१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

महिनावारीमा ३ दिन गयल

वर्षमा ३६ दिन पढाइ छुट्छ
अमृता अनमोल

बुटवल — रूपन्देहीको मर्चवार आदर्श माविकी वसुन्धरा यादव महिनाको तीन दिन विद्यालय जान्नन् । बिरामी भएर वा घरमा काम परेकाले उनी स्कुल नगएकी होइन । महिनावारी भएकाले विद्यालय जान नसकेकी हुन् ।

महिनावारीमा ३ दिन गयल

‘स्कुलमा चुकुल लगाउन मिल्ने चर्पी छैन,’ कक्षा ९ की छात्रा यादवले दुखेसो पोखिन्, ‘महिनावारीमा धेरै पिसाब लाग्छ । पिसाबसित रगत पनि बग्छ । त्यो लुकाउन स्कुल जान्नँ ।’ वसुन्धराको कक्षा ७ मा पढ्दादेखि महिनावारी सुरु भएको हो । त्यसपछि हरेक महिना तीन दिन स्कुल छुटेको छ । वसुन्धराजस्तै कक्षा ९ मा अध्ययनरत निशा पठान पनि महिनामा तीन दिन विद्यालय जान्नन् । महिनावारीका बेला उनी घरै बस्छिन् ।


‘शौचालयको ढोका खुलै हुन्छ,’ उनले भनिन्, ‘अरू बेला काम चलाउँछौं । महिनावारीका बेला सकिन्न ।’ कोटहीमाई गाउँपालिकाको आँगनमा विद्यालय छ । त्यहाँ करिब नौ सय विद्यार्थी छन् । शौचालयमा चुकुल र पानी छैन । फोहोर र दुर्गन्धले विद्यार्थी पस्नै सक्दैनन् ।


विद्यालयले आर्थिक अभावले शौचालयमा ढोका, चुकुल नलगाएको र पानी नराखेको जनायो । तर, यस्तो अवस्थाका लागि प्याड बनाउन सिकाएको दाबी गर्‍यो । ‘गत वर्ष समस्या आएपछि प्याड बनाउन सिकायौं,’ प्रधानाध्यापक शत्रुघनप्रसाद शुक्लाले भने, ‘महिला शिक्षक र छात्राले मिलेर कपडाका प्याड बनाउँछन् ।’ यो समस्या महिला शिक्षकले सहजीकरण गरिरहेको उनले बताए । ‘छात्रा अनुपस्थित हुने समस्या छ,’ उनले भने, ‘पढाइ छुटेकाले छात्रा कमजोर हुन सक्छन् । तर, महिनावारीकै कारण हो भनेर ठोकुवा गर्न मिल्दैन ।’


जिल्लाका दक्षिणी क्षेत्रका एक सय हाराहारी विद्यालयमा शौचालय भग्नावशेष भइसके । मर्मत गरिएको छैन । एक महिनामा तीन दिनका हिसाबले छात्राको महिनावारीकै कारण वर्षमा ३६ दिन पढाइ छुट्ने गरेको छ । शौचालयको समस्या बढेपछि आर्थिक वर्ष ०६४/६५ मा साबिक जिल्ला शिक्षा कार्यालयले छात्रा पढाउने दर २० प्रतिशत कम र कक्षा छाड्ने दर बढेकाले साबिकका २३ गाविसका ४८ विद्यालयमा अध्ययन गरेको थियो । अध्ययनमा विद्यालयमा छात्रामैत्री शौचालय नहुँदा छात्रा विद्यालय नआउने र नटिक्ने तथ्य भेटिएको थियो ।


त्यसपछि ती विद्यालयमा छात्रामैत्री शौचालय र पूर्वाधार बनाउने अभियान थालियो । सरकारले सन् २०१० मा छात्रामैत्री शौचालय बनाउन अभियान थालेको थियो । यसअन्तर्गत जिल्लाका ६९ सामुदायिक विद्यालयमा छात्रामैत्री शौचालय बनाइएको थियो । तर, रेखदेख पुगेन । छात्राको समस्यामा सरोकारवाला पनि पन्छिने गरेका छन् ।


शिक्षा समन्वय इकाइ प्रमुख दिवाकर भण्डारीले विद्यालयमा भौतिक व्यवस्थापनको जिम्मा स्थानीय तहमा गएको बताए । ‘अब स्कुल र स्थानीय तहले मिलेर समस्या समाधान गर्नुपर्छ,’ उनले भने । स्थानीय तहले विद्यालयमा एक नभई अनेक समस्या रहेको जनाए । ‘पढाउने शिक्षक दिन सकेका छैनौं । कोठा र कुर्सी छैनन्,’ मर्चवारी गाउँपालिकाका प्रमुख केशवनन्द बानियाले भने, ‘शौचालयको समस्या विस्तारै हल होला ।’

प्रकाशित : भाद्र ६, २०७५ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?