कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तानसेनमा पार्किङ र रुट निर्धारण

माधव अर्याल

तानसेन (पाल्पा) — साताअघि तानसेन नगरपालिका २ बडीज्ञानटोलमा भएको दुर्घटनामा दुईको ज्यान गएपछि नगरपालिकाले ट्राफिक व्यवस्थित बनाउन अग्रसरता देखाएको छ ।

तानसेनमा पार्किङ र रुट निर्धारण

जिल्ला प्रहरी, प्रशासन तथा ट्राफिकको सहकार्यमा नगरपालिकाले पार्किङ क्षेत्र र गाडीका लागि रुट निर्धारण गरेको हो । ग्रेड नमिलेको र मापदण्ड नपुगेको सडकमा दुर्घटना हुँदा ज्यान गएपछि नगरपालिकाले चासो देखाएको हो ।

सर्वपक्षीय अन्तरक्रियापछि ट्राफिक व्यवस्थापनका लागि २७ बुँदे निर्णय भएको नगरपालिका सूचना अधिकृत विष्णुप्रसाद पौडेलले बताए । ‘तानसेन नगरभित्रको ट्राफिक व्यवस्थालाई अबदेखि कडाइ गरिने भएको छ,’ उनले भने, ‘विगतको निर्णय कार्यान्वयन भएको भए अहिले यस्तो दुर्घटना हुने थिएन ।’ विगतमा पटक–पटक ट्राफिक व्यवस्थापनका विषयमा धेरै निर्णय भए । तर, अहिलेसम्म भएका निर्णयको सही कार्यान्वयन हुन नसक्दा बेलाबखतमा दुर्घटना हुने गरेको छ । तानसेन बजारभित्रै हुने दुर्घटनाबाट ज्यानै जाने, घाइते हुने, अंगभंग भएका घटना धेरै छन् । पहाडी जिल्ला र पुरानो सहर भएकाले यहाँ पार्किङ तथा सवारी आवतजावतमा समस्या छ ।

नगरपालिकाका अनुसार अब गुल्मी जाने मालबाहक तथा ठूला सवारीका लागि होलाङदीबाट–सेतीपोखरी–ढुंगाखानी–बाइपास सडक सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । हुलाकचोक–बडीज्ञानटोल हुँदै बसपार्क झर्ने ठाडो सडकमा चारपांग्रे सवारी प्रवेश निषेध गरेको नगरपालिकाले जनाएको छ ।

अत्यावश्यक एवं सुरक्षासँग जोडिएको साधनलाई प्रवेश निषेध गरिने छैन । निर्माण सामग्री र पानी बोक्ने सवारीलाई राति ८ देखि बिहान ५ बजेसम्म प्रवेश दिन सकिने सर्वपक्षीय निर्णय भएको नगरपालिकाले जनाएको छ । शीतलपाटी ठाडो गल्लीलाई बिहान ९ देखि ११ र बेलुकी ४ देखि ६ बजेसम्म दुवैतर्फबाट चारपांग्रे प्रवेश निषेध गरेको छ ।

अन्य समयमा ठाडोगल्ली चोकबाट शीतलपाटी एकतर्फी सवारी चलाउने व्यवस्था मिलाइने भएको छ । शीतलपाटीबाट भगवती टोलतर्फ जाने जनता मावि स्कुलको तलको घुम्ती हुँदै ठाडो गल्ली चोकसम्म एकतर्फी हुनेछ । टुँडिखेल वीरेन्द्रपार्क आसपासको सडकक्षेत्र तथा नारायणस्थान चोक क्षेत्रमा पार्किङ पूर्णनिषेध गरिनेछ ।

तेर्सो सडक र असन टोलमा विगतदेखि लागू गरिँदै आएको एकतर्फी नियम कायमै छ । असनटोल र शीतलपाटी ठाडो गल्लीमा मोटरसाइकललाई पार्किङ निषेध गरिएको छ । उक्त स्थानमा राखिने मोटरसाइकललाई सहज पार्किङ गर्न असनटोल रेडक्रस फूलबारी क्षेत्रमा व्यवस्थापन गरिने नगरपालिकाको योजना छ ।

विशालबजार क्षेत्रको अव्यवस्थित पार्किङलाई न्यूनीकरण गर्न साइराम मन्दिरसम्मको सार्वजनिक सडकलाई एकतर्फी चारपांग्रे र अर्कोतर्फ मोटरबाइक पार्किङ क्षेत्र तोकिने भएको छ । तानसेनदेखि पश्चिमतर्फ जाने/आउने भाडाका सवारी साधनका लागि गौरीशंकर होटलअगाडिको खाली भाग प्रयोग गरिनेछ । पार्किङका लागि पुष्प स्मृति पुस्तकालयअगाडिको तल्लो खुला भूभागलाई प्रयोग गर्ने निर्णय भएको सूचना अधिकारी पौडेलले जानकारी दिए । पहिलो चरणमा बजारभित्रका शिक्षण संस्था, अस्पताल एवं मुख्यबजार (लहरे पीपलदेखि टक्सारचोक र असनटोल र तेर्सो सडकसम्मको क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ ।

मिसन अस्पताल क्षेत्रको अव्यवस्थित पार्किङलाई न्यूनीकरण गर्न लायन्स धर्मशालाअगाडि र भूसलडाँडा सडकको एकतर्फी सार्वजनिक जग्गामा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

सडक पेटी अतिक्रमणलाई निरुत्साहन गर्न पाल्पा उद्योग वाणिज्य संघ संयोजक रहने गरी व्यापार संघका प्रतिनिधि, नगर प्रहरी, उपभोक्ता अधिकारकर्मी सम्मिलित कार्यदल गठन गरिनेछ ।

प्रकाशित : भाद्र ५, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?