विवाह, मृत्यु दर्ता गरे भत्ता पाइने

पाल्पा — स्थानीय तहमा सर्वत्र करको विरोध भइरहेका बेला रामपुर नगरपालिका ६ ले तोकिएको समयमा विवाह र मृत्यु दर्ता गर्नेलाई भत्ता दिने निर्णय गरेको छ ।

विवाह, मृत्यु दर्ता गरे भत्ता पाइने

वडा कार्यालयले उमेर पुगेर विवाह भएको ११ दिन र मृत्यु भएको १५ दिनभित्र घटना दर्ता गराउन आउनेलाई २ सय ५० रुपैयाँ भत्ता दिने निर्णय गरेको हो ।

वडाध्यक्ष हुमनाथ न्यौपानेका अनुसार समयमा विवाह र मृत्यु दर्ता नहुँदा धेरै समस्या देखिएकाले यस्तो निर्णय गर्नु परेको हो । ‘समयमा घटना दर्ता नगर्दा समस्या आउने देखियो,’ उनले भने, ‘त्यसैले समयमै दर्ता गर्न प्रोत्साहन मिलोस् भनेर यस्तो निर्णय गरिएको हो ।’ साउनबाटै यस्तो नीति लागू गरिएको भए पनि भदौको पहिलो सातासम्म वडामा एक जना पनि घटना दर्ता गर्न आएका छैनन् । ‘नीति लागू भएपछि अहिलेसम्म एक जनाको पनि घटना दर्ता भएको छैन,’ पञ्जिकाधिकारी वासुदेव ढकालले भने, ‘अब आउनेले पनि तोकिएको सुविधा भने पाउने छन् ।’

३५ दिनभित्र कार्यालयमा आउनेलाज्ञई सरकारले नि:शुल्क सेवा प्रवाहको व्यवस्था गरेको छ । तर पनि अधिकांश लामो समयसम्म घटना दर्ता गर्नै आउँदैनन् । ‘हामीले प्रोत्साहनका लागि यातायात भत्ता पनि प्रदान गर्ने निर्णय गरेका छौं,’ वडाध्यक्ष न्यौपानेले भने, ‘३५ दिनभित्र दर्ता गरे नि:शुल्क छ । त्यसमा पनि उल्टै हामीले यातायात भत्ता दिन्छौं ।’ ३५ दिन कटेपछि भने ५० रुपैयाँ लिने गरेको उनले बताए । घटना दर्ता गराउन नआउने समस्या धेरै आएकाले प्रोत्साहन भत्ताको निर्णय गर्नुपरेको न्यौपानेले बताए ।

आर्थिक वर्ष ०७४/७५ को वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा गत वर्ष वडाबाट २९ जनाको मृत्यु दर्ता गरिएको उनले बताए । यस्तै, ८५ जनाको विवाह दर्ता भएको छ । २१ वटा बसाइँसराइका प्रमाणपत्र दिएको उनले बताए । वडा ६ मा गत आवमा १ सय ६९ जनाले जन्म दर्ता गराएका छन् । अघिल्लो आर्थिक वर्षमा वडा कार्यालयले १ लाख ७९ हजार ३ सय ८० रुपैयाँ आम्दानी गरेको थियो ।

प्रकाशित : भाद्र १०, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?