कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उत्पादन बढाउँदै किसान

बजार सहज भएसँगै उत्साह बढ्यो
घनश्याम गौतम

हुँगा (गुल्मी) — यहाँका किसानलाई उत्पादन गरेका सामग्री बिक्रीका लागि बजार खोज्दै हिँड्नु पर्दैन । जे उत्पादन गरे पनि बिक्री हुन्छ । लगानी डुब्ने चिन्ता पनि छैन ।

उत्पादन बढाउँदै किसान

बिक्री भएको सामग्री लिन बारीमै पुग्ने व्यापारीले नगद चाहे नगद र सामग्री आवश्यक परे सामग्री नै दिन्छन् ।

बिक्रीको ग्यारेन्टी र बिनाझन्झट आम्दानी पनि घरमै बसेर हुने भएपछि छत्रकोट गाउँपालिका १, हुँगा डम्मीका २५ वर्षीय भुवन खराल ४ वर्षदेखि व्यावसायिक कृषि खेतीमा छन् । स्नातक उत्तीर्ण उनले १२ रोपनी वार्षिक १० हजार रुपैयाँ भाडामा लिएर यस वर्ष २२ हजार खुर्सानीका बोट लगाएका छन् । दैनिक ४ जनालाई बोटको हेरचाह र सरसफाइ गर्ने गरी रोजगारी पनि दिएका छन् ।

गत वर्ष ४ लाख रुपैयाँ आम्दानी गरेका उनले यस वर्ष सबै खर्च कटाएर खुर्सानीबाट मात्रै ६ लाख आम्दानी गर्ने बताए । ‘अन्य किसान डोकोमा बोकेर बजार खोज्दै हिँडेको देख्दा मलाई खेती गर्ने मन थिएन,’ उनले भने, ‘गाउँमै आएर खरिद गर्छौं, खेती गर्नुस् भनेपछि सुरु गरें ।’ खुर्सानीसँगै उनले ८ हजार टमाटर, २ हजार बन्दा र ८ सय बोट काँक्रो लगाएका छन् । कृषि उत्पादन खोज्दै किसानको बारीमा ४ वर्षदेखि पैंचो पसलका प्रतिनिधि आउन थालेको उनले बताए ।

गुल्मीका २ दर्जन बढी वडामा अहिले व्यावसायिक तरकारी र फलफूल खेती गर्ने किसान दुई हजारभन्दा बढी छन् । हुँगा, दिगाम, हर्दिनेटा, पल्लिकोट, रुरु, बलेटक्सार, वीरबास, गौडाकोट, थानपतीलगायत भिरालो जग्गा सबै तरकारी र फलफूलले ढाकिएका छन् । खेती लगाउँदा बाँदरले खाइदिने समस्याबाट पनि किसान मुक्त छन् ।

गाउँमा बाँझिएका जग्गा हरियालीमा परिणत हुँदै छन् । जग्गा त्यत्तिकै छोडेर कोही बसाइँसराइ गर्न थाले युवा नै त्यस्तो जग्गा खोज्दै पुग्छन् । भाडामा जग्गा लिन्छन् र व्यावसायिक खेती गर्छन् । त्यस्तै किसानमध्येका अर्का युवा हुन्, छत्रकोट १, हुँगाकै २९ वर्षीय लक्ष्मण न्यौपाने ।

उनले गाउँबाट बसाइँ सरेर तम्घास गएका स्थानीय जमुना न्यौपानेको ८ रोपनी भिरालो जग्गा वार्षिक २० हजारमा भाडामा लिएका छन् । भारतमा १२ वर्ष नोकरी गरेर फर्केका उनले गाउँमै किराना पसल गरे । न्यौपाने परिवार बसाइँ सर्न थालेपछि उनले त्यही जग्गा भाडामा लिएर ४ वर्षदेखि तरकारी खेती गरिरहेका छन् ।

उनले उत्पादन गरेका सबै तरकारी बलेटक्सारमा वस्तुसँग वस्तु नै साट्ने गरी खुलेको पैंचो पसल प्रालिले खरिद गर्छ । ‘मेरो ११ रोपनीमा लगाएका ६ हजार ५ सय बोटमा फलेका सबै टमाटर बिक्री भइसकेका छन्,’ उनले भने, ‘मलाई बजारको कुनै चिन्ता छैन, पाक्ने बेलासम्म कसरी जोगाउने भन्ने मात्र हो ।’ टमाटर पाक्न थालेपछि प्रतिकिलो ३० रुपैयाँका दरले खरिद गर्ने गरी पैंचोसँग सम्झौता भइसकेको उनले बताए । टमाटरसँगै उनको बारीमा १० हजार फूलगोभीका बोट छन् । गोभीको अझै मूल्य तय भएको छैन । गत वर्ष ७ लाख रुपैयाँ आम्दानी गरेका उनले यस वर्ष १५ लाख पुर्‍याउने उद्देश्यसहित खेती गरेका छन् ।

४ जनालाई रोजगारी दिएका छन् । पैंचोले बारीमै पुगेर मेथी, सोफ, चम्सुर, गिठा, बोडी, सिमी, भटमास, गोभीदेखि वनमा पाइने अमला, चिउरी, भ्याकुर, तामा, सिस्नुलगायत सामग्री खरिद गर्छ । बारी तथा छेउछाउको जंगलमा फलेको तर आफूलाई उपयोगी नहुने सामग्री पसललाई दिने र किसानले त्यसको मूल्य निर्धारण गरी त्यसबापत प्राप्त हुने पैसाले चिनी, तेल, नुन, दाल, कपडालगायत सामग्री लैजाने व्यवस्था छ ।

किसानको उत्पादन लिन पैंचोका गाडी अन्य सामग्री बोकेर घरमै पुग्छन् । बारी र जंगलमा खेर गइरहेका कृषिजन्य उत्पादन संकलन गरी बजारीकरण गर्ने र किसानलाई त्यसको मूल्य ग्यारेन्टी गर्ने पैंचोको मुख्य उद्देश्य रहेको प्रबन्ध निर्देशक धु्रव न्यौपानेले बताए । ‘यो किसानका लागि दोहोरो सुविधा र फाइदा हो,’ उनले भने, ‘सामग्री आवश्यक नपरेको खण्डमा किसानले नगदै बुझ्छन् ।’ गाउँबाट पुराना र लोप हुँदै गएका कृषि उत्पादनको संरक्षण र उत्पादन गरेका सामग्री कुहिएर खेर जाँदा नोक्सान बेहोर्ने गरेका किसानको सुविधाका लागि पैंचो पसल खुलेको उनले बताए ।

पसलले किसानबाट संकलन गरिएका कृषि सामग्री प्रशोधनका लागि रिडीमा उद्योग खोलेको छ । पैंचोमा अहिले नियमित वस्तु बिक्री गर्ने व्यावसायिक किसान ३ हजारभन्दा बढी रहेको अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । पसलले ४ वर्षमा झन्डै ८ करोड रुपैयाँ किसानलाई सामग्रीबापत हस्तान्तरण गरेको छ । ‘अहिले हामी कृषिजन्य उत्पादन गर्ने किसान नै उत्पादन गर्ने अभियानमा छौं,’ उनले भने, ‘किसानलाई कृषि प्राविधिकदेखि माटो परीक्षण र सिजन अनुसारका बाली लगाउन पनि सिकाउँदै छौं ।’

छत्रकोट गाउँपालिका १, हुँगाका वडाध्यक्ष धातानन्द भण्डारीका अनुसार झन्डै ७ सय घरधुरी रहेको हुँगामा १ सय ५० बढी व्यावसायिक किसान छन् । त्यसमा पनि अधिकांश युवा छन् । ‘पैंचोले उत्पादनसँगै किसान पनि धेरै बढायो,’ उनले भने, ‘उत्पादन गरे पुग्छ, बिक्रीको समस्या छैन ।’ पैंचोले सबै किसानलाई व्यावसायिक बनाएको उनले बताए ।

गाउँमा किसान बढ्दै गएपछि वडाले किसानको उत्पादनका आधारमा पेन्सन दिने गरी योजना तयार गर्दै छ । पैंचोका सञ्चालक शरण कर्माचार्यका अनुसार २५ करोड लगानीमा सञ्चालन भइरहेको पैंचोका १८ शाखा र ३६ संकलन केन्द्र छन् । रिडीमा प्रशोधन केन्द्र र बुटवलमा बिक्री केन्द्र छ । ३ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रकाशित : भाद्र १०, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?