२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रयोगशाला नहुँदा बिरामीलाई मर्का

करिश्मा चौधरी

बाँके — कोहलपुर स्वास्थ्यचौकीमा प्रयोगशाला नहुँदा बिरामीलाई मर्का परेको छ । रोग यकिन गर्न प्रयोगशाला परीक्षण अनिवार्य हुन्छ । तर, स्वास्थ्यचौकीमा यस्तो सेवा नहुँदा बिरामी समस्यामा परेका हुन् ।

प्रयोगशाला नहुँदा बिरामीलाई मर्का

प्रयोगशाला नभएकाले सवास्थ्यकर्मी पनि समस्यामा छन् । स्वास्थ्यचौकी प्रमुख अनील सेन ठकुरी बिरामीको उपचार गर्न प्रयोगशाला (ल्याब) आवश्यक रहेको बताउँछन् । ‘कुन रोग हो पत्ता लगाउन ल्याब आवश्यक छ,’ उनले भने, ‘हामीले यस्तो सेवा दिन नसक्नु कमजोरी हो ।’

स्वास्थ्यचौकीमा दैनिक ७० देखि साढे २ सयसम्म बिरामी आउँछन् । तीमध्ये अधिकाँशको ज्वरो, रुघाखोकी, निमोनिया तथा घाउ खटिराको समस्या हुन्छ । यस्ता बिरामीको रोग थाहा पाउन रगत, खकार, पिसाबलगायत परीक्षण गर्नुपर्ने हुन्छ । तर, प्रयोगशाला छैन । प्रयोगशाला नहुँदा यहाँ उपचारका लागि आउने बिरामीहरू परीक्षणका लागि निजी क्लिनिक वा अन्य अस्पतालमा जानुपर्ने बाध्यता छ । बिरामीहरू महँगो शुल्क तिरेर निजी क्लिनिकमा ल्याब परीक्षण गराउन बाध्य छन् ।

प्रयोगशालाका लागि पहल गरिरहेको स्वास्थ्यचौकी प्रमुख ठकुरीले बताए । सामान्य समस्याको परीक्षण गर्न र रोग थाहा पाउन प्रयोगशाला परीक्षण अनिवार्य हुन्छ । प्रयोगशाला परीक्षणको रिपोर्ट नहेरी उपचार गर्न सम्भव नरहेको प्रमुख ठकुरी बताउँछन् ।

प्रयोगशाला नभएकाले बिरामीलाई समस्या भएपछि नगर स्वास्थ्य शाखाले सञ्चालन गर्न प्रस्ताव गरेको थियो । त्यो प्रस्ताव नगरसभाबाट पास भइसकेको नगर स्वास्थ्य प्रमुख धन रेग्मीले बताए । प्रस्ताव पास भए पनि नगरपालिकाको रातो किताब प्रकाशन नभएकाले काम सुरु नभएको रेग्मीले बताए ।

रातो किताब प्रकाशनसँगै अधिकार पाएपछि प्रयोगशाला राख्ने प्रक्रिया सुरु गर्ने उनले बताए । प्रयोगशाला नहुँदा बिरामीले महँगो शुल्क तिरेर निजी क्लिनिकमा परीक्षण गर्ने बाध्यता हटाउने प्रयास सुरु गरिसकेकाले छिटै सम्भव हुने रेग्मीले बताए । स्वास्थ्यचौकीमै प्रयोगशाला भए बिरामीलाई धेरै राहत पुग्ने उनो भनाइ छ ।

उनले भने, ‘स्वास्थ्यचौकीमै प्रयोगशाला भए त बिरामीलाई कति हो कति सजिलो हुन्छ । उहाँहरूको आर्थिक भार पनि कम हुन्छ ।’ स्वास्थ्यचौकीमा प्रयोगशाला भएपछि बिरामीले क्षयरोगको परीक्षणजस्तै कतिपय परीक्षण नि:शुल्क र कतिपय परीक्षण एकदमै कम मूल्यमा पाउने प्रमुख रेग्मी बताउँछन् । जसले प्रयोगशालाकै लागि बाहिर जानुपर्ने बाध्यता हट्ने रेग्मीको भनाइ छ ।

नगरपालिकाभित्र तीनवटा स्वास्थ्यचौकी छन् । यी तीनवटै स्वास्थ्यचौकीमा प्रयोगशाला सेवा छैन । स्वास्थ्यचौकी स्तरमा प्रयोगशाला राख्ने प्रावधान नभएकै कारण अहिलेसम्म प्रयोगशाला नरहेको नगर स्वास्थ्य प्रमुख रेग्मीले बताए । अति आवश्यक भएपछि पहिलो पटक नगर स्वास्थ्य शाखाले कोहलपुर स्वास्थ्यचौकीका लागि प्रयोगशालाको माग गरेको हो ।

प्रकाशित : भाद्र ११, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?