कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बालमैत्री स्थानीय तह

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको सुनवल नगरपालिका सम्भवत: नेपालकै पहिलो बालमैत्री नगर घोषणा भएको छ । बालमैत्री स्थानीय शासनका सम्पूर्ण सूचक पार गरेकाले आइतबार एक कार्यक्रमबीच प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सुनवललाई बालमैत्री स्थानीय तह घोषणा गरेका हुन् ।

बालमैत्री स्थानीय तह

मुख्यमन्त्री पोखरेलले नेपालमै पहिलोपटक प्रदेश ५ बाट अभियान सुरु भएकाले प्रदेशलाई पनि बालमैत्री बनाउनेतर्फ कार्ययोजना अघि बढाउने बताए । ‘प्रदेश ५ लाई नमुना प्रदेश बनाउन बालमैत्री अभियान पनि महत्त्वपूर्ण हो,’ उनले भने, ‘सुनवलबाट सुरु यो अभियानले प्रदेशलाई पनि पहिलो बालमैत्री प्रदेश बनाउनका लागि उत्साह थपिएको छ ।’

नगरभित्र १ सय ६० बालक्लब, १३ नगरस्तरीय बालसञ्जाल र बालबालिकाका लागि बालबालिका स्वयंसेविकाको व्यवस्था गरिएको छ । बालमैत्री स्थानीय शासनको नमुना नगरका रूपमा विकास भएको नगरपालिकाले राष्ट्रियस्तरका २७, संस्थागततर्फ १२ र आफ्नै तीनवटा मौलिक सूचक तय गरेर ४२ वटा सूचक पार गरेको नगर प्रमुख भीमबहादुर थापाले बताए ।

स्थानीय निकाय हुँदा पनि ०७२ सालमा सुनवल नेपालको पहिलो बालमैत्री नगरपालिका घोषणा भएको थियो । संघीयतामा मुलुक प्रवेश गरेपछि नगरमा गाभिएका थप तीन वडामा बालमैत्री नीति, संरचना र बालसहभागिता सुनिश्चित गरेपछि संघीयतापछिको पहिलो बालमैत्री नगर घोषणा भएको हो ।

सुनवल नगरपालिकाभित्रका विद्यालय व्यवस्थापन समितिमा बालबालिकाको सहभागितालाई अनिवार्य गरिएको छ । साथै, सार्वजनिक समारोह र औपचारिक कार्यक्रममा पनि बालक्लबका प्रतिनिधिलाई आफ्ना कुरा राख्नका लागि अवसर दिने गरिएको छ । नगरभित्रका १९ संस्थागत र ३५ सामुदायिक विद्यालय व्यवस्थापन समितिमा एक छात्र र एक छात्रालाई अनिवार्य रूपमा समितिमा राख्ने गरिएको हो ।

नगरपालिकाले महिला स्वयंसेविका सँगसँगै हरेक वडामा बालमैत्री स्वयंसेविका राखेको छ । बालबालिकाको चौतर्फी विकास, उनीहरूको अवस्था र नीति निर्माण तहमा बालबालिकाको नेतृत्व पहुँचका लागि नगरले यस्तो व्यवस्था गरेको हो । यो नेपालकै पहिलो अभ्यास हो ।

आठ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकाको मनोवैज्ञानिक, शारीरिक, शिक्षा, स्वास्थ्यको अवस्थाबारे तथ्यांक संकलन गर्ने, आमा समूहलाई बालअधिकार र यसका फाइदाबारे जानकारी गराउने गर्छन् । विद्यालय जान छाडेका बालबालिकालाई विद्यालयको पहुँचमा पुर्‍याउने, वडाका हरेक निकायको नेतृत्वमा बाल सहभागिता सुनिश्चित गराउने काम पनि सुनवल नगरले गरिरहेको छ ।

वडापिच्छे स्वयंसेविका
परासी (कास)– बालबालिकाको चौतर्फी विकासका लागि सुनवल नगरपालिकाले हरेक वडामा बालमैत्री स्वयंसेविका राखेको छ । बालबालिकाको चौतर्फी विकास, उनीहरूको अवस्था र नीति निर्माण तहमा बालबालिकाको नेतृत्व पहुँचका लागि नगरले यस्तो व्यवस्था गरेको हो । उनीहरूलाई ८ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकाको मनोवैज्ञानिक, शारीरिक, शिक्षा, स्वास्थ्यको अवस्थाबारे तथ्यांक संकलन गर्ने, आमा समूहलाई बालअधिकार र यसका फाइदाबारे जानकारी गराउने जिम्मेवारी तोकिएको छ ।

विद्यालय जान छाडेका बालबालिकालाई विद्यालयको पहुँचमा पुर्‍याउन र वडाका हरेक निकायको नेतृत्वमा बालसहभागिता सुनिश्चित गराउन पनि स्वयंसेविकाले सहयोग गर्नेछन् । बालबालिकाको समस्या, बालअधिकार स्थानीय शासनका बारेमा जानकारी गराउने गरेको सुनवल १३ की स्वयंसेविका रीता भुसालले बताइन् ।

०७१ देखि नै नगरपालिकाले स्वयंसेविका राख्न सुरु गरेको हो । सुरुका दिनमा मासिक १ हजार ५ सय सञ्चार खर्च दिएर सुरु गरेको यो अभियानमा अहिले हरेक स्वयंसेविकालाई मासिक ४ हजार ५ सय खाजा खर्च भनेर उपलब्ध गराउने गरिएको छ । बालबालिकाको क्षेत्रमा समयमा नै लगानी गरेमा भविष्यमा दक्ष र सिर्जनात्मक जनशक्ति तयार हुने भएकाले बालबालिकालाई पहिलो प्राथमिकतामा राखेर लगानी गरिएको नगर प्रमुख भीमबहादुर थापाले बताए ।

‘हामीले विकास निर्माणमा करोडाैं खर्च गर्छौं,’ उनले भने, ‘तर, बालबालिकाको भविष्यप्रति ख्याल गर्दैनौं ।’ अबका सबै संरचना बालमैत्री र बालश्रममुक्त बनाउने अभियानमा नगरपालिका रहेको उनले बताए ।

प्रकाशित : भाद्र ५, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?