कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हचुवामा खनिएका सडकमा पहिरै पहिरो

डोजर प्रयोग गरी जथाभावी सडक खनिदा वर्षायाममा यात्रुलाई निकै सास्ती

पाल्पा/रोल्पा — पहाडी पाल्पा र रोल्पामा ग्रामीण क्षेत्रमा डोजरले खनेका सडक वर्षातमा भत्केर यात्रुुले सास्ती खेप्नुपरेको छ । प्राविधिक अध्ययनबिनै खनिएका सडकमा अहिले पहिरै पहिरो छ । पाल्पाको आर्यभञ्ज्याङ–रामपुर सडकमा १५ वर्षअघिसम्म पहिरो खस्ने थिएन ।

हचुवामा खनिएका सडकमा पहिरै पहिरो

४९ किलोमिटर सडक पूरै हातले खनिएको हो । ‘वातावरणीय हिसाबले उदाहरणीय सडक हो,’ साबिक जिल्ला विकास समिति (जिविस) का पूर्वसभापति झपेन्द्रबहादुर जीसीले भने, ‘सेफद बाहेक सडकमा पहिरो खस्ने थिएन ।’ १५ वर्षयता साबिकको जिविसले डोजर लगाएर सडक चौडा गराउन थाल्यो ।

त्यसपछि पहिरो खस्न सुरु भयो । ओटासिल गर्न डोजर प्रयोग गरेर सडक चौडा गरियो । अहिले फेरि घुम्ती सोझो गराउने भन्दै डोजरले जथाभावी खनिएको छ । सेर्कावास–फुरुङदी सडकसम्म माथिल्लो ढुंगामाटोले पुरेको छ । जिविसअन्तर्गतका इन्जिनियर, ओभरसियरसँगको लगत स्टिमेट, डिटेल सर्भे तयार नगरी खनिएका मोटरबाटाले वातावरणीय विनाश निम्त्याउँदै गएको छ । पछिल्लो समय गाउँपालिका, वडा, सामुदायिक वन उपभोक्ता समूह तथा उपभोक्ताले जथाभावी डोजर प्रयोग गर्छन् ।

‘डोजर सञ्चालन गर्न पैसा हुन्छ तर वातावरणीय पक्ष ख्याल गरिन्न,’ डोजर चालक गोकुल पौडेलले भने, ‘माटो बग्छ अनि माथिबाट ढुंगा र पहिरो खस्छ ।’ रिटेनिङ पर्खाल, ग्याभिनका लागि बजेट नहुँदा भूक्षय हुने गरेको छ । ‘नियमले त प्राविधिकले किलाकाटी नठोकिकन र चिह्न नलगाईकन डोजरले खन्न पाइँदैन,’ पूर्वखोला १ सिलुवाका वडाध्यक्ष भोगबहादुर थापाले भने, ‘तर, नियन्त्रण गर्न सकिने अवस्था छैन । सबै कुरा उपभोक्ता र डोजर चालक भइदिने समस्या छ ।’

आर्यभञ्ज्याङ –रामपुर सडककै सेफद, सिलुवा, गल्धा लगायतका स्थानमा यही समस्या छ । सडक फराकिलो पार्दा अधिक पहिरो खसेको छ । दोभानको पानीमिल र झुम्सामा कच्ची सडकले त्यस क्षेत्रमै वातावरणीय विनाश निम्त्याएको छ । झुम्सादेखि पानीमिलसम्मको सिद्धार्थ राजमार्गलाई माथि खनिएको कच्ची मोटरबाटोले भत्काएको छ । चुरेक्षेत्रमा माथिबाट खसेको लेदो माटो र ढुंगा बगेर आउँदा राजमार्ग क्षतविक्षत बनेको स्थानीयले बताए ।

सिद्धार्थ राजमार्गको केराबारी, डुम्रे, जरेपीपल, तानसेनकै काजीपौवा, भेदडाँडा, होलाङदी, धोवीधारा, आर्यभञ्ज्याङ, धैरेनी लगायतका स्थानमा लेदो माटो र ढुंगा बगेर सडकमा आएको छ । केरावारीबाट मस्याम जाने मोटरबाटो उस्तै छ । प्राविधिकको स्वीकृतिबिना ग्रेड नमिलाई खनिएकाले समस्या छ । उकालोमा डोजर लगाएर मोटरबाटो खन्ने प्रचलन अझै हटेको छैन । ‘पहिरोले खनेको नखन्यै बनाएको छ,’ स्थानीय कमल चिदीमगरले भने, ‘बित्ता–बित्तामा पहिरो खसेर हैरानी बनाएको छ ।’

