कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आरनकै भरमा परिवार

कमल पन्थी

बर्दिया — जिल्लास्थित बारबर्दिया ३ खुरखुरे फाँटाका ६० वर्षीय देवी कामीको ढाड चल्दैन र कान पनि सुन्दैनन् । तर पनि उनको जाँगरमा कमी आएको छैन । नसुन्ने समस्या बाल्यकालदेखिकै हो । उनको मुख्य पेसा भने आरन चलाउने ।

आरनकै भरमा परिवार

अहिले पनि उनी फलाम पिटेर हँसिया, कुटो, कोदालो बनाएर जीविकोपार्जन गरिरहेका छन् । शारीरिक समस्या उनमा मात्र होइन, उनकी श्रीमती, दुई छोरा र छोरीमा पनि छ । उनको परिवारका सबै सदस्य फरक क्षमता भएका छन् । ५० वर्षीया पत्नी देवीसराका हातका औंला छैनन् । एउटा खुट्टा पनि चल्दैन ।

तर, जसोतसो आरनमै बसेर पतिलाई सघाउँछिन् । उनीहरूले बनाएका फलामका सामान खरिद गर्न ग्राहक नआउँदा भने निराश छन् । आम्दानीको अन्य स्रोत छैन । रूखमुनि छाप्रामा बास छ । आँगनमा रहेको आरनमा फलाम पिट्छन् ।

नगरपालिकास्थित सामुदायिक वन क्षेत्रमा बस्दै आएको देवीको परिवारसित एक धुर पनि जग्गा छैन । फलाम पिट्ने र औजारमा धार लगाएबापत कहिलेकाहीं एक/डेढ सय रुपैयाँ आम्दानी हुन्छ । त्यसबाटै गुजारा चलाउने गरेको उनले सुनाए । ‘यतिले के पुग्छ र ? त्यसैले समस्या परिरहेको छ,’ देवीले भने । ‘जेठो छोरा यामेलाई मानसिक समस्या छ । ‘कान्छो छोरा टेकबहादुरको एउटा खुट्टा छैन,’ देवीले भने, ‘छोरी कान सुन्दिनन् । सबैको भर मैमाथि छ ।’ बेलाबेलामा मजदुरी पाएका दिन काम गर्न गाउँघर जाने गरेको उनले बताए । ‘परिवार नै अशक्त छ,’ देवीसराले भनिन्, ‘दैवले पनि हामीलाई नै कुन सजाय दिएको हो कुन्नि ?’ बिरामी हुँदा उपचार गर्न नजिकको अस्पताल गए पनि सबै औषधि नि:शुल्क पाइँदैन ।

यहाँ नभएका औषधि किन्ने रकम पनि उनीहरूसँग छैन । जेजति नि:शुल्क औषधि पाइन्छ, त्यसैको भर छ उनीहरूलाई । खुरखुरे फाँटामा ०६४ सालदेखि सुकुम्बासीका नाममा विभिन्न ठाउँबाट आएकाले वन अतिक्रमण गरी बस्दै आएका छन् । स्थानीय दीपक खत्रीले आम्दानीको स्रोत नभएका देवीलाई सहयोग गर्न चाहनेले खुरखुरे फाँटामा व्यवस्थापन गर्न खोजे पनि सबैको अवस्था कमजोर भएकाले गर्न नसकेको बताए ।

नगरपालिकाले देवीको परिवारलाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत मासिक दुई हजार रुपैयाँ उपलब्ध गराएको प्रमुख दुर्गाबहादुर थारूले बताए । उनीहरूलाई आयमूलक तालिम दिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

परिवारमा सबै फरक क्षमता भएका भए पनि काम गर्ने जोस/जाँगर अझै रहेको देवीले बताए । राज्यले छोराछोरीका लागि उपचार र रोजगार उपलब्ध गरिदिए ठूलो राहत मिल्ने उनले बताए ।

प्रकाशित : भाद्र ८, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?