१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

पुलसहित दर्जनौं गाउँ जोखिममा

बर्दिया — कैलाली र बर्दिया जोड्ने राजापुरस्थित कर्णाली नदीमा निर्मित पुल बाढीको कटानले उच्च जोखिममा पर्न थालेको छ ।

पुलसहित दर्जनौं गाउँ जोखिममा

३ वर्षअघि निर्माण सम्पन्न भए पनि हस्तान्तरण नभएको राजापुर ४ स्थित कर्णाली पुलको पूर्वी भागको तटबन्ध कमसल भएका कारण उच्च जोखिममा परेको हो ।

पुलसँगै जोडिएको पूर्वी तटबन्धका जालीसहित ढुंगा कर्णाली नदीले बगाएपछि आसपासका दर्जनौं गाउँ पनि उच्च जोखिममा परेका छन् । पुल जोगाउने प्रयास भए पनि तटबन्ध नहुँदा गाउँ जोखिममा परेको राजापुर नगरपालिका ४ का वडाध्यक्ष रमण रेग्मीले बताए । कटान रोकिएन भने संघर्षनगर, भालुफाँटा, छेदिया, सत्तार फारम, शंकरनगरलगायत दर्जनौं गाउँ डुबानमा पर्ने उनले जनाए ।

पुल आसपासमा निकै कमसल खालको तटबन्ध निर्माण भएकै कारण तारजाली सहितको ढुंगा बगाएको स्थानीयको भनाइ छ । राजापुर नगरपालिकाका प्रमुख शिवकुमार चौधरीले तत्काल तटबन्धको काम सुरु नगरिए पुल बग्ने खतरा बढेको बताए । हुलाकी आयोजनाले पुल वरिपरि तटबन्ध गर्न ढिलासुस्ती गरेको उनको आरोप छ । ‘यस्तो अवस्था रहिरहयो भने वर्षायाममा पुलको बीचबाट पानी बग्छ,’ उनले भने, ‘त्यसपछि दर्जनौं गाउँ डुब्ने निश्चित छ ।’

उक्त पुल झन्डै ४५ करोडको लागतमा निर्माण भएको थियो । कर्णाली नदीमा निर्मित पुल ५ सय ३१ मिटर लामो छ । ०६८ माघबाट सुरु भई करिब ३ वर्षअघि उक्त पुल सम्पन्न भएको थियो । कैलालीसँग जोडिने पुलसम्म पुग्ने सडकसमेत निर्माण भएको छैन । पुल तर्न तटबन्ध गरिएको ठाउँ प्रयोग हुँदै आएको छ । यही ठाउँमा बढी कटान भएकाले जोखिम बढेको जानकारहरूको भनाइ छ ।

हस्तान्तरण नभएकाले पुलको मर्मत, तटबन्धको जिम्मा ठेकेदार कम्पनीको भएको आयोजना प्रमुख कृष्ण ओझाले बताए । ठेकेदार कम्पनीले तटबन्धको काम सुरु भइसकेको बताएको छ । कर्णालीमा जलस्तरको बहाव बढेकाले अहिले तटबन्धको काम प्रभावित भएको छ । स्थानीयले पटक–पटक तटबन्धको काम हिउँदमा गर्न आग्रह गरे पनि आयोजना र ठेकेदार कम्पनीको लापरबाहीले त्यसो हुन नसकेको उद्योग वाणिज्य संघका सचिव केदार थापाले बताए ।

हुलाकी सडक आयोजनाअन्तर्गत १४ पिलर निर्माण गर्ने सम्झौता भएको थियो । तर, कर्णाली नदीले धार परिवर्तन गर्दै गएपछि थप एक पिलर निर्माण गर्नुपर्ने थियो । पूर्वतर्फ करिब ७५ मिटर कटान गरेको ठाउँमा थप एक पिलर राख्नुपर्ने सल्लाह प्रावधिकले दिएका थिए । एउटा पिलर राख्न झन्डै ४ करोड अनुमानित बजेट माग गरे पनि अर्थ मन्त्रालयले निकासा नदिँदा उक्त कार्य रोकिएको आयोजनाले जनाएको छ ।

प्रकाशित : भाद्र १०, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?