ठेकेदारलाई कारबाही भएन

ठाकुरसिंह थारू

नेपालगन्ज — गृहमन्त्रीको निर्देशनमा स्थानीय प्रशासनले काम नगर्ने केही ठेकेदारको सूची तयार गरी पठायो । एक/दुई जनालाई कारबाही गर्ने भन्दै पक्राउ पनि गर्‍यो । तर गृहमन्त्रीले भनेजस्तै बाँकेमा काम नगर्नेहरू कारबाहीमा परेका छैनन् ।

ठेक्का लिएको डेढ वर्षसम्म पाँच प्रतिशत काम नगर्ने ठेकेदार पनि छन् । जिल्लाको नौवास्तामा खुला कारागार निमार्ण र मुलुककै गौरव मानिएको सिक्टा सिँचाइ आयोजनाको डुडवा नहर निमार्णको ठेक्का पाएका कोस्टल/पप्पु जेभीले समयमै काम गरेन । उसले खुला कारागारका लागि ब्यारेक भने निर्माण भइसकेको जनाएको छ ।

उक्त निर्माण कम्पनीका ठेकेदार हरिनारायणप्रसाद रौनियार पर्सा क्षेत्र नम्बर ३ का निर्वाचित सांसद एवं संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य हुन् । उनले नौबास्तामा खुला कारागार निमार्णका लागि भ्याटबाहेक ३९ करोडमा ठेक्का लिएका छन् । त्यस्तै डुडवा नहर निमार्णका लागि ९८ करोड ८१ लाखमा ठेक्मा सकार गरेका छन् ।

Yamaha

कारागार निर्माणका लागि ठेक्का लिएको १७ महिनामसम्म कामै गरेनन् । ठेकेदारले बैंक ग्यारेटी राखे बराबरको २० प्रतिशत अर्थात् ७ करोड बुझिसकेका छन् । निमित्त प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले पटक–पटकको ताकेतापछि खुला कारागारको काम अगाडि बढेको बताए ।

‘हामीले सरकारी कार्यालयको प्रमुखको बैठकमा काम नगर्ने ठेकेदारका बारे जानकारी दिन भनेका छौं,’ उनले भने, ‘काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने नियमित प्रक्रियाभित्रै राखेका छौं ।’

डिभिजन कार्यालयका इन्जिनियर होमनाथ भुसालले भनेजस्तो तोकिएकै समयमा कामको प्रगति बढाउन पत्राचार गरिरहेको बताए । ठेक्का अवधि केही महिना बाँकी रहेकाले कारबाही गर्न समस्या भइरहेको उनले बताए । सिक्टा आयोजनाको डुडुवा नहर प्रणालीको ठेक्का दिएको २८ महिनामा पाँच प्रतिशत काम मात्रै भएको छ ।

लक्ष्यअनुसारको काम नभएको भन्दै आयोजनाका कर्मचारीले चेतावनी दिँदै आएका छन् । तर ठेकेदारले भने त्यसको बेवास्ता गर्दै आएका छन् । आयोजनाले २०७४ पुस ३० गते सिँचाइ विभागलाई पत्राचार गरी काम गर्ने निर्माण कम्पनीलाई के गर्ने भनेर सुझाव मागेको थियो । तर, विभागले त्यसबारे कुनै प्रतिक्रिया नजनाउँदा ठेकेदार कम्पनीलाई बल पुगेको छ ।

निर्माण कम्पनीले काम पनि नगर्ने र काम गर्ने समायावधि भने सक्ने रणनीतिले डुडुवाको नहर निर्माणको काम पूरा हुन अझै थप दुई वर्ष लाग्ने सम्भावना बढेको छ ।

उक्त निर्माण कम्पनीले ३२.२ किलोमिटर नहर निर्माण तथा सिक्टाको मूल नहरलाई डुडुवा शाखा नहरसँग जोड्ने संरचना निर्माणलगायतका काम गर्ने गरी ९८ करोड ८१ लाखमा १९ डिसेम्बर २०१८ सम्म काम सक्ने गरी ठेक्का लिएका थिए ।

सो संरचना निर्माण भएपछि त्यस क्षेत्रको १६ हजार हेक्टरमा सिँचाइ सुविधा पुग्ने विश्वास छ । ०७३ जेठदेखि निर्माण कार्य सुरु गरी ०७५ पुुस ४ सम्म पूरा गर्ने लक्ष्य थियो ।

