कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विदेशको कर्म, स्वदेशमै मन

४५ लाख खर्चेर भवन निर्माण
माधव अर्याल

तानसेन (पाल्पा) — जुन मान्छेको मन समाजसेवामा हुन्छ, त्यस्तालाई कसैले रोकेर रोकिँदैन । तानसेन नगरपालिका ३ भगवतीटोलका निरजगोविन्द श्रेष्ठ त्यस्तै मनकारी ठहरिए ।

विदेशको कर्म, स्वदेशमै मन

उनले तानसेन ३ भगवती टोलकै प्रख्यात रणउजिरेश्वरी भगवती मन्दिर परिसरमा ४५ लाख खर्चिएर कलात्मक भवन बनाइदिएका छन् । श्रेष्ठ ३५ वर्षदेखि रसिया बस्छन् ।

उनको मन भने जन्मथलोमै रहेछ । यही कुराको प्रमाणित गरिदिएको उनका आफन्त सुनीलगोविन्द श्रेष्ठले बताए । उनले यसअघि पनि काठमाडौंको पशुपतिमा किरियापुत्री कोठा बनाइदिएका थिए ।

धार्मिकस्थल देवघाटमा वृद्धवृद्धा बस्ने कोठा निर्माण गरेका छन् । तानसेनकै जनता माविमा छात्रवृत्ति कोष खडा गरेका छन् । ‘मुलुकबाहिर बसे पनि मलाई आफ्नै देशमा समाजसेवा गर्ने इच्छा थियो,’ उनले भने, ‘त्यसैले यहीं केही गर्न मन लागेर सानो प्रयास थालेको हुँ ।’

१० वर्षअघि नै सोचेको इच्छा अहिले आएर पूरा भएको उनले बताए । ‘मलाई आमाको स्वर्गारोहण हुँदादेखि नै केही गर्ने इच्छा थियो,’ भवनको साँचो हस्तान्तरण गर्दै उनले भने, ‘अहिले आएर पूरा भएकोमा खुसी लागेको छ ।’ भगवती मन्दिर गुठी व्यवस्थापन समिति अध्यक्ष राजेश्वर उदयको आग्रहमा उनले भवन निर्माण गरेका हुन् । उदय अध्यक्ष भएकै समयमा उनैलाई कलात्मक भवनको साँचो दिन पाएकोमा उनले खुसी व्यक्त गरे । उनले आमा चन्द्र, बुबा जितगोविन्द र दाजु राजेन्द्रगोविन्द देउरालीको सम्झनामा भवन निर्माण गरेको बताए ।

आफन्त सुनीलगोविन्दको रेखदेखमा भवन बनेको हो । ऐतिहासिक एवं धार्मिक क्षेत्र भएकाले पुरातत्त्व विभागको स्वीकृति लिइएको छ । भगवती मन्दिरको दक्षिण भेगमा कलात्मक भवन बनेको छ । भक्तपुरको कलात्मक शैलीमै भवन निर्माण भएको उनले बताए । ‘त्यहीँका शिल्पीहरू ल्याएर सोहीअनुसार बनेको छ,’ श्रेष्ठले भने ।

भक्तपुरे कलात्मक शैलीले काम गर्दा र गुठीले जग्गा व्यवस्थापनमा केही समय लगाउँदा भवन निर्माणमा ढिलाइ भएको उनी बताउँछन् । भवनमा कार्यालय, भजनकिर्तन र अन्य औपचारिक कार्यक्रम सहज हुने मन्दिर व्यवस्थापन समिति अध्यक्ष उदयले बताए । ०७४ साउनबाट भवन निर्माण सुरु भएको थियो ।

आमा बित्दा किरिया बसेका श्रेष्ठलाई भगवती गुठीका अध्यक्ष राजेश्वर उदयले केही देखिने काम गर्न सुझाव दिएका थिए । सोही कुरालाई मनन गर्दै भगवती मन्दिर वरपर केही देखिने काम गर्ने इच्छा उनले देखाएका हुन् । निरजगोविन्द तानसेन ३ ठाडोगल्ली, भगवतीटोलमा जन्मेका हुन् । परिवारसहित रसियामै बस्ने उनको हेभी इक्विपमेन्टको व्यापार छ । बुढेसकाल तानसेनमै बिताउने उनको रहर छ ।

साँचो हस्तान्तरण कार्यक्रममा प्रदेश सांसद डा. पुरनमान वज्राचार्यले कर्मथलो बाहिर भए पनि जन्मस्थानको माया प्रगाढ देखिएको बताए । ‘यस्तो सहयोगलाई तानसेनवासीले कहिल्यै भुल्न सक्दैनन्,’ उनले भने, ‘यस्तो महान् कार्यले शान्ति पनि मिल्छ ।’

जिसस सभापति दयाराज बस्याल, तानसेन नगरपालिका प्रमुख अशोककुमार शाही, गुठी व्यवस्थापन समितिका सल्लाहकार बुद्धिप्रसाद शर्माले तानसेनमा जन्म तर कर्म बाहिर रहेका सबैले यसरी नै जन्मथलोको विकासका लागि सहयोग गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित : भाद्र ९, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?