जताततै अवरुद्ध
रोल्पालाई दाङ जोड्ने सहिद मार्ग अन्तर्गत दुईखोलीदेखि थबाङ खण्ड एक महिनादेखि अवरुद्ध छ । एक महिनाअघि दुईखोली नजिक पहिरोले बस पुरेपछि सडक अवरुद्ध हुँदै आएको हो ।

घोराहीदेखि होलेरी, तिला, घर्तीगाउँ, दुईखोली, खरिबोट र टुटु हुँदै थबाङ पुग्ने उक्त मार्ग दुईखोलीअघि पूर्ण रूपमा अवरुद्ध भएपछि मानिसलाई आवतजावत गर्न मुस्किल भइरहेको छ । निर्माणाधीन सडकमा वर्षातमा गाडी नचल्दा पैदल यात्रा गर्नुपर्छ । बिरामी, महिला, बालबालिका, अशक्त र घाइतेलाई समस्या छ ।

पूर्वका सुलीचौर, पोबाङ, दक्षिणका खुंग्री, होलेरी, पश्चिमका जुगार, त्रिवेणी र पश्चिम–उत्तरका घर्तीगाउँ, दारबोट, दुईखोली केन्द्र भई सञ्चालन भइरहेका धेरै सडक अवरुद्ध छन् ।

लिबाङसँग सडक सञ्जालले जोडिएका धबाङ, होमा, गुरुङगाउँमा अचेल यातायातका साधन चल्दैनन् । पूर्वको व्यापारिक क्षेत्र सुलीचौरदेखि तेबाङ, पाङ, सुलीचौर हुदै बडाचौर–गाम चल्ने यातायातका साधन रोकिएका छन् । पूर्वोत्तर रोल्पाको पोबाङदेखि गाम, सेरम उवासम्मको सडकसमेत नियमित छैन ।

होलेरीदेखि जेदबाङ, डुब्रिङ, झेनाम, करेटी, जेलबाङसम्मका प्राय: सबै कच्ची सडक अवरुद्ध छन् । त्रिवेणीदेखि नेर्पा, निगालपानी पुग्ने ग्रामीण सडकसमेत बन्द छन् । सदरमुकाम लिबाङ हुँदै माडीचौर–भाबाङ–राङ्सी र कुलेरी पुग्ने सडक पनि अवरुद्ध छ ।

मध्य रोल्पाको मुख्य व्यापारिक केन्द्र घर्तीगाउँदेखि तालाबाङ, ओत, भाबाङ, राङ्सीलगायतका सडक वर्षाले अवरुद्ध छन् । यस्तै दुईखोलीदेखि थबाङ, राङकोट गोरीचौर, पाछाबाङ, कालापोखरा र रुकुमको चुनबाङसम्मको सडक पूर्ण रूपमा अवरुद्ध छन् । घर्तीगाउँदेखि हाङ्जाबाङ, सिद्धपुर, नेर्पा हुँदै दाङको तुलसीपुरसम्मको सडकमा चल्ने यातायातका साधन नियमित हुन सकेका छैनन् ।

डोजरको प्रयोग गरेर जथाभावी सडक खनिएकाले वर्षाको अवधिमा पहिरो खसेको हो । धेरै स्थानमा पहिरो खसेकाले अवरुद्ध भएको हो । डोजर प्रयोगले सडक निर्माण गर्दा थर्किएर सडक मुनि र माथिको जमिन कमजोर हुँदा सानो वर्षाले समेत प्रभावित हुन्छ ।

निर्माण गर्दा वातावरणीय प्रभावको मूल्यांकन नगरिएकाले पहिरो खस्ने क्रम रोकिएको छैन । वर्षा नरोकिसम्म भत्किएका र पुरिएका सडकको मर्मत गर्ने अवस्था छैन । अत्यधिक वर्षाले घरमाथि पहिरो खस्दा रून्टीगढी गाउँपालिकामा एक महिनाअघि सुत्केरीसहित तीन जनाको मृत्यु भएको थियो । पहिरो खसेको सडकमा जिप चलाउँदा दुई साताअघि होलेरी–जेदबाङ सडक खण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो ।

प्रकाशित : भाद्र ११, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?