कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

माडीखोलामा पुल सुरु

पहिलाको ठेक्का रद्द गरी पुन: टेन्डर आह्वान
काशीराम डाँगी

रोल्पा — एक दशकदेखि अलपत्र जिल्लास्थित माडीखोलामा पक्की पुल निर्माण पुन: सुरु गरिएको छ । सडक डिभिजन कार्यालयले दोस्रोपटक टेन्डर आह्वान गरेर नयाँ ठेकेदारलाई जिम्मा दिएपछि निर्माण थालिएको हो । अलपत्र पुल निर्माणको जिम्मेवारी जिल्लाकै ठेकेदार राजवीर घर्तीले लिएका छन् ।

माडीखोलामा पुल सुरु

बुटवलस्थित एसियाटिक निर्माण कम्पनी र उनकै नाममा जारी राज कन्स्ट्रक्सन प्रालिको संयुक्त जिम्मेवारीमा उक्त पुल निर्माण हुनेछ । प्यूठानस्थित सडक डिभिजनका अनुसार १७ महिनाभित्र पुल सक्ने गरी सम्झौता भएको छ । यसअघिको लामा/एडी/धमेन्द्र जेभीको ठेक्का तोडिएपछि सरकारले पुन: टेन्डर आह्वान गर्दा राजवीरले प्राप्त गरेका थिए ।


टेन्डर गत जेठमा गरिएको हो । व्यवसायीले भदौ १ देखि काम थालेका छन् । निर्माण जिम्मेवारी लिएपछि धमाधम काम थालिएको व्यवसायी घर्तीले बताए । ‘वर्षौंदेखि अलपत्र पुल बनाउने जिम्मेवारी पाएको छु । तोकिएको समयमै सक्ने योजनामा छु,’ तालाबाङका घर्तीले भने, ‘जिल्लावासीले दु:ख भोग्नु परेकाले जिम्मेवारीबोध र खुसी दुवै अनुभव भएको छ ।’


करिब ७२ मिटर लम्बाइको उक्त पुल निर्माण क्रममा अघिल्लो ठेक्कामार्फत ठेकेदार डीसीले दुईवटा पिल्लर बनाएका छन् । लम्बाइ र चौडाइअनुसार आवश्यक सडक खन्न बाँकी छ । दैनिक दुईभन्दा बढी डोजरको प्रयोग गरेर निर्माणलाई तीव्रता दिने योजना रहेको घर्तीले बताए । पुन: टेन्डर गरिएको पुलको लागत ३ करोड ३५ लाख छ । काम नगरेपछि सडक डिभिजन कार्यालयले पहिलो ठेक्का रद्द गरेर पुन: आहान गर्नुपरेको इन्जिनियर सुरेश न्यौपानेले बताए । अघिल्लो ठेकेदारले सर्वोच्चमा दायर गरेको मुद्दाको अन्तिम फैसला बाँकी छ । ठेकेदारमाथि कानुनी कारबाही जारी रहे पनि अर्को टेन्डरमार्फत पुल निर्माण सुचारु गरिएको उनले बताए ।


डिभिजन प्रमुख न्यौपानेले कामको जिम्मा लिएर पनि लामो समय निर्माण नगरी अटेर गरेका ठेकेदारलाई सरकारले कालो सूचीमा राखेपछि मात्रै अर्को टेन्डर खोलिएको बताए । पुल निर्माण नगरेबापत कालो सूचीमा परेका अघिल्लो ठेकेदार प्यूठानका वसन्त डीसीले उक्त पुलको निर्माण सम्झौतापछि एक करोड रुपैयाँ पेस्की लिइसकेका थिए । डीसीमाथि काममा अटेर गरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्दै २ वर्ष ६ महिनासम्म कारबाहीमै राख्न सिफारिस गरेको छ ।


सुरुमा ०६६ मा ठेकेदार र सरकारबीच सम्झौता हुँदा ३६ महिनाभित्र पुल निर्माण सक्नुपर्ने सम्झौता थियो । तर, पटक–पटक म्याद थप्दा पनि काम नभएपछि अन्तत: सरकारले ठेकेदारमाथि कारबाही गरेर पुन: अर्को टेन्डर खोलेको हो । काम नगर्ने ठेकेदारमाथि कानुनी कारबाही चलाउन यसअघिका चार डिभिजन प्रमुख डराएका थिए । पुन: गरिएको टेन्डरअनुसार पुलको लागत पहिलेको भन्दा केही बढेको न्यौपानेले बताए । एक दशकअघिको निर्माण सामग्रीको मूल्यको तुलनामा अहिले महँगी वृद्धि भएकाले लागत पनि बढेको उनको भनाइ छ ।

प्रशासनको चासो
पुन: टेन्डर आहानपछि पुलको निर्माण कार्य सुरु हुँदा स्थानीय प्रशासनले पनि चासो देखाएको छ । प्रमुख जिल्ला अधिकारीले पुल निर्माणस्थलमै पुगेर ठेकेदारलाई पहिले जसरी निर्माण कार्य ढिला नगर्न सचेत बनाएका छन् । प्रजिअ गन्जबहादुर एमसीले पुलको निर्माण जिम्मा पाएका व्यवसायी घर्तीलाई तोकिएको समयै निर्माण सक्न आग्रह गरेका हुन् । ‘पुल नहुँदा जनताले दु:ख पाए । अब चाँडै पुल बन्नुपर्छ,’ सोमबार माडीखोला किनारमै पुगेका प्रजिअ एमसीले भने, ‘सुरक्षा व्यवस्था मिलाउँछौं, दिनरात काम गरेर पनि पुल
छिट्टै बन्नुपर्छ ।’


रोल्पाको लिबाङमै जन्मेका प्रजिअ एमसीले निर्माण व्यवसायी पनि जिल्लाकै बासिन्दा भएकाले इज्जत नगुमाई पुल निर्माण सक्न आग्रह गरे । उक्त कार्यबारे स्थलगत अनुगमन गर्न डिभिजन प्रमुख न्यौपाने, प्रहरी प्रमुख दीपक खडका, ठेकेदार र जनप्रतिनिधिसहित पुगेका प्रजिअ एमसीले पुल र सडक निर्माणका क्रममा हुने ढिलासुस्ती घटाउन पहल थाल्ने बताए ।

प्रकाशित : भाद्र ६, २०७५ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?