चल्ला बरामद, भरिया फरार

सीमा कटाई नेपाली ह्याचरीको बिल बनाएर काठमाडौंसम्म पुर्‍याइन्छ
नवीन पौडेल

परासी — पछिल्लो साता पश्चिम नवलपरासीस्थित भारतीय सीमावर्ती क्षेत्रबाट १० हजारभन्दा बढी कुखुराका चल्ला बरामद भएका छन् । सीमा सुरक्षामा रहने सशस्त्र प्रहरी र नेपाल प्रहरीले क्वारेन्टाइन र भन्सारमा चेकजाँच नगरी स्वदेश भित्र्याइरहेको अवस्थामा ती चल्ला बरामद गरेको हो ।

चल्ला बरामद, भरिया फरार

सवारी साधनमा ल्याउँदा भन्सारमा चेकजाँच हुने भएपछि तस्करले साइकल वा भरियामार्फत भारी बोकाएर सीमा पार गराउने गरेका छन् । खुला सिमानाका कारण सुरक्षाकर्मीको आँखा छलेर एकै दिनमा लाखौं मूल्य बराबरका चल्ला भित्रिने गरेका छन् ।

भारतीय सीमावर्ती क्षेत्रबाट सोमबार अवैध रूपमा नेपाल भित्र्याइएका करिब ७ हजार ५ सय कुखुराका चल्ला सशस्त्र प्रहरीले बरामद गरेको छ । गुठी प्रसौनीमा क्वारेन्टाइन र भन्सार नगरी नेपाल भित्र्याइएका करिब पाँच लाख बराबरका ती चल्ला सुरक्षाकर्मीले नष्ट गरेको हो ।

चल्ला बरामद गरे पनि कारोबारमा संलग्न व्यक्ति फरार छन् । दिनहुँ लाखौं रुपैयाँका तयारी कुखुरा र चल्ला बरामद भए पनि तस्करीमा संलग्न व्यक्ति भने पक्राउ पर्दैनन् । सुरक्षाकर्मी देख्नेबित्तिकै सामान छाडेर तस्कर फरार हुने हुँदा व्यक्ति पक्राउ नपर्ने सुरक्षा अधिकारी बताउँछन् । विशेष गरेर रातको समयमा बढी तस्करी हुने हुँदा सामान छाडेर तस्कर उम्कने गरेको सुरक्षाकर्मीको दाबी छ । भारतबाट पन्छी नेपाल ल्याउन बन्देज भए पनि खुला सिमानाका कारण निर्वाध रूपमा भित्रिरहेका छन् ।

गस्तीमा रहेका सुरक्षाकर्मी प्रहरी देख्नासाथ चल्ला ल्याउने भाग्ने गरेको सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर पश्चिम नवलपरासी नम्बर २६ गणका उपरीक्षक गहाद्र्धन राईले बताए । ‘मुख्य तस्कर आफैं सीमा पारमा संलग्न नहुने र भरियाद्वारा ज्यालादारीमा गराउने काम हुँदो रहेछ,’ उपरीक्षक राईले भने, ‘खुला सिमानाका कारण रातको समयमा सामान छाडेर भरिया भाग्ने गर्छन् ।’ दुई–चार हजार चल्ला ल्याएर भाग्ने भरियालाई अब गोली नै चलाएर नियन्त्रणमा लिनुपर्ने बाध्यता आएको सुरक्षाकर्मीको भनाइ छ । चल्ला बरामद भए पनि बारम्बार तस्करीमा संलग्न व्यक्ति उम्किने कारणले तस्करी बढेको उनीहरूको भनाइ छ ।

बरामद भएका चल्लालाई क्वारेन्टाइन चेकपोस्टको रोहबरमा स्थानीय खोलाको किनारमा गाडिने गरिएको छ । जिल्लाको सीमावर्ती क्षेत्रबाट दैनिक लाखौं रुपैयाँका भारतीय चल्ला नेपाल भित्रिने गरेका छन् । अन्य सामान बरामद गरेर भन्सारमा बुझाउने गरिएको भए पनि कुखुराका चल्लाको क्वारेन्टाइन नगरी ल्याइएको हुनाले पन्छीजन्य रोगको संक्रमण फैलिने डरले तत्काल नष्ट गरिन्छ ।

जिल्लामा रहेका विष्णुपुरा, त्रिवेणी भुजहवा र प्रसौनी, महेशपुरलगायत छोटी भन्सार आसपासकै क्षेत्रबाट चल्ला भित्रिने गरेका छन् । गत वर्ष मात्रै सुरक्षा निकायले एक करोडभन्दा बढीका चल्ला बरामद गरेर नष्ट गरेको थियो ।

नेपालमा उत्पादन हुनेभन्दा भारतीय चल्ला सस्तो हुने हुनाले खुद्रा व्यापारीले सस्तोमा उतैबाट ल्याएर जिल्लाका विभिन्न स्थान हुँदै छिमेकी जिल्लामा समेत बिक्री वितरण गर्दै आइरहेका छन् । भारतीय र नेपाली तस्कर मिलेर सीमा पार भएपछि नेपाली ह्याचरीको बिल बनाएर काठमाडौंसम्म भारतीय कुखुरा पुग्ने गरेको स्रोतको दाबी छ ।

प्रकाशित : भाद्र ७, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?