३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

कालोपत्रेले जोडिँदै जिल्ला

प्यूठान — प्रदेश ५ लाई गण्डकीसित जोड्ने उद्देश्यले यहाँको बाग्दुला–भीमगिठे सडक कालोपत्रे थालिएको छ । ‘एक्जिम बैंक’ मार्फत भारत सरकारको ऋण लगानीमा प्यूठानको बाग्दुलादेखि बागलुङको भीमगिठेसम्म ७३ किलोमिटर सडक कालोपत्रे गर्न लागिएको हो ।

कालोपत्रेले जोडिँदै जिल्ला

सडक विभाग, सडक सुधार आयोजनामार्फत करिब तीन अर्ब लागतमा तीन वर्षभित्रमा दुई लेनको सडक निर्माण गरेर कालोपत्रे गरिने परियोजना संयोजक सुशीलबाबु ढकालले जनाए ।

आवश्यक डिजाइन स्टिमेट सकेर निर्माण प्रक्रियाका लागि टेन्डर गरिएको ढकालले जानकारी दिए । ‘प्यूठानको बाग्दुलामा छुट्टै कार्यालय स्थापना गरेर काम थालिनेछ,’ ढकालले भने, ‘भारत सरकारको सहमति भएकाले अब काम गर्नमा कुनै अन्योल छैन ।’ उनले हाल ट्यांक खोलिएको सडकलाई नौ मिटर चौडा बनाएर सात मिटर चौडामा कालोपत्रे गरिने बताए । बाग्दुलादेखि अर्खासम्म कच्ची सडक निर्माण भइसकेको छ । सडक क्षेत्रमा रहेका भौतिक संरचनाको मूल्यांकनका आधारमा क्षतिपूर्ति दिई हटाएर फराकिलो बनाइने ढकालले बताए ।

सडकको सन् २०१६ मा विस्तृत अध्ययन गरिएको थियो । ‘निर्माणका लागि टेन्डर निकालेका छांै । दसैंअगाडि नै निर्माण कम्पनी छनोट हुन्छ,’ उनले भने, ‘त्यसपछि काम थालिनेछ ।’ उनले एउटै निर्माण कम्पनीबाटै काम गरिने गरी ठेक्का भएको बताए । निर्माण अवधिमा आयोजना प्रमुखको कार्यालय, परामर्शदाताको कार्यालय निर्माणस्थलमै राखेर आवश्यक रेखदेख हुने ढकालले जानकारी दिए ।

आयोजनाका अनुसार सडक निर्माण भएपछि सडक क्षेत्रका १० हजार ९ सय १० घरधुरीका ५१ हजार ९ सय जनाले प्रत्यक्ष फाइदा लिनेछन् । यो सडक निर्माण पूरा भएर कालोपत्रे भए पनि प्यूठान, रोल्पा, गुल्मी, अर्घाखाँची र बागलुङवासीलाई केन्द्रीय राजधानी काठमाडौं जाने वैकल्पिक मार्ग हुनेछ । म्याग्दी, बागलुङ क्षेत्रकालाई पूर्व–पश्चिम राजमार्ग हुँदै पश्चिमको यात्रा गर्न सहज हुनेछ ।

भारतको कोइलावास हुँदै दाङ–भालुबाङ, प्यूठान–बाग्दुला, बागलुङ–भीमगिठे भएर मुस्ताङ पुगी चीन जोड्ने उक्त सडकको लक्ष्य रहेको सडक डिभिजन कार्यालय प्यूठानका प्रमुख सुरेश न्यौपानेले बताए । भालुबाङदेखि भीमगिठेसम्मको दूरी १ सय ३२ किलोमिटर छ ।

भालुबाङ–बाग्दुला ५९ किलोमिटर यसअघि नै कालोपत्रे भइसकेको छ । क्षेत्रीय सडक कार्यक्रमअन्तर्गत पहिले डिभिजन कार्यालय, प्यूठानमार्फत निर्माण गर्दै आएको न्यौपानेले बताए । ‘वार्षिक ३०/३५ लाख बजेट खर्च गरेर क्षेत्रीय सडक कार्यक्रमअन्तर्गत काम भइरहेको थियो,’ न्यौपानेले भने, ‘पछि दुई प्रदेश जोड्ने महत्त्वपूर्ण सडक मानी आयोजनामार्फत कालोपत्रे हुन थाल्यो ।’

क्षेत्रीय सडकमार्फत दुई वर्षअघि प्यूठानको अर्खादेखि बागलुङको सिमाना आरबारेसम्म ‘ट्रयाक’ सुचारु गरिएको न्यौपानेले बताए । उनका अनुसार आरबारेसम्म बागलुङतर्फबाट सडक खुलेको छ । हाल यो सडकमा बाग्दुलादेखि अर्खाको पैयुँपाटासम्म नियमित जिप चल्ने गरेको छ ।

प्रकाशित : भाद्र ९, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?