कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पाल्पाका सुन पसल बन्द

पाल्पा — तिनाउ गाउँपालिका ६ की दानकुमारी दर्लामी मगर तानसेनमा सुन पसल खोज्दै हिँडिन् । जति भौंतारिए पनि कहींकतै खुला पाउन सकिनन् ।

पाल्पाका सुन पसल बन्द

बसपार्कदेखि ठाडो गल्ली, असनटोल हुँदै भीमसेनटोल, टक्सारसम्म कुनै पसल खुला नहुँदा सुन किन्न नपाएपछि उनी रित्तै फर्किन् । ‘तानसेनका सुन पसल किन बन्द हुन् ?’ घर फर्किंदै गर्दा बसपार्कमा भेटिएकी उनले सोधिन्, ‘तीज आउन लाग्यो । सुन किन्न पैसा बोकेर आएका बेलामा बर्बादै बनाए ।’

दर्लामी मात्र होइन पाल्पाका कुनै पनि स्थानमा बिहीबारदेखि कसैले पनि सुनको गहना बनाउन, नयाँ किन्न पाएका छैनन् । नेपाल सुनचाँदी व्यवसायी महासंघबाट सुन नआएपछि सबै पसल बन्द भएका हुन् । महासंघको पाल्पा शाखा र रामपुर इकाइले सुन पसल बन्द गर्दा ग्राहक अलमलमा परेका छन् ।

सिजनका बेला सुनका गहना बनाउन नपाउँदा ग्राहकसमेत रुष्ट छन् । ‘हामीलाई उपलब्ध गराउँदै आएको सुन नपाएकाले सांकेतिक विरोध गरेका हौं,’ नेपाल सुनचाँदी व्यवसायी महासंघ पाल्पा शाखा अध्यक्ष राजेन्द्रमुनि शाक्यले भने, ‘कसले बदमासी गरेको हो, थाहा भएन । तर, हामीले सुन पाइएन ।’

नेपाल राष्ट्र बैंकले उपलब्ध गराउँदै आएको कोटाको सुन अत्यन्तै न्यून पाएको व्यवसायी बताउँछन् । अहिले दिँदै आएको कोटासमेत कटौती गरेकाले समस्या आएको उनले बताए । उनीहरूले यसैको विरोधस्वरूप तीन दिन सुनचाँदी पसल बन्द गर्ने निर्णय गरेका छन् । ‘सिजनका बेला यसरी पसल बन्द गरेर राख्न हामीलाई पक्कै पनि रहर थिएन,’ शाक्यले भने, ‘सरकार वा महासंघ कसको चलखेल हो तर हामी मर्कामा परेका छौं ।’

सरकारले महासंघलाई दैनिक २० किलो सुन दिँदै आएको छ । अहिले सुनको प्रतितोला ५६ हजार ६ सय छ । तानसेन, हार्थोक, छहरा, आर्यभञ्ज्याङ, ताँहु, रामपुरलगायत स्थानमा ८० पसल छन् । रामपुरमा समेत सुनचाँदी व्यवसायी समिति इकाइ खुलेको छ । रामपुरका अध्यक्ष अर्जुन सुनारको अध्यक्षतामा बैठक बसेर सुनको आपूर्ति सहज बनाउन आग्रह गरेको छ । ‘सुनै नपाएपछि पसल खोलेर के गर्नु ? त्यसैले बन्द गर्नु परेको हो,’ इकाइ अध्यक्ष सुनारले भने, ‘अब सबै पसल बन्द गर्नुको विकल्प छैन ।’

जिल्लाका सबै सुन पसल अहिले पूर्णरूपमा बन्द छन् । आफूहरूका माग सम्बन्धित निकायले पूरा नगरे चरणबद्ध रूपमा केन्द्रको आन्दोलनलाई ऐक्यबद्धता गर्दै विरोधमा उत्रिने व्यवसायीले जनाएका छन् ।

प्रकाशित : भाद्र ९, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?