कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

फाँटतर्फ सोझियो झिमरुक

खेतवाला सयौं किसान चिन्तित

प्यूठान — धानखेततर्फ नदी सोझिएपछि प्यूठान नगरपालिका ४ र ७ अन्तर्गत सत्तरीफाँटका खेतवाला किसान चिन्तामा परेका छन् । बिजुवार सत्तरीफाँट क्षेत्रबाट कटान गर्दै झिमरुक खेतमा पस्न थालेको भन्दै किसान त्रसित भएका हुन् ।

फाँटतर्फ सोझियो झिमरुक

अन्य स्थानमा तारजाली लगाए पनि यहाँ छुटाएका कारण नदीले कटान गरेको स्थानीय केशव कार्कीले गुनासो सुनाए । ‘कटान गर्दै नदी फाँटको निकै नजिक आइसकेको छ,’ कार्कीले भने, ‘यहाँबाट पस्यो भने धेरै क्षति गर्छ ।’

सत्तरीफाँटबाट खोलो पसे खलंगा जोड्ने बिजुवारको झोलुंगे पुल, बिजुवार खेलकुद मैदान, प्यूठान नगरपालिकाको निर्माणाधीन भवन क्षेत्रको खेत र बस्तीमा धेरै क्षति हुने उनले बताए । खोलो दिनप्रतिदिन फाँटतर्फ नजिकिँदै गएपछि स्थानीयले मंगलबार प्यूठान नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षलाई कटान क्षेत्रको अवलोकन गराएको कार्कीले बताए ।

‘तत्काल तारजालीको व्यवस्था गरी रोकथामको पहल थाल्न आग्रह गरेका छांै,’ स्थानीय गिरबहादुर कार्कीले भने, ‘नगर प्रमुखसहित टोली अवलोकन गरेर फर्केको छ । अब केही त होला भन्ने आशा गरेका छौं ।’ बर्सेनि खोलो नियन्त्रणमा करोडौं रुपैयाँ खर्च भए पनि उपलब्धिविहीनजस्तै त हुने होइन भन्ने विषयमा स्थानीय चिन्तित छन् ।

जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय र प्यूठान नगरपालिकाबाट आउने बजेट विभिन्न स्थानमा थोरथोरै बाँडफाँट गरी तारजाली लगाउँदा तटबन्धन बन्दै बग्दै गरेको किसान बताउँछन् । ‘हरेक वर्ष थोरथोरै बजेट छरेर काम हुन्छ,’ प्यूठान नगरपालिका ९ रारिबाङका हेमराज पराजुलीले भने, ‘यसले गर्दा तटबन्धन बन्दै बग्दै गर्छ ।’ उनले एक स्थानबाट सुरु गरेर बलियो बनाउँदै अघि बढ्नुको साटो ठाउँ/ठाउँमा लगाउँदा काम प्रभावकारी नभएको सुनाए । सारीबाङको फाँट झिमरुक नदी अग्लिएर धेरै नोक्सान गरेको पराजुलीको भनाइ छ । नदी बढी अग्लिएको क्षेत्रबाट गिट्टी/बालुवा निकाल्ने विषयमा नगरपालिकाले सोच्नुपर्ने सुझाव उनको छ ।

जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय प्यूठानले यस वर्ष प्यूठान नगरपालिकाको दम्तीदेखि दाखाक्वाडीसम्म झन्डै नौ करोड रुपैयाँ तटबन्धमा खर्च भएको जनाएको छ । यसअघिका वर्षमा पनि यहाँ करोडौं रकम खर्च भइसकेको छ । कुनै ठाउँमा उपाभोक्ता समिति र कुनैमा ठेक्कामार्फत तटबन्धको काम गरिएको थियो ।

तटबन्धनले धेरै कटान रोक्ने आशा गरे पनि लगाउन छुटेको क्षेत्रबाट खोलो फाँटमा पस्न थालेको प्यूठान नगरपालिका प्रमुख अर्जुनकुमार कक्षपतिले बताए । ‘यसपालि सत्तरीफाँट क्षेत्रबाट खोलो पस्ने जोखिम बढेको छ,’ उनले भने, ‘बुधबारबाटै डोजर लगाएर नदीको बहाव परिवर्तन गर्न लगाएका छौं ।’ सत्तरीफाँट क्षेत्रमा नदीले गरेको कटान अवलोकन गरेको बताउँदै पानीको बहाव परिवर्तन गराई कटान गरेको क्षेत्रमा तटबन्ध लगाउने समझदारी नगरपालिका र जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयबीच भएको उनले बताए ।

नगरपालिकाको प्राविधिक शाखालाई रोकथामको प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेको कक्षपतिले सुनाए । सत्तरीफाँटबाट खोलो पसे ठूलो क्षति हुने कुरामा प्यूठान नगरपालिका चनाखो रहेको उनी बताउँछन् ।

जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयले दम्तीदेखि दाखाक्वाडीसम्म ८/१० स्थानमा तटबन्धको काम गरेको छ । गेजबाङ, मरन्ठाना, बाग्दुला, सारीबाङ, टिकुरी, बिजुवार, खैरा र दाखाक्वाडीमा गरी झन्डै दुई किलोमिटर तारजाली लगाएको कार्यालय प्रमुख गोपाल शर्माले जानकारी गराए । कार्यालयका अनुसार यस वर्ष गरिएको तटबन्धबाट फाँटको १७ हेक्टर जग्गा उकास भएको छ ।

प्रकाशित : भाद्र ७, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?