कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बहाव खोसिँदा जोखिम बढ्दै

तिनाउ नदी अतिक्रमणले सानो बाढी आयो कि भौतिक र मानवीय क्षति निम्त्याउँछ
अमृता अनमोल

बुटवल — सामान्यतया नदीको पुलमुनि पानी हुन्छ र हुनुपर्छ । तर, बुटवलमा रहेको पूर्व–पश्चिम राजमार्गको तिनाउ पुलमुनि भने बस्ती छ । नदीको बहाव क्षेत्र रोकेरै बस्ती बस्दा सानो बाढी आयो कि भौतिक र मानवीय क्षति हुन्छ ।

बहाव खोसिँदा जोखिम बढ्दै

दुई वर्षअघि आएको बाढीले १४ घर बगायो, २१ परिवार विस्थापित भए । वर्षा सकियो, विस्थापित पुन: फर्केर आए । ‘अन्त जग्गा जमिन छैन, यहाँ बस्दा भाडा तिर्न पर्दैन,’ काँडाघारीकी मीना तामाङले भनिन्, ‘यसैले मरे मरिएला भनेर यहीं बसेका छौं ।’

नदीको बहाव नै छेकेर बस्ती बस्दा र जोखिम निम्तिँदा पनि स्थानीय सरकार मौन छ । पहिले बसेको बस्ती भएकाले तत्काल हटाउन नसकिने बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताए । ‘जनप्रतिनिधि नआउँदैदेखि बसेको हो,’ उनले भने, ‘जस्तो जोखिम भए पनि तत्काल हटाउन सक्ने अवस्था छैन ।’ दीर्घकालीन योजनाका लागि काम गरिरहेको उनले बताए ।

चुरे क्षेत्रबाट भेल लिएर आउने तिनाउ नदीलाई २ सय ३७ मिटर फराकिलो बहाव क्षेत्र आवश्यक छ । जोखिम क्षेत्रमा हुने वर्षा, बाढीको अवस्थालगायत अध्ययन गरी विज्ञले बहाव क्षेत्र निर्धारण गरेका हुन् । तर, तिनाउ पुलमुनिको काँडेघारी बस्तीजस्तै बुटवलका बुद्धनगर, टपमजुवा, सुन्दरनगरलगायत बस्ती तिनाउको बहाव क्षेत्र नै छेकेर बसेका छन् ।

यो क्षेत्रमा नदीको बहाव मुस्किलले ५० देखि ७० मिटर मात्रै छ । बहाव क्षेत्र मिचिँदा नदी व्यवस्थापनमा करोडौं रुपैयाँ खर्च गरे पनि क्षति रोकिएको छैन । धेरै ठाउँमा नदीकिनार ढाकेका बस्ती जोगाउनकै लागि तटबन्ध भएको छ । यसले नदी नहरजस्तै साँघुरो छ ।

तिनाउ र दानव नदी छुट्टिने विन्दुमा रहेको टप मजुवा बस्तीमा जनताका घर बचाउने ढंगले तटबन्ध गरियो । जसरी पनि बस्ती जोगाएर काम गर्दा प्रभावकारी नभएको तत्कालीन कार्यरत इन्जिनियर भरत सापकोटाले बताए । निर्देशन नै त्यस किसिमको भएकाले बस्ती नहटाएसम्म नदी नियन्त्रण प्रभावकारी नहुने जान्दाजान्दै काम गरेको उनको दाबी छ । तिनाउ नदी किनारकै मजुवा बस्ती जोगाउन १२ वर्षअघि चार तपाहा नहरको किनारमा लाखौं खर्चेर तटबन्ध गरिएको थियो ।

बुटवलदेखि तिलोत्तमासम्मको नदीको बहाव क्षेत्रमा करिब चार हजार घर टहरा छन् । तिनाउ र दानवको कटानलाई रोक्न सञ्चालन भएको जनताको तटबन्ध कार्यक्रमले चार वर्षअघि खयरघारीमा गरेको तटबन्ध भत्कियो । नदी गहिरिएर संरचना भत्किन थालेपछि बुटवलको आठ किलोमिटर क्षेत्रमा नदी उकास्न काम गरेको थियो । तर, दुई वर्षअघि देवीनगरको झोलुंगे पुल बगायो । इन्जिनियर सापकोटाले भने, ‘नदीको बहाव छेकेर बसेका बस्ती हटाउन नसके तटबन्धमा जति नै खर्च गरे पनि दिगो व्यवस्थापन हुँदैन ।’

जोखिम क्षेत्रमा बस्ती बसेपछि त्यसको विकल्प निकाल्न बुटवल उपमहानगरपालिकाले निकालेको तथ्यांकमा १६ हजार १ सय ९३ घर सार्वजनिक क्षेत्रमा छन् । तीमध्ये करिब ५० प्रतिशत घर तिनाउ र दानव नदी अतिक्रमण गरी बनेका छन् ।

प्रकाशित : भाद्र ५, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?