कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

गाउँ–बजार जोड्दै अन्तरपालिका यातायात

नौवटै स्थानीय तह सम्मिलित एक समिति नै बनेको छ
अमृता अनमोल

बुटवल — रूपन्देहीको गाउँबस्ती र सहरका नागरिक अब सार्वजनिक यातायातको माध्यमबाट एकापसमा जोडिने भएका छन् ।

गाउँ–बजार जोड्दै अन्तरपालिका यातायात

यातायात पहुँचबाट टाढा रहेका सेवाग्राही, विद्यार्थी, शिक्षक र कर्मचारीका लागि अन्तरपालिका सार्वजनिक यातायात सुरु भएपछि आपसमा जोडिन लागेका हुन् ।

अन्तरपालिका यातायातमा नौवटा स्थानीय तह जोडिनेछन् । यसका लागि नौवटै तह सम्मिलित एक समिति बनेको छ । समिति संयोजक तथा सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले गाउँ–बजारका नागरिकलाई एकापसमा जोड्ने र उनीहरूलाई स्तरीय यातायात सेवा दिने उद्देश्यले यस्तो योजना ल्याइएको बताए ।

अन्तरपालिका यातायात सञ्जालमा बुटवल उपमहानगरपालिकासहित सैनामैना, लुम्बिनी सांस्कृतिक, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिका छन् । गाउँपालिकामा कञ्चन, गैडहवा, सियारी र मायादेवी समेटिएका हुन् । सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत सेवा सञ्चालन हुनेछ । ‘यसका लागि नौवटै स्थानीय तहका प्रमुखबीच सैद्धान्तिक सहमति भएको छ,’ संयोजक कार्कीले भने, ‘स्थानीय तहले छुट्टाछुट्टै तयारी पनि थालेका छौं ।’

प्रारम्भिक तथ्यांकअनुसार अन्तरपालिका सडकको लम्बाइ ८० किलोमिटर हुनेछ । पश्चिममा सैनामैनाबाट सुरु भएको कञ्चन, गैडहवा, सियारी हँुदै लुम्बिनी पुग्नेछ । लुम्बिनीबाट पुन: मायादेवी, सिद्धार्थनगर, तिलोत्तमा, बुटवल हुँदै पुन: सैनामैना जोडिनेछ । गोलाकार सडक भएकाले यसलाई अन्तरपालिका रिङरोड भनिनेछ । त्यसमध्ये झन्डै ९५ प्रतिशत सडक पहिल्यै बनिसकेको छ ।

बाँकी आ–आफ्नो क्षेत्रमा पर्ने सडक स्थानीय तह आफैंले निर्माण गर्नेछन् । सडक निर्माण सम्पन्न भएपछि यातायातको रुट निर्धारण गरिनेछ । रुट इजाजतका लागि स्थानीय तहले पहल गर्नेछन् । ‘यसपछि मात्रै निजी क्षेत्रलाई आहान गरिनेछ,’ संयोजक कार्कीले भने, ‘सवारी निजी क्षेत्रले चलाउनेछन् । स्थानीय तहले निरन्तर सहजीकरण गर्नेछन् ।’ पहिलो चरणमा धेरै सिट क्षमताका ४८ वटा वातानुकूलित बस सञ्चालन गर्ने योजना छ । चालु वर्षको अन्त्यसम्ममा यातायात सुरु गर्ने तयारी छ । यसका लागि निजी क्षेत्रका व्यवसायीसित प्रारम्भिक छलफलसमेत भएको संयोजक कार्कीले बताए ।

अन्तरपालिका यातायात सञ्चालनलाई पर्यटन प्रवद्र्धन र कृषि उपजको बजारीकरणसँग समेत जोडिएको छ । सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारूका अनुसार अहिले सडक सञ्जाल राम्रो भए पनि सार्वजनिक सवारी अभावमा धेरै किसानले उत्पादित कृषि उपज बजार लैजान सकेका छैनन् ।

निजी सवारीबाट पुर्‍याउँदा साना किसानले धेरै मूल्य चुकाउनु परेको छ । ‘यो समस्या हटाउन र कृषि उपजको बजारीकरण गर्न पनि अन्तरपालिका सडक सञ्जाल उपयोगी हुनेछ,’ उनले भने, ‘स्कुल, क्याम्पस जाने विद्यार्थी र जागिर खान जाने कर्मचारी पनि यो सडकबाट धेरै लाभान्वित हुनेछन् ।’

सैनामैना नगरपालिकाबाट सुरु भएको अन्तरपालिका सडक सञ्जाल सुरुमा आसपासका दुई–तीन स्थानीय तहमा पुर्‍याउनेबारे छलफल भएको थियो । विज्ञहरूले बुद्ध जन्मस्थल लुम्बिनीलाई जोडेर सडक सञ्जाल बनाउन सकिने सुझाव दिएपछि यो नौ तहमा पुगेको हो । ‘यो सडक आन्तरिक पर्यटकलाई लुम्बिनी पुर्‍याउन र लुम्बिनी आएका पर्यटकलाई यहाँका पर्यटकीय क्षेत्रमा ल्याउन पनि धेरै उपयोग हुनेछ,’ तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले भने, ‘यसबाट पर्यटन प्रवद्र्धन गर्न र पर्यटनबाट फाइदा कमाउन सकिनेछ ।’

प्रकाशित : भाद्र ८, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?