बोक्सी आरोपित विस्थापित

दुई किशोरी पक्राउ

पाल्पा — आफूलाई इसाई धर्मको समर्थक बताउने समूहले चरम यातना दिएपछि ६० वर्षीया एक महिला गाउँबाटै विस्थापित भएकी छन् । मानसिक यातना सहन नसकेपछि पीडित महिला र उनका आफन्तले जिल्ला प्रहरीमा निवेदन दिएका थिए ।

बोक्सी आरोपित विस्थापित

निस्दी ४ मित्याल भन्टाकेकी ती महिला प्रहरीमा उजुरी दिएर घर फर्केपछि गाउँमा बस्न नसकेर विस्थापित बनेकी हुन् । आफ्नो घरमा नै बस्न नसक्ने अवस्था आउने गरी त्यो समूहले महिलाको बेइज्जति गरेको थियो । उनलाई ६ महिनादेखि काम्ने र बोक्सी भन्दै आफन्तकै सहयोगमा यातना दिँदै आएको आरोप छ । स्थानीयका अनुसार आफ्नो घरमा बस्न नसकी कहिले मित्यालको रुक्सेभञ्ज्याङमा रहेका आफन्तकहाँ त कहिले कहाँ बस्दै आएकी थिइन् । ‘यस घटनापछि घरमा बस्ने वातावरण नभएकाले बाहिरबाहिरै बस्दै आउनुभएको छ,’ स्थानीय पदम खाम्चाले भने, ‘गाउँले र परिवारबाट असुरक्षित ठानेर घरमा हुनुहुन्न ।’


जेठा र कान्छा छोराबुहारीसँग बस्दै आएकी वृद्धा परिवारबाटै असुरक्षित भएको स्थानीयले बताए । ६ महिनादेखि ती महिलालाई उनका छोराबुहारी, छिमेकी र सत्यवचन र विश्वासी धर्मावलम्बी बताउने समूहले यातना दिँदै आएको थियो । बोक्सी भन्दै मानसिक र शारीरिक यातना सहन नसकेर वृद्ध महिलाले पटकपटक आत्महत्या प्रयाससमेत गरेको स्थानीयले बताए । उनीहरूका अनुसार छोराबुहारी र गाउँका सबैमाथि अनुसन्धान गरेर दोषीलाई कारबाही हुनुपर्छ । ‘धर्मका नाममा यस्ता यातना सैह्य हुँदैन,’ एक स्थानीयले भने, ‘दोषी हुन् भने छोराबुहारी पनि कारबाहीमा पर्नुपर्छ ।’


प्रहरीले वृद्धाको उजुरीका आधारमा दुई किशोरीलाई पक्राउ गरी अनुसन्धान थालेको छ । बोक्सी आरोपमा वृद्धालाई दुव्र्यवहार र गालीगलौज गर्ने दुई किशोरी पक्राउ परेको प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए । किटानी जाहेरीका आधारमा नवलपरासी बर्दघाटपूर्व नवलपुर विनयी त्रिवेणी ३ धारादीकी १६ वर्षीया तमसरी सिंजाली र बर्दघाटपूर्व मध्यविन्दु नगरपालिका १४ सारुडाँडा बस्ने १८ वर्षीया गीता कामुलाई पक्राउ गरिएको हो । उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरीमै राखिएको छ । पाँच/सात जना किशोरी र महिलाको समूहले ती वृद्धामाथि बोक्सी स्वीकार्न दबाब दिएका थिए ।


उनीहरूले वृद्धालाई बोक्सी आरोपमा कुटपिट गर्ने, नांगै बनाउने र अपशब्द प्रयोग गर्ने गरेको स्थानीयले बताए । मित्यालकै अरुणखोला छेउको रिपाहा गाउँमा ती वृद्धालाई नांगै बनाएर यातना दिएको प्रत्यक्षदर्शीले बताए । धार्मिक समूहले धामी हल्लिएजस्तै गर्ने र बोक्सी आरोप लगाउने गरेको स्थानीयले बताए । किशोरी र महिलाको शरीर काम्ने र काम्दै ‘बोक्सी म हुँ’ भन्दै वृद्धको नाम लिने गरेका थिए । किशोरीले हातमा बाइबल लिँदै अनौठो व्यवहार देखाउने र लाञ्छना लगाउने गरेका थिए ।

प्रकाशित : भाद्र ६, २०७५ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?