दुई मुलुकका राष्ट्रपति भ्रमणमा आउने भएपछि लुम्बिनीमा सुरक्षा कडा

माधव ढुंगाना

भैरहवा — काठमाडौंमा हुने बिमस्टेक शिखर सम्मेलनका क्रममा दुई मुलुकका राष्ट्रपति बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ । लुम्बिनीमा शनिबारदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको छ ।

दुई मुलुकका राष्ट्रपति भ्रमणमा आउने भएपछि लुम्बिनीमा सुरक्षा कडा

काठमाडौंमा भदौ १४ र १५ गते हुने सम्मेलनमा आउने श्रीलंका र म्यानमारका राष्ट्रपतिले लुम्बिनी भ्रमण गर्ने तय भएको छ । भदौ १३ गते म्यानमारका राष्ट्रपति विन मिन्ट र १६ गते श्रीलंकन राष्ट्रपति मैथ्रीपाला सिरिसेनासहितको टोली भ्रमण गर्दै छन् । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले दुवै राष्ट्रपतिको लुम्बिनीमा हुने भ्रमणका लागि अति विशिष्ट श्रेणीको सुरक्षा योजना बनाइएको बताए । ‘लुम्बिनीमा १५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ,’ रानाले भने, ‘सुरक्षा व्यवस्था प्रभावकारी बनाइनेछ ।’


उनका अनुसार म्यानमारका राष्ट्रपति भ्रमणमा पत्नीसहित ३६ र श्रीलंकन राष्ट्रपतिको पनि पत्नीसहित ४४ जनाको टोली आउने भएको छ । रानाले दुवै राष्ट्रपतिको भ्रमण काठमाडौंदेखि भैरहवासम्म चार्टर विमानबाट र भैरहवास्थित गौतम बुद्ध विमानस्थलदेखि लुम्बिनीसम्म हेलिकप्टरबाट हुने जनाए । काठमाडौंदेखि भैरहवासम्म चार्टर विमानबाट सबै सहभागी आउनेछन् । भैरहवाबाट लुम्बिनीसम्मको हेलिकप्टरमा भने १० जना मात्र रहनेछन् । भ्रमण क्रममा हुने कार्यक्रमको तयारीमा लुम्बिनी विकास कोष जुटेको छ ।


म्यानमारका राष्ट्रपतिले लुम्बिनीमा पूजाअर्चना गरेपछि ४० वर्षअघि तयार लुम्बिनी गुरुयोजनालगायत गतिविधिबारे जानकारी लिने कार्यक्रम छ ।


श्रीलंकन सरकारले तिलौराकोटमा उत्खननका लागि प्राविधिक सहयोग उपलब्ध गराएको छ साथै लुम्बिनीमा करिब ४ करोडमा सडक निर्माण भएको छ । सुनौली नाका हुँदै लुम्बिनी आउने पर्यटकमा सबैभन्दा धेरै श्रीलंका र थाइल्यान्डपछि तेस्रो नम्बरमा म्यानमारका हुन्छन् । अध्यागमन कार्यालय बेलहियाका अनुसार सन् २०१७ मा ४८ हजार ३ सय ९९ जना श्रीलंकन पर्यटकले स्थलमार्गबाट बेलहिया हुँदै लुम्बिनीको यात्रा गरेका थिए ।


थाइल्यान्डका ३३ हजार ६ सय ९३ र म्यानमारका पर्यटकको संख्या २८ हजार १ सय ७४ थियो ।




प्रकाशित : भाद्र १०, २०७५ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?