झिमरुक नदी तर्काइँदै

प्यूठान — यहाँस्थित झिमरुक नदी धान खेतमा सोझिएपछि प्यूठान नगरपालिकाले बहाव परिवर्तन गर्न थालेको छ ।

झिमरुक नदी तर्काइँदै

प्यूठान ४ र ७ अन्तर्गत सत्तरीफाँट कटान गर्न सुरु गरेपछि नगरपालिकाले नियन्त्रणका लागि प्रयास गरिरहेको छ । चार दिनदेखि नदीमा दुईवटा स्काभेटरले काम गरिहेका छन् । बर्खामा तारजाली गर्न नभ्याइने भएपछि स्काभेटर प्रयोग गरेर बहाव परिवर्तन गर्न थालिएको प्यूठान ४ का वडाध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारीले बताए ।

‘बर्खामा तटबन्धन गर्न सकिने अवस्था रहेन,’ उनले भने, ‘त्यसैले नदी पसेर क्षति नहोस् भनेर वहाब परिवर्तन गर्न लागेका हांै ।’ अन्य स्थानमा तारजाली लगाए पनि सत्तरीफाँट क्षेत्रमा छुटाएका कारण नदी कटानले क्षति गर्न थालेपछि प्यूठान नगरपालिकासँग आग्रह गरेको स्थानीय केशव कार्कीले बताए । ‘कटान गर्दै नदी फाँटको निकै नजिक आइसकेको थियो,’ कार्कीले भने, ‘चार दिनसम्म काम गर्दा पनि अझै नदीको बहाव परिवर्तन भएको छैन ।’

सत्तरीफाँटबाट खोलो पसे खलंगा जोड्ने बिजुवारको झोलुंगे पुल, बिजुवार खेलकुद मैदान, प्यूठान नगरपालिकाको निर्माणाधीन भवन क्षेत्रको खेत र बस्तीमा धेरै क्षति हुने स्थानीय अजय थपलियाले बताए । उनले दिनप्रतिदिन फाँटतर्फ झिमरुक नदी नजिकिँदै गएपछि स्थानीयले प्यूठान नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षलाई कटान क्षेत्रको अवलोकन गराएको बताए । त्यसपछि नगरपालिको नियन्त्रणका लागि स्काभेटर लगाएको थपलियाले बताए ।

प्रकाशित : भाद्र ११, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?