आरनकै भरमा परिवार

कमल पन्थी

बर्दिया — जिल्लास्थित बारबर्दिया ३ खुरखुरे फाँटाका ६० वर्षीय देवी कामीको ढाड चल्दैन र कान पनि सुन्दैनन् । तर पनि उनको जाँगरमा कमी आएको छैन । नसुन्ने समस्या बाल्यकालदेखिकै हो । उनको मुख्य पेसा भने आरन चलाउने ।

बारबर्दिया ३ खुरखुरे फाँटाका देवी कामीको परिवार आरन चलाउँदै । तस्बिर : कमल

अहिले पनि उनी फलाम पिटेर हँसिया, कुटो, कोदालो बनाएर जीविकोपार्जन गरिरहेका छन् । शारीरिक समस्या उनमा मात्र होइन, उनकी श्रीमती, दुई छोरा र छोरीमा पनि छ । उनको परिवारका सबै सदस्य फरक क्षमता भएका छन् । ५० वर्षीया पत्नी देवीसराका हातका औंला छैनन् । एउटा खुट्टा पनि चल्दैन ।

तर, जसोतसो आरनमै बसेर पतिलाई सघाउँछिन् । उनीहरूले बनाएका फलामका सामान खरिद गर्न ग्राहक नआउँदा भने निराश छन् । आम्दानीको अन्य स्रोत छैन । रूखमुनि छाप्रामा बास छ । आँगनमा रहेको आरनमा फलाम पिट्छन् ।

Yamaha

नगरपालिकास्थित सामुदायिक वन क्षेत्रमा बस्दै आएको देवीको परिवारसित एक धुर पनि जग्गा छैन । फलाम पिट्ने र औजारमा धार लगाएबापत कहिलेकाहीं एक/डेढ सय रुपैयाँ आम्दानी हुन्छ । त्यसबाटै गुजारा चलाउने गरेको उनले सुनाए । ‘यतिले के पुग्छ र ? त्यसैले समस्या परिरहेको छ,’ देवीले भने । ‘जेठो छोरा यामेलाई मानसिक समस्या छ । ‘कान्छो छोरा टेकबहादुरको एउटा खुट्टा छैन,’ देवीले भने, ‘छोरी कान सुन्दिनन् । सबैको भर मैमाथि छ ।’ बेलाबेलामा मजदुरी पाएका दिन काम गर्न गाउँघर जाने गरेको उनले बताए । ‘परिवार नै अशक्त छ,’ देवीसराले भनिन्, ‘दैवले पनि हामीलाई नै कुन सजाय दिएको हो कुन्नि ?’ बिरामी हुँदा उपचार गर्न नजिकको अस्पताल गए पनि सबै औषधि नि:शुल्क पाइँदैन ।

यहाँ नभएका औषधि किन्ने रकम पनि उनीहरूसँग छैन । जेजति नि:शुल्क औषधि पाइन्छ, त्यसैको भर छ उनीहरूलाई । खुरखुरे फाँटामा ०६४ सालदेखि सुकुम्बासीका नाममा विभिन्न ठाउँबाट आएकाले वन अतिक्रमण गरी बस्दै आएका छन् । स्थानीय दीपक खत्रीले आम्दानीको स्रोत नभएका देवीलाई सहयोग गर्न चाहनेले खुरखुरे फाँटामा व्यवस्थापन गर्न खोजे पनि सबैको अवस्था कमजोर भएकाले गर्न नसकेको बताए ।

नगरपालिकाले देवीको परिवारलाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत मासिक दुई हजार रुपैयाँ उपलब्ध गराएको प्रमुख दुर्गाबहादुर थारूले बताए । उनीहरूलाई आयमूलक तालिम दिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

परिवारमा सबै फरक क्षमता भएका भए पनि काम गर्ने जोस/जाँगर अझै रहेको देवीले बताए । राज्यले छोराछोरीका लागि उपचार र रोजगार उपलब्ध गरिदिए ठूलो राहत मिल्ने उनले बताए ।

प्रकाशित : भाद्र ८, २०७५ ०९:०३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

उत्खननको अभावले पुरिँदै तामाखानी

‘हामीलाई खानीको संरक्षण गर्ने अधिकार छ तर उत्खनन अधिकार संघीय सरकारलाई मात्र छ’
हरि गौतम

रुकुमपूर्व — भूमे गाउँपालिका ३ झुम्लाबाङका ४५ वर्षीय झपिराम कामी आरन चलाउँछन् । जंगलबाट गोल नल्याए उनको आरनको पंखा घुम्दैन । तर, उनी यत्तिमै सन्तुष्ट छैनन् ।

रुकुमपूर्व भूमे ३ झुम्लाबाङकी एक महिला गाउँनजिकैको तामाखानीबाट निकालिएको ढाउ र त्यसबाट आएको तामाबाट बनेको पाथी देखाउँदै ।तस्बिर : हरि

आफ्नो बस्ती वरपरका तामाखानीबारे पनि उत्तिकै चिन्तित छन् । झुम्लाबाङमा पुग्ने जोकोहीलाई उनी यहाँका तामाखानीबारे बेलिविस्तार लगाउँछन् ।

