२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

लुम्बिनीका पर्यटक अब गैडहवा तालमा

अमृता अनमोल

बुटवल — बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई ताल घुमाउने उद्देश्यसहित गैडहवा गाउँपालिकाले सिमसार क्षेत्रमा सूचीकृत र मानव निर्मित गैडहवा तालको संरक्षण सुरु गरेको छ ।

लुम्बिनीका पर्यटक अब गैडहवा तालमा

पर्यटकलाई तालको जानकारी दिन र पर्यटन प्रवद्र्धन गर्न ताल संरक्षण थालिएको गाउँपालिका अध्यक्ष बच्चु केवटले बताए । ‘ताल संरक्षण गरी पर्यटक आकर्षण गर्ने र यसबाट गाउँपालिकाको आय बढाउने योजना छ,’ उनले भने, ‘त्यसले स्थानीयको जीवनस्तर पनि बढाउनेछ ।’ योजनामा तालको संरक्षण, सम्बद्र्धन, पूर्वाधार निर्माण र प्रचारप्रसार समावेश छ । ताल बुद्धजन्मस्थल लुम्बिनीबाट १२ किलोमिटर र बुटवलबाट ३२ किलोमिटरको दूरीमा छ ।


तालको जलकुम्भी र अतिक्रमण हटाउने र मर्मतको काम हुँदैछ । गत वर्ष १३ लाख रकम खर्च गरेर तालको सरसफाइ र क्षेत्र निर्धारण भएको थियो । यस वर्ष सात लाख रुपैयाँले सहिदपार्क र पिकनिक स्थल निर्माण हुने अध्यक्ष केवटले बताए । संघीय पर्यटन मन्त्रालयले पनि तालको संरक्षण गुरुयोजना बनाएको छ । त्यसमा सिमसार क्षेत्र संरक्षण विभागले काम गर्छ । तालको सरसफाइ तथा क्षेत्र निर्धारणका लागि चालु वर्षमा १० लाख रुपैयाँ रकम छुट्याइएको छ ।


०२० मा स्थानीय बलिराम यादवले ताल बनाएका थिए । ८४ बिघा क्षेत्रफलमा फैलिएको तालको ५० बिघा जलाशय क्षेत्र छ । पर्यटन मन्त्रालयले गरेको अध्ययनअनुसार तालमा २ सय प्रजातिका चराचुरुंगी पाइन्छन् । घस्रने प्रजातिका २० छन् । नेपालका अन्य ठाउँमा नपाइने इन्डियन आई टटल पनि तालमा पाइन्छ ।


तालको उत्तरपट्टि जटायु रेस्टुराँ छ । त्यसमा हिमाली गिद्ध, सुन, राज, सानो खैरो, खैरो, गोब्रेलगायत लोपोन्मुख गिद्ध संरक्षण गरिएको छ । ‘धार्मिक मात्रै होइन, लुम्बिनीमा अध्ययन र मनोरञ्जनका लागि आउने पर्यटक पनि धेरै छन्,’ स्थानीय अगुवा बलराम चौधरीले भने, ‘त्यस्ता पर्यटकका लागि गैडहवा ताल, चराचुरुंगी र गिद्ध अवलोकनको क्षेत्र बनाउन सकिन्छ ।’


ताललाई तीनतिरबाट जंगलले घेरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको अन्त्यसम्म केन्द्र सरकारको सहयोगमा तालमा डुंगा सयर गराउने योजना बनाएको छ । यसपछि गर्मी र कोलाहल छल्न जाने आन्तरिक पर्यटक बढ्नेछन् । ताल आसपासमा चौधरी र मगर बस्ती छ । यी बस्तीलाई होमस्टे बनाउने अर्को योजना छ । पर्यटकलाई गाउँमै बास बसाल्न र बसाइँ अवधि बढाउन यस्तो योजना अघि सारेको अध्यक्ष केवटले बताए ।


ताल अहिले ठेक्कामा छ । माछा पालेर बिक्री गर्ने गरिन्छ । गाउँपालिकाले ठेक्का सकिनासाथ तालमा माछा मार्न पनि प्रतिबन्ध लगाउनेछ । हिउँदमा सुक्खा हुने ताललाई कञ्चन नदीमा बाँध बाँधेर पानी लैजान थालिएको छ । ‘यहाँ जति प्रजातिका जीवजन्तु छन्, तिनको संरक्षण गर्नेछौंं,’ गाउँपालिकाका प्रवक्ता हरिनारायण धवलले भने ।

प्रकाशित : भाद्र १३, २०७५ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?