कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

गाई पालेरै मासिक ५० हजार

करिश्मा चौधरी

बाँके — कोहलपुर १४ की राधा भण्डारी बिहान उठेदेखि नसुत्दासम्म काममै खटिन्छिन्् । धेरै मान्छे जागिरका पछि दौडिन्छन् । तर, राधाले भने भएको जागिर छाडेर घण्टौं काममा खटिन थालिन्, त्यसमै उनी सन्तुष्ट छन् । आफ्नै पौरखले कमाएको आम्दानीले उनका सबै दु:ख बिर्साइदिएको छ ।

गाई पालेरै मासिक ५० हजार

८ वर्षअघि ४ वटाबाट सुरु गरेको उनको फर्ममा अहिले १८ गाई छन् । मासिक ५० हजार रुपैयाँ आम्दानी हुन्छ । ‘हुन त बिहान उठेदेखि नसुत्दासम्म काममै खटिनुपर्छ, आराम भन्ने छैन,’ उनी भन्छिन्, ‘कतै जान फुर्सद पाइँदैन, मिहिनेत धेरै छ तर पनि सन्तुष्ट छु ।’ नोकरी गरेको भए भ्याइनँ वा सकिनँ भन्न नपाइने भएकाले छाडेर आफ्नै व्यवसायमा लागेको उनले बताइन् ।

श्रम र आम्दानी दुवै हिसाबले गाईपालन व्यवसाय सजिलो छ । तत्कालै आम्दानी हुन्छ । आज दुहुनो गाई किने भोलिबाटै आम्दानी हुन्छ । राधाले झन्डै ६ वर्ष अध्यापन गरिन् । दु:ख र परिश्रमअनुसार आम्दानी नभएपछि उनलाई चित्त बुझेन अनि श्रीमान्सँगै मिलेर व्यवसाय सुरु गरिन् । उनको फर्ममा अहिले ६ दुहुना गाई छन्। दैनिक ६० लिटर दूध उत्पादन हुन्छ । सबैले पशुपालन छाड्न थालेपछि कसले पाल्छ भन्ने लागेर आफूले पाल्न थालेको उनले बताइन् ।

थोरैबाट सुरु गरे पनि अझै ठूलो फर्म बनाउने उनको लक्ष्य छ । गाई पाल्न थालेपछि राधालाई शिक्षकको जागिरभन्दा व्यवसाय नै राम्रो लाग्यो । ‘जागिरभन्दा त धेरै सजिलो नि, शारीरिक मिहिनेत त बढी नै हुन्छ,’ उनले भनिन्, ‘तर, सन्तुष्टि लाग्छ । आफ्नै मर्जीले काम गर्दा आनन्द हुन्छ ।’ उनलाई थाइराइड र दमजस्ता रोगले सताइरहन्थ्यो । तर, अहिले बिहानदेखि बेलुकासम्म नियमित परिश्रमले ती दुवै रोग निको भएका छन् ।

राधालाई उत्पादित दूध बेच्न कहिल्यै समस्या भएन । अहिले आफ्नै डेरी खोलेका छन् । मल पनि घरबाटै बिक्री हुन्छ । हिउँदमा आफ्नै बारीको घाँसले पुग्छ । वर्षातको घाँसका लागि १० कट्ठा जग्गा भाडामा लिएको उनले बताइन् । मनैदेखि गाई पाल्छु भन्ने इच्छा भए मात्रै व्यवसायमा आउन उनले सुझाइन् । अरूको देखेर रहरले मात्रै आउँदा गाह्रो हुने राधा बताउँछिन्् । आफैं खटिनुपर्छ । अरूलाई मात्रै लगाएर सफलता मिल्न नसक्ने राधाको अनुभव छ ।

गाईपालन सुरु गर्दा राधाले कुनै तालिम लिएकी थिइनन् । तर, अहिले विभिन्न तालिमसँगै अनुभव पनि उनीसँग छ । ‘म आफैं सामान्य डाक्टर भइसकें,’ उनले भनिन्, ‘अहिले गाईलाई कुन समयमा कस्तो रोगले आक्रमण गर्न सक्छ, र के गर्ने भन्ने बुझेकी छु ।’ गाईलाई खोरेतबाट जोगाउनुपर्ने उनले बताइन् । खोरेतले गर्भवती गाईलाई आक्रमण गरेमा सुत्केरी हुँदा ज्वरो आउने र पिसाबमा रगत देखिने समस्या हुन्छ । त्यस्तो अवस्थामा गाईको ज्यानै पनि जान सक्ने भएकाले धेरै ख्याल गर्नुपर्ने उनको तर्क छ ।

पशु सुत्केरी हुँदा किसानलाई जोखिम पर्छ भनेर कोहलपुर नगरपालिकाले पशु सुत्केरी भत्ताको कार्यक्रम ल्याएको छ । गाई र भैंसी सुत्केरी हुँदा यो भत्ता दिइने भएको हो । नगरपालिकाले यसै वर्ष ल्याएको कार्यक्रम भएकाले सुरु भइसकेको छैन । तर, यो सुविधा लिन फर्म दर्ता गरिएको र पशुको बिमा गरेको हुनुपर्ने नगरपालिकाले जनाएको छ । यस कार्यक्रमले किसानलाई सहयोग र प्रोत्साहन मिल्ने उनले बताइन् ।

प्रकाशित : भाद्र ५, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?