कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नगरमा अवैज्ञानिक कर

कर नघटाए आन्दोलन गर्छौं : स्थानीय
आवाज उठे घटाउनुपर्ला : नगर उपप्रमुख
वीरेन्द्र केसी

अर्घाखाँची — भूमिकास्थान नगरपालिकाले अचाक्ली कर निर्धारण गरेको छ । यहाँका बासिन्दाको मुख्य आम्दानीको स्रोत भारतीय सेनामा भर्ती र वैदेशिक रोजगार हो ।

नगरमा अवैज्ञानिक कर

कृषि र पशुपालनमा सम्भावना बोकेको भए पनि नगरपालिकाले उत्पादनमूलक क्षेत्रमा न्यून बजेट विनियोजन गरेको छ । तर, कर धेरै तोक्दा सर्वसाधारण मारमा परेका छन् ।

दुहुनो भैंसी किनेर एउटा गाउँपालिकाबाट अर्काेमा लैजाँदा अब कर तिर्नुपर्ने भएको छ । जिल्लाका ६ स्थानीय तहमा हरेक विषयमा यसरी नै अचाक्ली कर लगाइएको छ । भूमिकास्थानबाट अरू गाउँपालिकामा दुहुनो भैंसी किनेर लैजानेले सीमा कर तिर्नुपर्छ । एउटा भैंसी र राँगोको पाँच सय रुपैयाँ कर तिर्नुपर्ने भएको को । यसले कृषकलाई थप आर्थिक भार परेको छ ।

भेडा, च्याङ्ग्रा, सुँगुर र बंगुरको प्रतिगोटा ६० रुपैयाँ कर निर्धारण भएको छ । त्यस्तै मान्छे जीवित रहेको सिफारिसका लागि पाँच सय रुपैयाँ कर तोकिएको छ । खानेपानीका धारा जडान गर्न तीन सय, नागरिकताको प्रतिलिपि सिफारिसका लागि चार सय, नाता प्रमाणित चार सय, जन्ममिति प्रमाणित दुई सय रुपैयाँ निर्धारण गरिएको छ ।

एक सय कुखुरा पाल्ने कृषकलाई दुई सय र त्यसभन्दा बढी पाल्नेलाई पाँच सय कर लगाइएको छ । घरको आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित गर्न एक सय, आर्थिक अवस्था सम्पन्नताको प्रमाणित गर्न पाँच सय तोकिएको छ । फरक नामथर, जन्ममिति प्रमाणित र दुवै नाम गरेको व्यक्ति एउटै हो भन्ने सिफारिस गर्न पाँच सय रुपैयाँ तिर्नुपर्छ ।

नाबालक सिफारिस पाँच सय, जन्म र मृत्युदर्ता सिफारिस गर्न पाँच सय तिर्नुपर्छ । विवाह दर्ता एक हजार र बसाइँसराइ १ हजार ५ सय, दलित, जनजाति वा वर प्रमाणित पाँच सय, पारिवारिक विवरण र चार किल्लाको सिफारिस लिन पाँच–पाँच सय कर लगाइने भएको छ ।

त्यस्तै पुर्जामा घर कायम र लालपुर्जा हराएको सिफारिस गर्न पाँच–पाँच सय तोकिएको छ । घर निर्माण गर्न रूख काटदा प्रतिरूखको चार सय, घर निर्माण सम्पन्न सिफारिस आरसीसीको २ हजार ५ सय र कच्चीका लागि तीन सय रुपैयाँ तोकिएको छ ।

कर क्लियर सिफारिस स्वदेशका लागि १ हजार ५ सय र विदेशका लागि पाँच हजार रुपैयाँ सेवाशुल्क दस्तुर भन्दै कर लगाइएको छ । एक लाख मूल्य पर्ने जग्गाको एक हजार, दुई लाखको दुई हजार, १५ लाखको ६ हजार र २० लाखको आठ हजार रुपैयाँ कर तिर्नुपर्ने भएको छ ।

करैकरले जनताको ढाड सेकिएको ढाकाबाङका कविराम खनालले बताए । ‘जनतालाई सेवा पो दिनुपर्छ, अचाक्ली कर तोकेर ढाड सेक्नु भएन,’ उनले भने, ‘वैज्ञानिक कर भएन । मनपरी नै भयो ।’ कर तिर्न नसक्ने परिवार पनि छन् । भिरालो बारीमा दु:ख गरेर उत्पादन गरेको वस्तु बिक्री गर्न सदरमुकाम ल्याउन कर तिर्नुपर्छ । ‘तर, उत्पादन गर्ने तरिका सिकाउन जनप्रतिनिधि तयार छैनन्,’ उनले भने, नगरमा कर कति तोक्नुपर्छ, जनप्रतिनिधिले अन्धाधुन्ध कर लगाए ।’ स्थानीयले कर घटाउन मेयर/उपमेयरलाई आग्रह गरेका छन् । ‘अहिलेसम्म सुनुवाइ भएको छैन,’ खनालले भने, ‘हामीलाई बाध्य पारियो भने आन्दोलनमा उत्रिनुको विकल्प छैन ।’

स्थानीय सरकार चलाउन कर निर्धारण गरिएको हो । राजस्व परामर्श समिति, वडाध्यक्ष र सचिवसँग बृहत् छलफल गरेर कर निर्धारण गरिएको नगर उपप्रमुख खडानन्द बेल्बासेले बताए । वैज्ञानिक ढंगले नै कर निर्धारण गरिएको भए पनि जनताभन्दा माथि हाम्रा लागि कोही नभएको उनले बताए । ‘हामी जनताबाट चुनिएर आएका प्रतिनिधि हौं,’ उपप्रमुख बेल्बासेले भने, ‘जनताले कर बढी भयो भनेर आवाज उठाए भने तत्कालै घटाउँछौं ।’

भूमिकास्थान नगरपालिकाको भूगोल पूरै गाउँमा छ । अग्लो चुचुरोमा समेत बस्ती छ । उत्पादन खासै हुँदैन । केही समथर फाँटमा परम्परागत खेती गरिन्छ । १ सय ५९ दशमलव १३ वर्ग किमि क्षेत्रफलमा फैलिएको यस नगरमा १० वडा र ३२ हजार ६ सय ४० जनसंख्या रहेको छ ।

प्रकाशित : भाद्र ५, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?