महिला उद्यम: बाख्रा बेचेर ७० लाख

एक वर्षको अवधिमा आफ्ना घरमा हुर्काएका ४ सय ५० भन्दा बढी खसी/बोका बिक्री गर्दा गाउँमा उक्त रकम भित्रिएको हो
माधव अर्याल

सिलुवा (पाल्पा) — यहाँका महिलाले व्यावसायिक बाख्रा पालनबाट गाउँमा ७० लाख भित्र्याएका छन् । उनीहरूले दुर्गममा बसेर बाख्रा पालन गर्दा पनि राम्रो आम्दानी गर्न सफल भएका हुन् ।

पाल्पाको पूर्वखोला १, सिलुवा दार्सिङभन्ज्याङमा खसी/बोका संकलन तथा बिक्री केन्द्रमा व्यापारीसँग पैसा बुझै महिला किसान । तस्बिर : माधव

एक वर्षको अवधिमा आफ्ना घरमा हुर्काएका ४ सय ५० भन्दा बढी खसी/बोका बिक्री गर्दा गाउँमा उक्त रकम भित्रिएको हो ।

मनकामना सामाजिक उद्यमी महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सदस्यले व्यावसायिक बाख्रा पालन गर्छन् । सहकारीमा महिला मात्र आबद्ध छन् । २० भन्दा बढी महिलाले व्यावसायिक रूपमा बाख्रा पालेका छन् । अन्यले घर खर्चका लागि बाख्रा पाल्ने गरेका हुन् ।

Yamaha

१ सय ५० भन्दा बढी घरमा थोरैधेरै बाख्रा पालन पुगेको छ । महिलाहरू उन्नत जातका माउ बाख्राको खोजीमा छन् । यहाँका धेरैले बाख्रा पालनबाट राम्रो आम्दानी हुन्छ भन्ने बुझेका छन् । त्यसैले आगामी दिनमा थप व्यावसायिक बन्ने सोचमा उनीहरू पुगेका छन् ।

पूर्वखोला गाउँपालिका १ सिलुवाका महिला पछिल्लो समय व्यावसायिक बनेका हुन् । ‘पहिला घर खर्चका लागि मात्र पाल्ने चलन थियो,’ सिलुवा मन्नुङकी व्यावसायिक बाख्रा पालक किसान केशरी थापाले भनिन्, ‘अहिले व्यावसायिक बाख्रा पालनले घरखर्च, छोराछोरीको पढाइ आदिमा सहयोग पुगेको छ ।’ उनका अनुसार बाख्रा पालन गरेर अहिले बेच्न समस्या छैन ।

त्यसैले पनि महिलाले व्यावसायिक बाख्रा पालन गर्दै आएको उनले बताइन् । सहकारीको आफ्नै संकलन केन्द्र छ । १०/१० दिनमा सहकारीमै व्यापारी बाख्रा, खसी, बोका लिन आउँछन् । त्यसैमा ल्याएपछि जिउँदोमै तौलेर बिक्री हुन्छ । भाउ पनि सहकारीले नै निर्धारण गरेको छ । ‘बिक्री गर्नलाई हामीले केही भन्नु पर्दैन,’ उनले भनिन्, ‘मोलमोलाइ गर्नु नपरेपछि ल्याएर बेच्न पाउँदा सहजता भएको छ ।’ पहिला यहाँ परम्परागत रूपमा बाख्रा पालन गर्थे ।

बिक्रीको चिन्ता नहुँदा अहिले व्यावसायिकता बढेको छ । बाख्रा, खसी र बोका सहकारीमार्फत बिक्री गर्ने भएपछि हौसिएका छन् । सिलुवाका अधिकांश महिलाका गोठमा १५ देखि ९० वटासम्म बाख्रा छन् । दुई/तीन माउ बाख्रालाई बढाउँदै लगेका छन् ।

अहिले एक वर्षमा खसी, बोका र माउ पाठी बिक्री गरेर वार्षिक पाँच लाख रुपैयाँ आम्दानी लिन सफल भएको व्यावसायिक किसान थापाले बताइन् । ‘महिलाले धेरै दु:ख गर्नु नपर्ने भएकाले पनि बाख्रा पालन राम्रो लागेको छ,’ उनले भनिन्, ‘आम्दानी पनि राम्रो लिन पाएको अनुभव भएको छ ।’ परम्परागत रूपमा यहाँका किसानले खरी जातका बाख्रा पाल्थे । अहिले केही वर्षयता उन्नत जातका जमुनापारी क्रस पाल्छन् । त्यस्ता खसी/बोका मासु पर्ने भएकाले बिक्री गर्न पनि सजिलो हुने स्थानीय किसान केशकुमारी विकले बताइन् ।

‘पहिला लामो समय पाल्दा पनि नहुर्कने भएकाले बेच्नका लागि समय कुर्नु पथ्र्याे,’ उनले भनिन्, ‘अहिले छिट्टै हुर्कने जातका पाल्न थालेपछि पैसा कमाउन सजिलो भएको छ ।’ खरी जातका बाख्रा धेरै समय पाल्नु पर्दथ्यो । मासु पनि खासै नपर्ने भएकाले बिक्री गर्न पनि सहज थिएन । अहिले क्रस गराएपछि छिट्टै ठूला हुने र बिक्री गर्न पनि सहज हुने उनले बताइन् ।

तानसेनबाट ४५ किलोमिटरको दूरीमा रहेको यस गाउँमा बाख्रा लिन बुटवल, रामपुर, तानसेन, चापाकोट र पोखराबाट व्यापारी आउन थालेका छन् । खसी/बोका पाइन्छन् भनेपछि धेरै टाढाबाट पनि आउने गरेको स्थानीय ज्ञानबहादुर रानाले बताए ।

उनका अनुसार सहकारीले बिक्रीका लागि व्यवस्थापन गरेपछि किसानले ल्याएका खसी/बोका खोसाखोस हुन थालेको छ । ‘कहिले संकलन हुन्छ भन्ने फोन आएर हैरान हुन्छ,’ उनले भने, ‘सहजै बिक्री हुन थालेपछि महिलामा पनि हौसला मिलेको छ ।’ अहिले महिलाले प्रतिकिलो ३ सय ४५ रुपैयाँमा जिउँदो खसी/बोका बिक्री गरेका छन् ।

पाँच रुपैयाँ प्रतिकिलो व्यवस्थापन खर्च राख्ने गर्छन् । गाउँमा सहकारीले व्यावसायिक बाख्रा पालनका लागि तालिम, घाँस र औषधिको व्यवस्था गरेको छ । सहकारीकी व्यवस्थापक मेनुकाराज मगरका अनुसार त्यसैले पनि यहाँका किसान उत्साहित भएका हुन् ।

किसानको मागअनुसार व्यावसायिक बाख्रा पालनका लागि बिनाधितो एक लाख रुपैयाँसम्म ऋण लगानी गरेको सहकारीकी व्यवस्थापक राज मगरले बताइन् । सहकारीमा ४२ वटा समूह आबद्ध छन् । त्यसैमार्फत व्यापार, व्यवसाय गर्न ऋण प्रवाह गरिन्छ ।

समूहले नै व्याज संकलन र ऋण माग गर्ने गर्छन् । सहकारीमा नौ सय सेयर सदस्य आबद्ध छन् । उनीहरूको चाहना अनुसार कृषि र पशुपालनमा ऋण लगानी हुन्छ । ‘बाख्रा पालन बलियो स्रोत बनेको छ,’ उनले भनिन्, ‘त्यही भएर पनि यसमा आकर्षण बढेको छ ।’ महिलालाई आत्मनिर्भर बनाउने उद्देश्य लिएर काम गरेको उनले बताइन् । सहकारीमा अहिले १ करोड ३४ लाख सेयर पुँजी छ । व्यावसायिक बाख्रा पालन गर्नका लागि पूर्वखोला गाउँपालिकाले एक लाख रुपैयाँ थप सहयोग गरेको छ ।

प्रकाशित : भाद्र १२, २०७५ ०९:५२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कर्णाली पुलमा भ्वाङ

कान्तिपुर संवाददाता

बर्दिया — कर्णाली पुलमा ‘भ्वाङ’ परेपछि आउजाउ प्रभावित भएको छ । हुलाकी सडक आयोजनाअन्तर्गत राजापुर–कैलाली जोड्न निर्माण गरिएको पुलमा भ्वाङ परेको हो । ठूला गाडीको ओहोरदोहोर बन्द भएको छ ।

दुई वर्षअघि नै भ्वाङ परेको थियो । त्यसपछि टालटुल पारियो । नदीले राजापुरतर्फ किनारमा कटान गरिरहेको छ । कर्णालीमा बहाव बढेसँगै पुल सुरक्षाका लागि निर्माण गरिएको स्पर धस्सिएपछि जोखिममा परेको राजापुर ४ का वडाध्यक्ष रमण रेग्मीले बताए । पुल आसपास कमसल खालको तटबन्ध निर्माण भएकाले ढुंगा भरिएका तारजाली बगाएको उनले बताए ।

तीन वर्षअघि निर्माण भएको पुल अझै हस्तान्तरण भएको छैन । जेनतेन पुल जोगाउने प्रयास भए पनि तटबन्ध नहुँदा गाउँ जोखिममा परेको राजापुर ४ का बुधराम थारूले बताए । कटाले संघर्षनगर, भालुफाँटा, छेदिया, सत्तारफारम, शंकरनगरलगायत एक दर्जन गाउँ डुबानको जोखिममा परेका छन् । पुल नजिक संघर्षनगरमा प्रदेश ५ की प्रदेशसभा उपसभामुख कृष्णी थारूको घर छ । उपसभामुख थारूले पुल र तटबन्ध कमसल भएकाले उच्चस्तरीय छानबिन हुनुपर्ने बताइन् ।

कर्णालीको बहाव बढी हुने ठाउँमा कमसल तटबन्ध भएको उनले बताइन् । ठेकेदार कम्पनी र तत्कालीन आयोजना प्रमुखको गम्भीर लापरबाही देखिएकाले छानबिनका लागि चाँडै आयोग गठन गर्न पहल गर्ने बताइन् । उक्त पुलन ४५ करोडको लागतमा निर्माण भएको थियो ।

पुल ५ सय ३१ मिटर लामो छ । ०६८ साल माघबाट सुरु भई तीन वर्षअघि सम्पन्न भएको थियो । नदीमा बहाव बढेपछि पुल जोखिममा परेका कारण कटान नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । उनले हुलाकी आयोजनालाई तत्काल पुल जोगाउन वैकल्पिक व्यवस्था गर्न निर्देशन दिएको बताए । रसुवा कन्स्ट्रसन प्रालिले समयावधिभन्दा नौ महिनाअघि पुल निर्माण सम्पन्न गरेको थियो ।

प्रकाशित : भाद्र १२, २०७५ ०९:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT