विवादित भूमिमा भारतद्वारा सडक निर्माण

नवीन पौडेल

परासी — नेपाल–भारत सीमावर्ती सुस्ताको विवादित भूमिमा भारतले सडक बनाउन थालेपछि स्थानीयले विरोध गरेका छन् । पश्चिम नवलपरासीको सीमावर्ती विवादित क्षेत्रमा धमाधम सडकको ट्रयाक खोल्ने र सिमानामा खाडल खनेर सुस्तावासीलाई आवातजावत गर्न पनि रोक लगाइएको छ ।

विवादित क्षेत्रमा सडक खन्ने क्रममा नेपाली पक्षले अवरोध गर्दा भारतीय सुरक्षाकर्मीले धम्क्याउने गरेको सुस्तावासीको आरोप छ । सुस्ताका स्थानीयलाई बजार गर्न, आधारभूत तहदेखि उच्च शिक्षा हासिल गर्न र बिमार हुँदा भारत जानुपर्ने बाध्यता छ ।


Yamaha

वर्षातको समयमा नारायणी नदीमा जोखिमपूर्ण यात्रा गर्नुभन्दा अधिकांश नेपाली भारतीय भूमि हुँदै नेपाल आउँछन् । तर, सिमानामा खाडल खनेपछि नेपालीलाई आवातजावत गर्न पनि असहज भएको छ । बाटो रोकेपछि भारतीय विद्यालयमा अध्ययन गर्ने सुस्ताका बालबालिका विद्यालय जानसमेत पाएका छैनन् ।


सुस्ता बचाऊ अभियानका उपाध्यक्ष आदम खाँका अनुसार भारतीय पक्षले विवादित भूमिमा सडक निर्माण गर्ने र नाला खनेर आवातजावतमा नै रोक लगाएपछि सुस्तावासीलाई दु:ख भएको छ । ‘नेपाल र भारतका उच्च अधिकारीबीच विवादित भूमिमा दुवै देशले कुनै पनि भौतिक संरचना र क्रियाकलाप नगर्ने स्पष्ट सहमतिविपरीत भारतले काम गरिरहेको छ,’ खाँले भने, ‘यो राष्ट्रिय सरोकारको विषय भएकाले केन्द्रबाटै कूटनीतिक पहल हुनु जरुरी छ ।’


स्थानीयले घटनाबारे स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालयमा पनि जानकारी गराएका छन् । स्थलगत निरीक्षणमा पुगेका सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेलाई भारतीय पक्षले पानीको निकासका लागि डिल बनाउन सडक र नाला बनाएको भन्दै भारतीय भूमिमा आफूहरूले जस्तो संरचना निर्माण गरे पनि नेपाली पक्षलाई जानकारी गराउन जरुरी नभएको बताएका थिए । अध्यक्ष पाण्डेले विवादित भूमिमा संरचना निर्माण गर्न नपाइने भन्दै केन्द्रलाई घटनाबारे जानकारी गराएको र उच्चस्तरीय संयन्त्रले घटनाको निकास निकाल्ने बताए ।


नेपाली र भारतीय सुरक्षाकर्मीले संयुक्त गस्ती गर्न थालेपछि शान्त बनेको सुस्ता क्षेत्र यस घटनाले फेरि त्रस्त बन्न थालेको छ । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले यस विषयमा भारतीय पक्षसँग अनौपचारिक कुराकानी भएको र तत्काल काम रोकेर छलफलमार्फत समस्या समाधान गर्न लागिपरेको बताए ।

प्रकाशित : भाद्र १३, २०७५ १२:४१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बाख्रा पालनबाट ७० लाख कमाइ

कान्तिपुर संवाददाता

सिलुवा (पाल्पा) — यहाँका महिलाले व्यावसायिक बाख्रा पालनबाट गाउँमा ७० लाख भित्र्याएका छन् । उनीहरूले दुर्गममा बसेर बाख्रा पालन गर्दा पनि राम्रो आम्दानी गर्न सफल भएका हुन् । एक वर्षको अवधिमा आफ्ना घरमा हुर्काएका ४ सय ५० भन्दा बढी खसी/बोका बिक्री गर्दा गाउँमा उक्त रकम भित्रिएको हो ।

मनकामना सामाजिक उद्यमी महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सदस्यले व्यावसायिक बाख्रा पालन गर्छन् । सहकारीमा महिला मात्र आबद्ध छन् । २० भन्दा बढी महिलाले व्यावसायिक रूपमा बाख्रा पालेका छन् । अन्यले घर खर्चका लागि बाख्रा पाल्ने गरेका हुन् । १ सय ५० भन्दा बढी घरमा थोरैधेरै बाख्रा पालन पुगेको छ । महिलाहरू उन्नत जातका माउ बाख्राको खोजीमा छन् । यहाँका धेरैले बाख्रा पालनबाट राम्रो आम्दानी हुन्छ भन्ने बुझेका छन् ।

त्यसैले आगामी दिनमा थप व्यावसायिक बन्ने सोचमा उनीहरू पुगेका छन् । पूर्वखोला गाउँपालिका १, सिलुवाका महिला पछिल्लो समय व्यावसायिक बनेका हुन् । ‘पहिला घर खर्चका लागि मात्र पाल्ने चलन थियो,’ सिलुवा मन्नुङकी व्यावसायिक बाख्रा पालक किसान केशरी थापाले भनिन्, ‘अहिले व्यावसायिक बाख्रा पालनले घरखर्च, छोराछोरीको पढाइ आदिमा सहयोग पुगेको छ ।’

उनका अनुसार बाख्रा पालन गरेर अहिले बेच्न समस्या छैन । त्यसैले पनि महिलाले व्यावसायिक बाख्रा पालन गर्दै आएको उनले बताइन् । सहकारीको आफ्नै संकलन केन्द्र छ । १०/१० दिनमा सहकारीमै व्यापारी बाख्रा, खसी, बोका लिन आउँछन् । त्यसैमा ल्याएपछि जिउँदोमै तौलेर बिक्री हुन्छ । भाउ पनि सहकारीले नै निर्धारण गरेको छ । ‘बिक्री गर्नलाई हामीले केही भन्नु पर्दैन,’ उनले भनिन्, ‘मोलमोलाइ गर्नु नपरेपछि ल्याएर बेच्न पाउँदा सहजता भएको छ ।’ पहिला यहाँ परम्परागत रूपमा बाख्रा पालन गर्थे ।

बिक्रीको चिन्ता नहुँदा अहिले व्यावसायिकता बढेको छ । बाख्रा, खसी र बोका सहकारीमार्फत बिक्री गर्ने भएपछि हौसिएका छन् । सिलुवाका अधिकांश महिलाका गोठमा १५ देखि ९० वटासम्म बाख्रा छन् । दुई/तीन माउ बाख्रालाई बढाउँदै लगेका छन् । अहिले एक वर्षमा खसी, बोका र माउ पाठी बिक्री गरेर वार्षिक पाँच लाख रुपैयाँ आम्दानी लिन सफल भएको व्यावसायिक किसान थापाले बताइन् ।

‘महिलाले धेरै दु:ख गर्नु नपर्ने भएकाले पनि बाख्रा पालन राम्रो लागेको छ,’ उनले भनिन्, ‘आम्दानी पनि राम्रो लिन पाएको अनुभव भएको छ ।’ परम्परागत रूपमा यहाँका किसानले खरी जातका बाख्रा पाल्थे । अहिले केही वर्षयता उन्नत जातका जमुनापारी क्रस पाल्छन् । त्यस्ता खसी/बोका मासु पर्ने भएकाले बिक्री गर्न पनि सजिलो हुने स्थानीय किसान केशकुमारी विकले बताइन् ।

‘पहिला लामो समय पाल्दा पनि नहुर्कने भएकाले बेच्नका लागि समय कुर्नु पथ्र्याे,’ उनले भनिन्, ‘अहिले छिट्टै हुर्कने जातका पाल्न थालेपछि पैसा कमाउन सजिलो भएको छ ।’ खरी जातका बाख्रा धेरै समय पाल्नु पर्दथ्यो । मासु पनि खासै नपर्ने भएकाले बिक्री गर्न पनि सहज थिएन । अहिले क्रस गराएपछि छिट्टै ठूला हुने र बिक्री गर्न पनि सहज हुने उनले बताइन् ।

तानसेनबाट ४५ किलोमिटरको दूरीमा रहेको यस गाउँमा बाख्रा लिन बुटवल, रामपुर, तानसेन, चापाकोट र पोखराबाट व्यापारी आउन थालेका छन् । खसी/बोका पाइन्छन् भनेपछि धेरै टाढाबाट पनि आउने गरेको स्थानीय ज्ञानबहादुर रानाले बताए । उनका अनुसार सहकारीले बिक्रीका लागि व्यवस्थापन गरेपछि किसानले ल्याएका खसी/बोका खोसाखोस हुन थालेको छ । ‘कहिले संकलन हुन्छ भन्ने फोन आएर हैरान हुन्छ,’ उनले भने, ‘सहजै बिक्री हुन थालेपछि महिलामा पनि हौसला मिलेको छ ।’ अहिले महिलाले प्रतिकिलो ३ सय ४५ रुपैयाँमा जिउँदो खसी/बोका बिक्री गरेका छन् ।

पाँच रुपैयाँ प्रतिकिलो व्यवस्थापन खर्च राख्ने गर्छन् । गाउँमा सहकारीले व्यावसायिक बाख्रा पालनका लागि तालिम, घाँस, औषधिको व्यवस्था गरेको छ । सहकारीकी व्यवस्थापक मेनुका राज मगरका अनुसार त्यसैले पनि यहाँका किसान उत्साहित भएका हुन् । किसानको मागअनुसार व्यावसायिक बाख्रा पालनका लागि बिनाधितो एक लाख रुपैयाँसम्म ऋण लगानी गरेको सहकारीकी व्यवस्थापक राज मगरले बताइन् । सहकारीमा ४२ वटा समूह आबद्ध छन् ।

त्यसैमार्फत व्यापार, व्यवसाय गर्न ऋण प्रवाह गरिन्छ । समूहले नै व्याज संकलन र ऋण माग गर्ने गर्छन् । सहकारीमा नौ सय सेयर सदस्य आबद्ध छन् । उनीहरूको चाहना अनुसार कृषि र पशुपालनमा ऋण लगानी हुन्छ ।

प्रकाशित : भाद्र १३, २०७५ १२:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT