कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक फराकिलो बनाउँदा हिलाम्य

समयमा काम नसक्दा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य
माधव अर्याल

पाल्पा — वर्षा सुरु भएपछि जिल्लाका सडक चौडा बनाउँदा र घुम्ती कटान गर्दा हिलाम्य बनेका छन् । जेठ/असारमा कटान गरेका घुम्तीमा माटो र हिलोले अहिले साना ठूला गाडी चलाउन मुस्किल भएको छ ।

सडक फराकिलो बनाउँदा हिलाम्य

आर्यभञ्ज्याङ–रामपुर खण्डमा यसको बढी समस्या छ । पूर्वी भेगका अधिकांश बस्ती जोड्ने यो सडक अहिले जतासुकै हिलाम्मे छ । रामपुर नपुग्दासम्म अधिकांश सडकमा हिलोले मोटरसाइकल चिप्लिने, साना सवारी फस्ने गर्छन् । ‘रामपुरबाट आर्यभञ्ज्याङ निस्कन नै सकस छ,’ मोटरसाइकल चालक कृष्ण दर्नालले भने, ‘जुत्ता र कपडाको के कुरा, ज्यानकै जोखिम छ ।’

यस खण्डको ४९ किलोमिटरमा साँघुरा घुम्ती थिए । ती काटिएपछि सजिलो र छिटो यात्रा सम्भव भएको हो । सडक डिभिजन कार्यालयले गत वर्षदेखि यस्तो अभियान थालेको थियो । तर, समयमा काम नसक्दा यात्रु भने जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । ‘घुम्ती कटानपछि कालोपत्रे गर्ने हो भने यस्तो समस्या आउँदैन,’ साना सवारी चालक दयाराज ढकालले भने, ‘ग्राभेलसम्म गरिदिए पनि समस्या आउँथेन ।’ चिदीपानी, हुमिन, ताँहुको सेर्कावास, वीरकोट, सेफद, सिलुवा, बेलडाँडालगायत स्थानमा अत्यधिक हिलो छ । यहाँ सवारी चलाउनसमेत समस्या छ ।

चिदीपानीका विभिन्न स्थानमा तल्लोभागबाट पर्खाल लगाएका खाल्डा पुरिएको छैन । खाल्डोमा मालवाहक ट्रकसमेत दुर्घटनामा परेका छन् । ‘समयमा काम नगर्दा सबैले सास्ती बेहोर्नु परेको छ,’ पूर्वखोला, देवीनगरका भुवन सिंजालीले भने, ‘सडक डिभिजनअन्तर्गतका निर्माण व्यवसायीले काम अलपत्र छाडा दुर्घटनासमेत भइरहेको छ ।’ ताँहुको सेर्काबासमा पनि यस्तै समस्या छ ।

स्थानीयका अनुसार यसै वर्ष सडक फराकिलो बनाएको स्थान नै भासिएको छ । सेर्काबासका बासिन्दा प्रेमबहादुर मल्लले भने, ‘ठेकेदारले लगाएका पर्खाल नै कमजोर भएकाले पूरै बगेको छ ।’ पर्खालमा सिमेन्टले ढुंगा नै समातेको छैन ।

वीरकोटका केही भागमा पनि यस्तै समस्या छ । घुम्ती कटान गरेका सडकमा पहिरो खसेर जोखिम बढेको छ । सेफदमा दुई किलोमिटर सडक पूरै हिलाम्मे बनेको छ । साना सवारी निकाल्नै धौ बनेको मोटरसाइकल चालक प्रेमबहादुर सिंजालीले बताए । ‘सेफदमा वर्षा लागेपछि सडक चौडा गरेको थियो,’ उनले भने, ‘अहिले यो हालत भयो ।’ सिलुवाको बासुकी, चापगैरा, सानो गल्धामा पनि उस्तै अवस्था छ ।

सडक चौडा गर्ने क्रममा त्यत्तिकै छाड्दा अहिले यात्रु, सवारी चालकले सास्ती खेप्नु परेको हो । सिलुवाका वडाध्यक्ष भोगबहादुर थापाका अनुसार सडक चौडा गरेर छाड्दा दुई वर्षदेखि कच्ची सडकजस्तै सास्ती खेप्नुपरेको छ । आर्यभञ्ज्याङदेखि रामपुरसम्मको सडक कालोपत्रे हो । ‘यहाँ पनि हिउँदमा धूलो हुन्छ,’ उनले भने, ‘वर्षायाममा हिँड्नै नसकिने गरी हिलाम्मे बनेको छ ।’

सडक डिभिजनका इन्जिनियर तथा सूचना अधिकारी पवित्रमणि आचार्यले साँघुरा सडकमा घुम्ती सुधारेपछि सडक दुर्घटना र दूरीसमेत घट्ने बताए । ‘साँघुरा घुम्ती कटान गरी सीधा बनाउँदा दुर्घटना न्यूनीकरण हुने विश्वास छ,’ उनले भने । आव ०७२/७३ देखि अप्ठ्यारा घुम्ती काटेर सडक चौडा गर्न सुरु गरिएको थियो ।

आर्यभञ्ज्याङ–रामपुर खण्डमा सिलुवादेखि रामपुरसम्मका घुम्ती कटान भएको छ । सडक डिभिजनका अनुसार तानसेन–तम्घास खण्डमा हार्थोक, लघुवासम्मका जटिल घुम्ती कटान गरिएको छ । तानसेन–तम्घास सडकमा करिब १ सय ५० जोखिमपूर्ण घुम्ती रहेका छन् । सडक डिभिजनले ५० भन्दा बढी कटान गरेको इन्जिनियर आचार्यले बताए । सडकमा घुम्ती सुधारअन्तर्गत पहिलो वर्ष घुम्ती काट्ने, दोस्रो वर्ष कालोपत्रे गर्दै आएको उनले बताए ।

घुम्ती काट्नका लागि एसियाट्रिक–प्रदीप जेभीले पाँच करोड, हिमदुङ एन्ड थोकर–सूर्य चन्द्र जेभीले तीन करोड र एसबीए–सूर्यचन्द्र जेभी निर्माण कम्पनीले सात करोड रुपैयाँको ठेक्का लिएका छन् ।

प्रकाशित : भाद्र ७, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?