खानीबारे कसैले चासो नदिए पनि नयाँ मान्छे देख्नासाथ उनी आफ्नो दायित्वजसरी सुनाइहाल्छन् । ‘हाम्रा बाजे/बराजु र बाका पालासम्म तामा निकालिएको ठाउँ अब पुरिनै लागेको छ । खै कसैले चासो नै दिँदैनन्,’ उनले भने, ‘मैले थाहा पाएका कुरा नयाँ मान्छे देख्नेबित्तिकै सुनाउने गर्छु ।’ आरनमा काम गर्ने भएकाले उनलाई खानीको विशेष चिन्ता छ । सानोमा बुबासँग आरनमा काम गर्दा यहाँका खानीबारे आफूलाई पनि जानकारी भएको उनले सुनाए ।

झपिरामले भनेजस्तै झुम्लाबाङका आधा दर्जनभन्दा बढी तामाखानी अहिले हराउने अवस्थामा पुगेका छन् । सरोकारवालाको ध्यान नपुग्दा लामो समयसम्म तामा निकालिएका यहाँका सातवटा खानी हाल पुरिने अवस्थामा पुगेका हुन् । पतेराखोला, खादीखोला, कोप्चे, रातापट्टी, ठूलपैरा, ढाले र डाङडाङे तामाखानी पुरिन लागेका छन् । ६० वर्षअघिसम्म तामा निकालिएका यी खानी क्रमश: पुरिँदै गएका हुन् । यी ठाउँका अतिरिक्त गोठिबाङ, टिमुरबाङ, डाङलीका, तुनबाङ, खासीबाङ, चौरीबाङ, धजाहाल्ने र डिमुरगैराबाट पनि केही दशकअघिसम्म तामा निकालिएको झुम्लाबाङवासी बताउँछन् ।

यहाँका खानीबाट तामा निकालेर बनाइएका भाँडाबर्तन अहिले पनि हरेक झुम्लाबाङवासीका घरमा पाइन्छन् । नजिकैको खानीबाट तामा निकालेर बनाइएका पाथी, खड्कुला र गाग्री झुम्लाबाङका प्राय: घरमा छन् । समाजसेवी रामबहादुर बुढामगरले ०१८ सालसम्म झुम्लाबाङमा खानीबाट तामा निकालिएको बताए ।

झुम्लाबाङमा तामाका पैसासमेत बनाउने गरेको उनको भनाइ छ । ‘पुर्खाले भनेअनुसार यहाँ सरकारले पैसासमेत काटेको थियो । विसं १९६४ सम्म पैसा काटिएको हामीले सुनेका छौं,’ बुढाले भने, ‘तामा त हामीले थाहा पाउँदासम्म पनि निकाल्ने गरिएको थियो ।’ खानीबाट ढाउ निकालेर त्यसलाई पगाली तामा बनाइने गरेको बुढाले बताए । आठ धार्नी ढाउबाट एक धार्नी तामा तयार गरेको आफैंले देखेको उनले सुनाए । झुम्लाबाङका केही वनमा तामाखानी रहेको उनको दाबी छ । ‘प्रशस्त तामाखानी भएका कारणले नै मानिसले झुम्लाबाङलाई रोजेका हुन्,’ उनले भने, त्यसबाहेक यहाँको बेग्लै कुनै आकर्षण देखिन्न ।’ यहाँ ठूलो बस्ती बस्नुमा तामाखानी मुख्य आकर्षण रहेको उनको दाबी छ ।

सरकारको बेवास्ताकै कारण यहाँका तामाखानी अहिले पुरिन लागेको स्थानीय शिक्षक होमजंग रानाले बताए । ‘तामाखानी निरन्तर चलाउन नसक्नुले समस्या भयो,’ रानाले भने, ‘उतिबेलाको सरकारले यसमा ध्यान नदिँदा अहिले त तामाखानी नै छ कि छैन भन्नेसम्मको अवस्था आयो ।’

भएको सम्पदाको सदुपयोग नहुँदा स्थानीय दु:खी छन् । प्रशस्त तामा पाइने भए पनि त्यसको पुन: उत्खननका लागि कतैबाट पहल तथा प्रयास नहुनु दु:खद भएको शिक्षक रानाले बताए । स्थानीयले तामाखानीको पुन: उत्खननका लागि भनेर पटकपटक केन्द्रीय सरकारसँग माग पनि गरेका छन् । तर, अहिलेसम्म त्यसको कुनै सुनुवाइ भएको छैन ।

भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले ३ नम्बरका साथै ४ र ५ नं. वडाका विभिन्न ठाउँमा तामाखानी रहेको बताए । २ नम्बर वडाको काँक्री र ६ को महतमा फलामखानी रहेको जानकारी पनि उनले दिए । ‘हामीलाई खानीको संरक्षण गर्ने अधिकार छ तर उत्खनन अधिकार संघीय सरकारलाई मात्र छ,’ अध्यक्ष बुढाले भने, ‘हामीले खानी उत्खननका लागि संघीय सरकारलाई विशेष आग्रह गरेका छौं ।’ पुरिएर लोप हुने अवस्थामा पुगेका फलाम र तामाखानी उत्खनन गर्न ढिला गर्न नहुने उनको भनाइ छ ।

प्रकाशित : भाद्र ८, २०७५ ०९:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT