रजबारा खोला मिसिएर बनेको झिमरुक नदीमा आउने बाढीले बजारमा बर्खैभरि त्रास हुन्छ ।

ठूलाबेंसीमा कटानको डरैडर

दुई वर्षअघि बजार क्षेत्रमै बाढी पसेको ठूलाबेंसीवासीले अझै बिर्सेका छैनन् । ०७३ साउन ११ गते आएको बाढी बजारमा छताछुल्ल भएको थियो । बर्खा लागेसँगै बजारमा जम्मा भयो कि बाढीको कुरा चलाइहाल्छन् । बजार जोखिममा रहेकाले पानी परेपछि सुरक्षित ठाउँ खोज्ने कुरा स्थानीयको हुन्छ । तर, सर्ने सुरक्षित स्थान भेटिएको छैन ।

पुँजा जाने झोलुंगे पुलनजिकै नदीजन्य पदार्थ थुप्रिएका कारण नदी अग्लिएको र बजारमा पसेको स्थानीय जनक केसीले बताए । ‘नदी अग्लिँदै गएको छ,’ उनले भने, ‘खोलो बजारको सतह बराबर हुन थालिसक्यो । कति बेला पस्ने भन्ने डर छ ।’

गत वर्षबाट जल उत्पन्न प्रकोप डिभिजन विकास कार्यालयमार्फत बाढी नियन्त्रणका लागि केही तारजाली लगाउन सुरु गरिए पनि ठूलाबेंसी बजार सुरक्षित नरहेको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले बताए । प्रमुख जिल्ला अधिकारीसँग ठूलाबेंसी बजार जोखिममा रहेकाले थप तटबन्धन व्यवस्थाका लागि अनुरोध गरिएको गिरीले बताए । गाउँपालिका कार्यालय रहेको घर त झनै जोखिममा छ ।

गिरीका अनुसार विभिन्न क्षेत्रबाट ठूलाबेंसी झरेर व्यापार व्यवसाय गर्ने सयभन्दा बढी परिवार बाढीको जोखिममा छन् । जिल्लाबाट ठूलाबेंसी पुग्ने सामाजिक अगुवाले ठूलाबेंसी बजार पहिरो र बाढीको जोखिम रहेको औंल्याए पनि रोकथाम र नियन्त्रणको ठोस काम नभएको स्थानीयको गुनासो छ ।

झिमरुक नदीको किनार खुङ र पुँजा डाँडाको खोचमा ठूलाबेंसी बजार छ । डाँडाबाट आएको ढुंगा, माटोसहितको लेदो ठूलाबेसी बजारमा पस्ने डर छ । वर्षातसँगै बढ्ने झिमरुकको बाढीले ठूलाबेंसीवासीलाई सधैं त्रास दिइरहेको स्थानीय शिक्षक जागेश्वर जैसीले बताए ।

प्रकाशित : भाद्र ५, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?