१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

रकम असुल्ने ट्राफिक प्रहरीलाई कारबाही

रूपन्देही — सवारी जाँच गर्दा रकम असुलेको आरोप लागेका चार जना ट्राफिक प्रहरीलाई विभागीय कारबाहीको तयारी गरिएको छ ।

रकम असुल्ने ट्राफिक प्रहरीलाई कारबाही

प्रहरी सहायक निरीक्षक रूपेशकुमार झाको नेतृत्वमा भैरहवाको बेलहिया नाकामा बसेर भारतीय हेभी लोड गाडीबाट राजस्व नकाटी रकम असुलिरहेको अवस्थामा जिल्ला प्रहरीले उनीहरूलाई गत साउन ३१ गते पक्राउ गरेको थियो । पक्राउ पर्नेमा असई झा, प्रहरी हवल्दार राजकुमार महतो, जवान मणिराम अर्याल र शर्मिला थापा छन् ।

प्रहरी नायव उपरीक्षक कुमोद ढुंगेलको टोलीले पक्राउ गरी जफत गरेको ६५ हजार ४ सय ५० रुपैयाँ नगद रकम सहित उनीहरूलाई कारबाहीका लागि प्रदेश ५ ट्राफिक कार्यालयलाई सिफारिस गरेको थियो । पक्राउ लगत्तै उनीहरूलाई बेलहियाको अस्थायी ट्राफिक प्रहरी पोष्टबाट हटाइको थियो ।

पहिलो चरणमा प्रदेश ५ ट्राफिक प्रहरीले लिखित स्पष्टीकरण सोधेको छ । स्पष्टीकरणसहित थप अनुसन्धानका लागि प्रदेश ५ को प्रदेश प्रहरी कार्यालयलाई सिफारिस गरिएको ट्राफिक प्रहरी उपरीक्षक गणेश चन्दले बताए । उनीहरूबाट जफत गरेको रकम मध्ये ३६ हजारको राजस्व काटेको भए पनि २९ हजार ४ सय ५० रकमको स्रोत खुलेको छैन । प्रदेश प्रहरीका प्रवक्ता प्रहरी नाय उपरीक्षक पुष्पराज मल्लले राजस्वमा नदेखिएको रकममध्ये उनीहरूको कति हो र अवैध कति हो भन्ने विषयसहित किन र कसरी असुली गरियो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए ।

‘विभागीय कारबाही हुन्छ नै,’ उनले भने, ‘तर, अहिले अनुसन्धानमै रहेकाले कस्तो कारबाही भन्ने टुङ्गो लागेको छैन ।’ अवैध असुली र कारबाही प्रकृयाका बारेमा प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा सुपरीवेक्षण महाशाखाले नियमित अनुगमन र अनुसन्धान प्रगतिप्रति अध्ययन गरिरहेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता शैलेश थापा क्षत्रीले बताए ।

प्रकाशित : भाद्र ११, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?