कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कर्णाली पुलमा भ्वाङ

बर्दिया — कर्णाली पुलमा ‘भ्वाङ’ परेपछि आउजाउ प्रभावित भएको छ । हुलाकी सडक आयोजनाअन्तर्गत राजापुर–कैलाली जोड्न निर्माण गरिएको पुलमा भ्वाङ परेको हो । ठूला गाडीको ओहोरदोहोर बन्द भएको छ ।

कर्णाली पुलमा भ्वाङ

दुई वर्षअघि नै भ्वाङ परेको थियो । त्यसपछि टालटुल पारियो । नदीले राजापुरतर्फ किनारमा कटान गरिरहेको छ । कर्णालीमा बहाव बढेसँगै पुल सुरक्षाका लागि निर्माण गरिएको स्पर धस्सिएपछि जोखिममा परेको राजापुर ४ का वडाध्यक्ष रमण रेग्मीले बताए । पुल आसपास कमसल खालको तटबन्ध निर्माण भएकाले ढुंगा भरिएका तारजाली बगाएको उनले बताए ।

तीन वर्षअघि निर्माण भएको पुल अझै हस्तान्तरण भएको छैन । जेनतेन पुल जोगाउने प्रयास भए पनि तटबन्ध नहुँदा गाउँ जोखिममा परेको राजापुर ४ का बुधराम थारूले बताए । कटाले संघर्षनगर, भालुफाँटा, छेदिया, सत्तारफारम, शंकरनगरलगायत एक दर्जन गाउँ डुबानको जोखिममा परेका छन् । पुल नजिक संघर्षनगरमा प्रदेश ५ की प्रदेशसभा उपसभामुख कृष्णी थारूको घर छ । उपसभामुख थारूले पुल र तटबन्ध कमसल भएकाले उच्चस्तरीय छानबिन हुनुपर्ने बताइन् ।

कर्णालीको बहाव बढी हुने ठाउँमा कमसल तटबन्ध भएको उनले बताइन् । ठेकेदार कम्पनी र तत्कालीन आयोजना प्रमुखको गम्भीर लापरबाही देखिएकाले छानबिनका लागि चाँडै आयोग गठन गर्न पहल गर्ने बताइन् । उक्त पुलन ४५ करोडको लागतमा निर्माण भएको थियो ।

पुल ५ सय ३१ मिटर लामो छ । ०६८ साल माघबाट सुरु भई तीन वर्षअघि सम्पन्न भएको थियो । नदीमा बहाव बढेपछि पुल जोखिममा परेका कारण कटान नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । उनले हुलाकी आयोजनालाई तत्काल पुल जोगाउन वैकल्पिक व्यवस्था गर्न निर्देशन दिएको बताए । रसुवा कन्स्ट्रसन प्रालिले समयावधिभन्दा नौ महिनाअघि पुल निर्माण सम्पन्न गरेको थियो ।

प्रकाशित : भाद्र १२, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?