प्रकाशित : भाद्र ११, २०७५ ०९:४९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

रामग्राम स्तुप र पण्डितपुर सुनसान

कान्तिपुर संवाददाता

परासी — बुद्ध सर्किटका महत्त्वपूर्णस्थल पश्चिम नवलपरासीस्थित पण्डितपुर र रामग्राम स्तुप विकासका लागि लुम्बिनी विकास कोषले ध्यान नदिँदा आझेलमा परेका छन् ।

धार्मिक महत्त्व भएर पनि प्रचार नहुँदा रामग्राम स्तुप सुनसान छ । नजिकै रहेको प्राचीन कोलिया गणराज्यको राजधानी पण्डितपुर अलपत्र परेको छ ।

यहाँको विकासका लागि ध्यान नदिएपछि स्थानीयले रामग्राम र पण्डितपुर प्रबद्र्धनका छुट्टै विकास कोष स्थापना गरेर अघि बढ्नु पर्नेमा जोड दिएका छन् । छुट्टै कोष माग गर्दै स्थानीयले दबाबमूलक कार्यक्रम पनि सञ्चालन गरेका छन् । उजैनीमा रहेको स्तुप र रामग्राम १८ मा रहेको पण्डितपुरको संरक्षण, सम्बद्र्धन, प्रबद्र्धन तथा विकास गर्ने जिम्मेवारी लुम्बिनी विकास कोषको हो ।

तर, कोषले रामग्राम र पण्डितपुरको विकासमा चासो नदेखाउँदा ओझेलमा परेको रामग्राम स्तुप संरक्षण तथा विकास संस्थाका अध्यक्ष शम्भु उपाध्यायले बताए । रामग्राम स्तुप शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको अस्तुधातु रहेको स्थल हो । पण्डितपुर कोलीय गणराज्यको राजधानी रहेको पुरातत्त्व विभागले गरेको उत्खननबाट प्रमाणित भइसकेको स्थल हो ।

पण्डितपुरलाई औपचारिक रूपमै कोलिया गणराज्यको राजधानी घोषणा गराउन लुम्बिनी कोषले चासो दिएको छैन् । जग्गा अधिग्रहण गर्ने भनेर वर्षौंदेखि भने पनि अहिलेसम्म काम हुन सकेको छैन ।

दुवै स्थानको संरक्षण, सम्बद्र्धन, प्रचारप्रसार र चौतर्फी विकासको निमित्त स्वतन्त्र निकाय ‘रामग्राम विकास कोष’ को आवश्यकता महसुस गरी सरकारसँग गठनका लागि माग गरे पनि पूरा हुन सकेको छैन । स्तुप विकासका लागि सरकारले कराडौंको रकम विनियोजन गरी कोषलाई जिम्मा लगाउँदै आएको छ । कोषले विभिन्न कारण देखाउँदै लुम्बिनीमा खर्च गर्दै आएको स्थानीयको आरोप छ ।

लुम्बिनि विकास कोषको अधीनमा रहेकाले यहाँ कुनै पनि किसिमको भौतिक संरचना विकास गर्न सकिएको छैन । त्रिवेणी, स्तुप, पण्डितपुर मिलाएर पर्यटकीय सर्किट बनाउनेबारे यहाँ बहस भइरहेको छ । कोषले केन्द्रमा मात्र रकम लगानी गरेर अन्य प्राचीन सभ्यताको बेवास्ता गरेको भन्दै नागरिक समाज, राजनीतिक दल र आमसर्वसाधारणले कोषको आलोचना गरेका छन् । ‘कि कोषले नियमित काम गरेर लुम्बिनी जस्तै यसलाई हराभरा, सुन्दर बनाउनुपर्‍यो,’ स्थानीय नवलराज उपाध्यायले भने, ‘होइन भने चन्दा संकलन गरेर भए पनि प्रचार प्रसार थाल्छौं ।’

लुम्बिनी विकास कोषले बेवास्ता गर्ने र जिल्लाका कार्यालयले पनि कोषले काम गर्न नदिने भन्दै स्तुपमा विकास निमार्ण र आवश्यक संरचनासमेत निमार्ण हुन सकेको छैन ।

प्रकाशित : भाद्र ११, २०७५ ०९:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT