मासु र डेरी पसल मापदण्डविपरीत

बाँके — कोहलपुर नगरपालिकाभित्रका मासु र डेरी पसल कसरी गुणस्तरीय बनाउने भन्ने विषयमा व्यवसायीसित छलफल गरिएको छ ।

मासु र डेरी पसल मापदण्डविपरीत

नगरभित्रका अधिकांश मासु र डेरी पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएपछि उपभोक्ता हित संरक्षण समितिले व्यवसायीसँग छलफल गरेको हो ।

छलफलमा नगरभित्रका १ सय ५० भन्दा बढी मासु तथा डेरी व्यवसायी उपस्थित थिए । यसअघि बजार अनुगमन समितिले नगरका ९० प्रतिशतभन्दा बढी मासु पसल र डेरी मापदण्ड पूरा नगरेरै सञ्चालन भइरहेको जनाएको थियो । व्यवसायीले आवश्यक सरसफाइ नगरेको, कम गुणस्तरका वस्तु बेचेको, पसल दर्ताबिनै सञ्चालन गरेको, खुला रूपमै पशुपक्षीको वध गरेको पाइएको बजार अनुगमन समितिले जनाएको थियो ।

बजार अनुगमन समितिको प्रतिवेदनपछि उपभोक्ता हित संरक्षण समितिले व्यवसायीहरूसँग छलफल गरेको हो । अधिकांश व्यवसायीले मापदण्ड पूरा नगरेको पाइएपछि उपभोक्ता हित संरक्षण समितिले सबैभन्दा पहिले व्यवसायीलाई नियमबारे जानकारी गराउन आवश्यक रहेको भन्दै छलफल गराएको हो ।

समिति संयोजक तथा नगर उपप्रमुख सन्जुकुमारी चौधरीले पहिले व्यवसायीहरूलाई जानकारी गराउन छलफल गरिएको बताइन् । छलफलपछि व्यवसायी सकारात्मक रहेकाले अब मासु र डेरी पसलमा सुधार हुने आशा चौधरीले गरेकी छिन् । आफूहरूले मापदण्डबारे जानकारी गराइसकेकाले अब पनि अटेर गर्ने व्यवसायीलाई कारबाही गर्ने उनको भनाइ छ ।

मासु व्यवसायी मीनु थापाले कोहलपुरमा मासु तथा डेरी व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा रहेको स्वीकार गरे । उनले व्यवसायीबीचमा भएको अस्वस्थ प्रतिस्पर्धाका कारण मूल्यमा एकरूपता नभएको बताए । सबैभन्दा पहिला मासुको मूल्य निर्धारण गरिनुपर्ने व्यवसायी थापाले बताएका छन् ।

आफूहरूलाई सँगै राखेर छलफल गराएकाले व्यवसायीहरू उत्साहित भएका छन् । व्यवसायीहरूले जतिसक्दो छिटो मासु व्यवसायीलाई व्यवस्थित गर्न बधशाला सञ्चालनमा ल्याउन नगरपालिकासँग माग गरेका छन् । साथै आफ्नो क्षमता र सीप विकासका लागि तालिमको माग व्यवसायीहरूले गरेका छन् । स्थानीय तहले कानुन निर्माणपछि उपप्रमुखको संयोजकत्वमा उपभोक्ता हित संरक्षण समिति गठन गरेको छ । समितिले बजार अनुगमन टोलीले दिएको प्रतिवेदनका आधारमा आवश्यक काम गर्ने गर्छ ।

चाडपर्व नजिकिँदै गर्दा मासु तथा दूधजन्य पदार्थको उपभोग पनि बढ्छ । गुणस्तर नभएको मासु र दूधजन्य पदार्थ खाँदा स्वास्थ्यमा असर पर्ने हुनाले यसमा कडाइ गरिने उपप्रमुख सन्जुकुमारी चौधरीले बताइन् । मासु तथा दूधजन्य पदार्थको गुणस्तरीय उत्पादनलाई प्रोत्साहन गरिने उनले बताइन् । खाद्य वस्तुको गुणस्तरीयतालाई ख्याल गर्दै नियमित अनुगमन गरेर व्यवस्थित गरिने उपप्रमुख चौधरीको भनाइ छ ।

प्रकाशित : भाद्र १०, २०७५ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?